गृहपृष्ठ सीमा अध्यागमनमा ‘एक्जिट स्टाम्प’ लगाउन रोक

सीमा अध्यागमनमा ‘एक्जिट स्टाम्प’ लगाउन रोक

भारत हुँदै विदेश जानमा कडाइ

No Exit Stamp_NewsKarobar

नेपालीहरूलाई भारत हुँदै विभिन्न देश लैजाने नाममा ठगी हुने क्रम बढेपछि सरकारले थप कडाइ गरेको छ । अबदेखि भारत हुँदै अरु देश जाने नेपालीले सीमा अध्यागमनबाट प्रस्थान अनुमति छाप (एक्जिट स्टाम्प) लगाउने पाउने छैनन् ।

दलाल र मानव तस्करहरूले नेपालीहरू, खासगरी महिलाहरूलाई स्थलमार्ग हुँदै भारत लैजाने र भारत हुँदै तेस्रो मुलुक जाने भनेर‘सेटिङ मिलाएर’ सीमाक्षेत्रस्थित अध्यागमन कार्यालयहरूमा ‘प्रस्थान अनुमति छाप’ लगाउने क्रम बढेपछि सरकारले कडाइ गरेको हो ।

नेपालीहरू स्थलमार्गबाट भारत जाँदा पासपोर्ट नै चाहिँदैन, यदि केहीगरि नेपालीहरूले पासपोर्ट बोकी हाले पनि न त्यसमा भिसा लगाउनु पर्छ, न त ‘प्रस्थान अनुमति’को छाप नै लगाउनु पर्छ, तर दलाल र मानव तस्करहरूले भारत हुँदै तेस्रो मुलुकमा पठाउनका लागि यस्तो छाप लगाउँदै आएका थिए ।

यसरी मानव तस्करहरूले भारत पुर्‍याएका वा भारत हुँदै तेस्रो देश पठाएका नेपालीहरू अलपत्र पर्ने, ठगिने, दुःख पाउने क्रम बढेसँगै सरकारले थप कडाइ गरेको हो । अब बंगलादेश र भुटान जाने नेपालीबाहेक अरुको पासपोर्टमा सीमावर्ति अध्यागमन कार्यालयहरूले लगाउन पाउने छैनन् ।

सरकारले यसअघि नै भारत हुँदै तेस्रो देश जाने नेपालीहरूका लागि अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को व्यवस्था लागू गरिसकेको छ । वैशाख ३१ गतेको निर्णयबाट भारतीय अध्यागमन हुँदै जुनसुकै देश जाने नेपालीहरूका लागि पनि ‘एनओसी’ पत्र लिनुपर्ने व्यवस्था गरिएकोमा असार ६ गते त्यसमा संशोधन गरेर साउदी अरब, कतार, कुबेत, यूएइ, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि मात्र ‘एनओसी’पत्र चाहिने व्यवस्था गरिएको छ ।

भारतले नयाँ नियम लागू गरेसँगै चीन, मकाउ, हङकङ र पाकिस्तान पुगेर भारत हुँदै नेपाल फर्किने नेपालीहरूले भारतको पनि अनिवार्य भिसा लगाउनु पर्ने नियमसमेत लागू गरिएको छ ।

अध्यागमन विभागले हालै काँकडभिट्टा, पशुपतिनगर, विराटनगर, वीरगन्ज, बेलहिया, जमुनाह, मोहना र गड्डाचौकीस्थित सीमा अध्यागमन कार्यालयलाई परिपत्र गर्दै नेपाली नागरिकहरूको पासपोर्टमा प्रस्थान छाप लगाउन रोकेको हो ।

नेपाली अध्यागमनको प्रस्थान छाप नभइ भारतीय अध्यागमनले पनि विदेश जाने अनुपति नदिने भएकाले अब मानव तस्करहरूको चलखेल केही हदसम्म नियन्त्रण हुने अपेक्षा सरकारले राखेको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु