गृहपृष्ठ ११ संस्थानको अवस्था सुध्रिएन, अझै घाटामा चल्दै
११ संस्थानको अवस्था सुध्रिएन, अझै घाटामा चल्दै
काठमाडौं- सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था अझै खस्कँदै गएको छ । सञ्चालनमा रहेका ३७ वटा संस्थानमध्ये आर्थिक वर्ष २०७३/७४ मा ११ वटा संस्थान घाटामा छन् । अघिल्लो आर्थिक वर्षमा सञ्चानलनमा रहेका ३५ मध्ये १३ वटा संस्थान घाटामा थिए ।
सञ्चित नोक्सानी भएका संस्थानको संख्या पनि गत आर्थिक वर्षको तुलनामा बढेको छ । आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा सञ्चित नोक्सानी भएका सस्थानको संख्या १७ रहेकोमा बढेर १९ पुगेको छ । नोक्सानीका आधारमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सबैभन्दा घाटामा चलिरहेको छ । यो बाहेक दुग्ध विकास संस्थान, खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड र नेपाल ओरिन्ड म्याग्नेसाइट बढी घाटामा छन् ।
जनक शिक्षा सामग्रीको ३१ करोड ६२ लाख पुगेको छ । दुग्ध विकास संस्थानको नोक्सानी २१ करोड ३९ लाख छ भने नेपाल खानेपानी संस्थानको २० करोड ७९ लाख रुपैयाँ छ । त्यसैगरी, नेपाल औषधि लिमिटेड १३ करोड ८७ लाख घाटामा छ ।
खुद नाफाका हिसाबले यस वर्ष नेपाल दूरसञ्चार कम्पनी अर्थात् नेपाल टेलिकम अग्रस्थानमा छ । टेलिकमले चालू आर्थिक वर्षमा १५ अर्ब ३७ करोड २८ लाख खुद मुनाफा कमाएको छ । यसको सञ्चित नाफा भने ७६ अर्ब ३३ करोड रहेको छ । उच्चतम नाफा गर्ने संस्थानहरूमा दूरसञ्चारसँगै नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक छन् । नेपाल आयल निगम लिमिटेडले चालू आर्थिक वर्षमा १० अर्ब ४१ करोड मुनाफा कमाएको छ । यसको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रहेको छ ।
प्रकाशित समय ०७:४५ बजे

















