गृहपृष्ठ घलेगाउँ र सिरुबारीलाई उत्कृष्ट होमस्टे पुरस्कार

घलेगाउँ र सिरुबारीलाई उत्कृष्ट होमस्टे पुरस्कार

लमजुङ- एसियाकै ग्रामीण पर्यटकीय घलेगाउँ र नेपालकै पहिलो होमस्टे सिरुबारीलाई नेपालकै उत्कृष्ट होमस्टे पुरस्कार घोषण गरिएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिले क्होलासोथर गाउँपालिका ३ घलेगाउँमा आयोजित होमस्टे महोत्सव तथा कार्यशाला गोष्ठी कार्यक्रममा दुवै होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो ।
उत्कृष्ट सामुदायिक होमस्टेका रूपमा घलेगाउँ होमस्टेलाई २०७४ र सिरुबारी होमस्टेलाई २०७३ सालको उत्कृष्ट घोषणा गरिएको तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइटेलले बताए । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घले र पर्यटन विकास समितिका प्रतिनिधि उर्मिला गुरुङलाई जनही १ लाख १ हजार रुपैयाँ र प्रमाणपत्र वितरण गरे । उनले पुरस्कार वितरण गर्दै प्रदेश ४ का ३ सय गाउँमा होमस्टे सञ्चालन गरिने बताए । ५ हजार स्थानीयले स्वरोजगार हुने कार्यक्रम सञ्चालन हुन लागेको मुख्यमन्त्री गुरुङको भनाइ छ । होमस्टेमा स्थानीय कला, संस्कृति, पर्यटकको आगमन संख्या, पर्यटकका लागि सेवासुविधा, होमस्टे कार्यक्रममा समुदायको सहभागितालगायतको आधारमा छनोट गरी घलेगाउँ र सिरुबारी होमस्टे उत्कृष्ट होमस्टे घोषण गरिएको तारा गाउँ विकास समितिले जनाएको छ ।
लमजुङको पहिलो होमस्टे घलेगाउँ होमस्टे हो । जिल्लामा २०५७ सालबाट घलेगाउँ होमस्टे सञ्चालनमा आएको छ । हाल उक्त होमस्टेमा ३२ घरधुरीमा होमस्टे सञ्चालित छन् । जसमा दुई घर दलितले होमस्टे सञ्चालन गरेको छ । त्यस्तै, नेपालकै पहिलो होमस्टे स्याङ्जाको सिरुबारी हो । १७ स्थानमा होमस्टे सञ्चालित रहेका छन् । उक्त कार्यक्रममा देशभरिका होमस्टे सञ्चालकहरू सहभागी थिए ।

प्रकाशित समय ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु