गृहपृष्ठ ‘पर्यटन प्रवर्दनमा ब्यवसायीको भुमिका महत्वपुर्ण ’

‘पर्यटन प्रवर्दनमा ब्यवसायीको भुमिका महत्वपुर्ण ’

काठमाडौं- सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा पुर्याउन पर्यटन व्यवसायीको महत्वपूर्ण भएको बताएका छन । शनिबार राजधानीमा सम्पन्न गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा ‘टुरिजम म्यान अफ दि इयर अवार्ड’ प्रदान कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन ।
पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको बताउँदै सभामुख महराले भने, ‘नेपालको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन क्षेत्रले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’ ।
उनले नेपालको पर्यटकीय स्रोत साधनका हिसाबले निकै धनी भएको भन्दै मुलुकको पर्यटन विकासकालागि स्पष्ट नीति र दृष्टिकोण आवस्यक भएको बताए । उनले नेपालको पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन प्रवद्र्धनका लागि आफ्नो ठाउँबाट गर्नुपर्ने कुनै पनि भूमिकामा कमी नहुने बताए ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको भन्दै देश भित्रै आन्तरिक पर्यटनको विकास गर्नु आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टीका स्थायि कमिटि सदस्य मुकुन्द न्यौपानेले नेपालमा पर्यटन क्षेत्रको विकासकालागि सरकारले पूर्वाधार निर्माण गरिदिनुपर्ने बताउँदै निजि क्षेत्रले दिने सेवा सुधार गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं टुरिजम म्यान अफ दि ईयर अवार्डका संयोजक रामशरण थपलिया, गन्तब्य ग्रुपका अध्यक्ष शिब अधिकारी, नेपाल योग एशोशियसनका महासचिव तथा लेखक राजन सिम्खडा,गाउँ पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासकालागि सरकारले विशेष पहल गर्नुपर्ने बताएका थिए ।
गन्तव्य नेपाल ग्रुपले यस वर्षको टुरिजम म्यान अफ दि इयर अर्वाड पर्यटन प्रवद्र्धक एवं महिला व्यवसायी प्रतिष्ठा अमात्य (बिष्ट) लाई प्रदान गरेको छ । ‘बुद्ध वाज बर्न ईन नेपाल’ अभियान मार्फत गिनिज बुकमा नाम लेखाउन पहल गरेबापत अमात्यलाई सो अर्वाड प्रदान गरिएको हो ।
नेपाली चुल्हो तथा नर्थफिल्ड होटलकी कार्यकारी निर्देशक समेत रहेकी व्यवसायी अमात्य (बिष्ट) पर्यटन क्षेत्र लगायत अन्य विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय छिन । सोही कार्यक्रममा ‘पर्यटन नै भविष्य’ नामक पर्यटन जनजागरण सांगितिक एल्वम पनि सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने व्यक्तित्वहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु