गृहपृष्ठ धान-चामलदेखि गिट्टी-बालुवासमेत निर्यातमा रोक

धान-चामलदेखि गिट्टी-बालुवासमेत निर्यातमा रोक

आयात-निर्यातमा सरकारले लगायो परिणामात्मक बन्देज

Baluwa Gitti_NewsKarobar

देशका आयात-निर्यात व्यापार अनियन्त्रित बन्दै गएपछि सरकारले पहिलो पटक परिणात्मक बन्देज तोकेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले राजपत्रमा सूचना प्रकासित गरी परिणात्मक बन्देज लगाइएको हो ।

सरकारले धान, चामल, गहुँ, चिनी तथा चट्टानमाटो, ढुंगा, गिट्टी, बालुवासहित २१ किसिमका वस्तुहरूको निर्यातमा पूरै रोक लगाएको छ भने उपभोग अवधि कम्तिमा ७५ प्रतिशत बाँकी नभएका वस्तु नेपाल आयात गर्न नपाइने भएको छ । यस्तै, ताजा तरकारी र फलफूल आयात गर्दा भन्सार विन्दूमा अनिवार्य रूपमा क्वारेन्टाइन र जीवनाशक विषादीको परीक्षण गर्नुपर्नेछ ।

यो निर्णयपछि अब नेपालबाट विदेशी तथा स्वदेशी सिक्का, देवीदेवताको मूर्ति, ताडपत्र, भोजपत्रलगायतका पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरू निकासीमा पूरै बन्देज लागेको छ भने नेपालबाट कुनै पनि किसिमको लागूऔषध, हातहतियार तथा विस्फोटक पदार्थदेखि साइटिसमा सूचिकृत वन्यजन्तुका अंग र अन्य वन्य पैदावरको निकासीको रोक लगाइएको छ ।

यसरी निकासीमा रोक लगाइका वस्तुहरूमा साल, सतिसाल, विजयसाल, राष्ट्रिय वनका ओखरको काठ, जंगली सिसौका काठदेखि पाँचऔंले, ओखरको रुखको बोक्राजस्ता जडिबुटीसमेत रहेका छन् ।

यार्सागुम्बा, कुट्की, झ्याउजस्ता जडिबुटी भने पूर्वस्वीकृति र अनुमतिका आधारमा ती जडिबुटीको मौज्दातको आधारमा मात्र निर्यात गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै जटामसी, तालीस पत्र र लौठ सल्लालाई नेपालभित्रै प्रशोधन गरी सारतत्वमात्रै निकासी गर्न स्वीकृति दिएकोबाहेक विदेश निर्यात गर्नमा रोक लगाइएको छ । नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थलाई पूर्ण रूपमा निकासीमा रोक लगाइएको छ ।

पातलो प्लास्टिक आयातमा रोक

यसैगरी सबै किमिसका लागूऔषध, गाईको मासु, हानिकारक ‘एजोडाइ रंगहरू’ प्लास्टिकका झुक्रा र तीस माइत्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला, फिलामेन्टबाट प्रकास दिने परम्परागत बल्बहरूको आयातमा पूर्ण रोक लगाइएको छ ।

प्रचलित कानुनले छुट दिएबाहेकका ‘सेकेन्डह्यान्ड’ वस्तुहरूदेखि क्याफिनयुक्त सबै किसिमका शत्ति पेयपदार्थलगायत एक दर्जन वस्तुहरू आयातमा रोक लगाइएको छ, जसमा ‘स्ट्र कलेक्टर’ (धान/गहुँका पराल वा छ्वाली संकलन गर्ने भाग नभएको) वा ‘वेलर’ बिनाका कम्बाइन्ड हार्भेस्टरसमेत परेको छ ।

औषधि बनाउनका लागि निश्चित मनोद्विपक समूहका औषधि र केही विस्फोटक, हतियार तथा विस्फोटक बनाउन चाहिने कच्चा पदार्थ आयात गर्न पाइने व्यवस्था गरिएको छ भने सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मात्र मोबाइल फोनहरूबाहेक वायरलेस, वाकिटकी, प्रशारण रिसिभर, लिंक उपकरणहरू ल्याउन पाइने व्यवस्था गरिएको छ । सबै जात र परिणामका सूर्तिहरुमा पनि परिणात्मक बन्देज लगाइएको छ ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु