गृहपृष्ठ राजविराजमा श्री एयरलाइन्सले उडान भर्नेः अाज उद्घाटन हुँदै
राजविराजमा श्री एयरलाइन्सले उडान भर्नेः अाज उद्घाटन हुँदै
राजविराज- विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा अाधा सतकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ ।
बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले बुधबार सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताए ।
यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गर्थ्याे । तर पछि जहाज उड्न बन्द भएको थियो । २०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरेपनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन् ।
विमानस्थल रन वे स्तरोन्नतिको काम दुई वर्ष अघिदेखि शुरु भएर एक महिना अगाडि सम्पन्न भएको हो । विमानस्थलको अाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महतोले तत्काल श्री एयरलायन्सले राजविराज–काठमाडौँ उडान भर्ने मौखिक सहमति भएको बताए। । यद्यपि नियमित उडानको समय भने निर्धारण हुन नसकेको उनको भनाइ छ ।
विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाईको पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी-वे निर्माण सम्पन्न भइसकेको छ ।
प्रकाशित समय ०९:३५ बजे

















