गृहपृष्ठ मुक्तिनाथमा धार्मिक पर्यटक बढे
मुक्तिनाथमा धार्मिक पर्यटक बढे
मुस्ताङ- मुक्तिनाथ आउने धार्मिक पर्यटक बढेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेपछि पर्यटक आवागमनमा वृद्धि भएको हो । अन्नपूर्ण संरक्षण आयोजना एक्याप जोमसोमले दिएको जानकारीअनुसार मोदी भ्रमणपछि भारतीय धार्मिक तीर्थालुको संख्यामा ५० प्रतिशले वृद्धि भएको छ ।
एक्याप कार्यालयका प्रमुुख तुलसी दाहालका अनुसार चालू वर्षको वसन्तु ऋतुको गर्मी याम सुरु भएपछि दैनिक २ सयदेखि ३ सयको औसतमा भारतीय तीर्थालु मुक्तिनाथ क्षेत्र आउने गरेको र मोदीको मुक्तिनाथ भ्रमणपछि दैनिक ६ सयदेखि १ हजारसम्म भारतीय तीर्थालु मुस्ताङ आउने गरेकाले यहाँको धार्मिक पर्यटनको माहोल तातिन थालेको हो ।
उनका अनुसार गत वर्षको मेमा ६ हजार ४५ मात्र भारतीय तीर्थालु आएकोमा अहिले त्यो संख्या बढेर ९ हजार बढीे भारतीय पर्यटकले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेका छन् । चालू वर्षकै दुई साताअघिको तथ्यांक हेर्दा मोदी भ्रमणपछि ५० देखि ६० प्रतिशतले भारतीय तीर्थालु वृद्धि भएको दाहालले बताए । सन् २०१७ मा २४ हजार ८ सय ८८ भारतीय पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए भने अहिले त्यो बढेर दोब्बर नाघ्ने एक्याप टुरिस्ट चेक पोस्टका इन्चार्ज प्रेम बस्नेतले दाबी गरे ।
बस्नेतका अनुसार मार्चदेखि जुनसम्म तेस्रो मुलुकमा समेत बिदा पर्ने भएकाले विदेशी पर्यटक बढ्ने गर्छन् । प्रसिद्ध चार धाममध्येकै एक महत्वपूर्ण तीर्थस्थल मानिने मुक्तिनाथ क्षेत्रमा साविकको तुलनामा थप भारतीय तीर्थालु आएको जोमसोम नागरिक उड्डयन कार्यालयका विमानस्थल प्रमुख भानुभक्त कोइरालाले बताए ।
उनका अनुसार दुई साता यसअघि १० देखि १२ हवाई उडान हुने गरेकामा मोदीको मुक्तिनाथ क्षेत्रको भ्रमणपछि त्यो संख्या बढेर १७ देखि १८ वटा उडानसम्म हुने गरेको छ । पोखरा र काठमाडांैबाट हेलीचार्टर समेत जोड्दा दैनिक २० वटासम्म हवाई उडान हुने गरेको कोइरालाले बताए । त्यस्तै, मुस्ताङ उद्योग वाणिज्य संघ तथा जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक खगेन्द्र तुलाचनले मोदीको भ्रमणपछि भारतीय तीर्थालुको संख्यामा अकल्पनीय रूपमा वृद्धि भएको बताए ।
मौसमी तापक्रम सन्तुलित रहने भएकाले भारतीय पर्यटक यस याममा मुस्ताङ आउन रुचाउँछन् । यसअघि अधिकांश भारतीय हवाई सेवमार्फत मुस्ताङ आउने भए पनि मोदी भ्रमणपछि सोही अनुपातमा भारतीय पर्यटक धावनमार्ग हुँदै बस चढेर मुस्ताङ आउने गरेको यातायात व्यवसायी सपूत थकालीले जानकारी दिए । उनका अनुसार अहिले धावनमार्ग हुँदै सयौंको संख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गरेका छन् ।
प्रकाशित समय ०८:२० बजे

















