गृहपृष्ठ बजेटको आलोचना र समर्थन दुबै गर्न सकिन्न : नेपाली कांग्रेस
बजेटको आलोचना र समर्थन दुबै गर्न सकिन्न : नेपाली कांग्रेस
फाइल तस्बिर
- सामान्य परिस्थिति जस्तो देखाइयो, आकाशमा उडेको चंगाजस्ता सपनामुखी नाराहरू हराए : कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको आलोचना र समर्थन दुबै गर्न नसकिने प्रतिक्रिया दिएको छ । वाम गठबन्धनले गएको निर्वाचनमा वृद्धभत्ता ५ हजार पुर्याउने भनेको थियो । त्यो हुन सकेन । शैक्षिक प्रमाणपत्र धितो राखेर १० लाखसम्म निब्र्याजी ऋण दिने भनेकोमा केही सम्बोधन गरेको छ । यसको सबैले स्वागत नै गरेका छन् । यद्यपि, नीति तथा कार्यक्रम र गएको निर्वाचनमा जनतामाझ गरेको प्रतिबद्धतामा कुनै मेल नभएको प्रमुख प्रतिपक्षी कांग्रेसले टिप्पणी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरसर्ती हेर्दा निर्वाचनको बेलामा गरिएका बाचा, बाँडिएका सपना र जनतासामु गरिएको घोषणापत्र, केही समयअगाडि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र आज सार्वजनिक गरिएको बजेटमा कुनै तादम्यता छैन । चुनावको घोषणापत्रमा आकाशका तारा खसाल्ने खालका सपना बाँडिएका थिए । अहिले ती कुरा खुइलिँदै गएर नीति तथा कार्यक्रम दुब्लो पालतो भएको थियो । अहिले आउँदा ती धेरै छुटेका छन् । त्यसकारण यो बजेट धेरै निराशाजनाक छ भनेर म आलोचना गर्दिन । खासगरी कर्मचारीको तलब वृद्धि नभएको विषय होस्, वृद्धभत्ताको विगतको प्रतिबद्धता पूरा नभएको विषय होस् उहाँहरु निराश भए पनि अरू निराश हुनुपर्ने छैन । तर, अहिलेको राजनीतिक जुन परिस्थिति छ, त्यसअनुसार चाहिँ आएन । जुन अपेक्षा सबैले गरेका थिए, त्यसअनुसार आएन । यसर्थ म बजेटमाथि नकारात्मक टिप्पणी नै पनि गर्दिन र समर्थन पनि गर्न सकिने अवस्था रहेन ।’
सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख विनियोजन गर्दा केही महत्वकांक्षी योजना पनि समेटेको छ । ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर, २०७५ सालदेखि २०८५ को १० वर्षलाई ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट विनियोजन, सातवटा सुरुङमार्ग बनाउनेलगायतका महत्वकांक्षी योजनामार्फत राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न खोजिएको छ । विद्यार्थीलाई पाँच प्रतिशत ब्याजमा सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रमसमेत बजेटमा समावेश छ । सरकारले रोजगारी सिर्जनामा जोड दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न तीन अर्ब १० करोड, खेलकुदमा २ अर्ब ४ करोड र महिला तथा बालबालिकाको क्षेत्रमा १ अर्ब ८८ करोड छुट्याइएको छ । ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको १ लाखसम्मको बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले व्यहोर्नेछ ।
यी कार्यक्रम सकारात्मक छैनन् र ? भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘निश्चय नै सर्टिफिकेट राखेर बेरोजगार युवालाई ऋण दिनेलगायतका विषय सकारात्मक छन् । तर, छुट्टयाइएको रकम कति छ, बेरोजगार युवा कति छन् भनेर हेर्याे भने, यसमा मेल खाँदैन । हरेक वर्ष श्रमबजारमा ४ देखि ५ लाख युवा बेरोजगार आइरहेका छन् तर सरकारले छुट्टयाएको रकमले ११–१२ हजारलाई मात्र पुग्छ । यसमा कुरो कहाँ मिल्यो ? सरकारले गर्छु भन्यो त्यसको म प्रशंसा गर्न चाहन्छु तर कार्यान्वयन कसरी हुन्छ प्रश्न सँगै आयो । ’
आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य पूरा गर्न यो बजेटले सक्दैन भन्न खोज्नुभएको भन्ने प्रश्नमा प्रवक्ता शर्मा भन्छन्, ‘मैले यति मात्र भन्न खोजेको हो कि नागरिकसमक्ष जे सपना बाँडिएका थिए, नागरिकका जे आकांक्षा थिए, जुन रुपमा सरकारले गर्न सक्थ्यो, त्यो आकाशमा उडाइएको चंगाजस्तो अहिले आएर जमिनमा ठोक्काउने काम सरकारले गरेको छ ।
अर्थमन्त्री व्यावहारिक जमिनमै रहनुभएको छ । राजस्व उठ्ने अनुमान, वैदेशिक सहयोगको अनुमान, हामीसँग ढुकुटीमा रहेको अवस्था, हामीले उत्पादन गर्न सक्ने अवस्था, क्षमता बृद्धि गर्न सक्ने अवस्था, यी सबैको जगमा देश हिँड्ने बाटो तय हुने हो । त्यसैले यस्ता कार्यक्रम छैनन्, देशले छलाङ मार्न सक्ने खालको भएन, यो नियमितता जस्तोमात्रै भयो । यो त विशिष्ट अवस्था हो नि ! सबै तहको चुनाव सकिएर देश आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढेको अवस्था हो । त्यसअनुसार त भएन । त्यसैले यो बजेट सामान्य परिस्थितिमा आएको जस्तो मात्रै भएको छ ।’
प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा वृद्धभत्ता लगायतका नाममा देशलाई दीर्घकालीन आर्थिक भार पर्ने अनुत्पादक लगानीमा जोड दिने कम्युनिस्टहरुले बल्ल कुरा बुझेको भन्ने जस्ता टिप्पणी पनि गरेको छ ।
बजेटमा धेरै सपना बाँडिएको छ, त्यसलाई कार्यान्वयन गरिन्छ भन्ने प्रस्ट नखुलाइएकाले, कार्यान्वयनमा आशंका रहेको प्रवक्ता शर्माले बताए । ‘पहिलेदेखि नै कुनै पनि बहानामा नगद बाँड्ने कुरा ठीक होइन भन्दै कांग्रेसले आएको हो तर वामपन्थी दलहरु सत्तामा पुग्नेबित्तिकै वृद्धभत्तालगायत बढाएको–बढायै गर्थे । उहाँहरुले अहिले रियलाइज गर्नुभएको छ । यो सुखद पक्ष हो,’ उनले भने । यद्यपि, अझै पनि कतिपय कार्यक्रम वितरणमुखी नै रहेको कांग्रेस प्रवक्ता शर्माले टिप्पणी गरे ।
प्रकाशित समय २०:४५ बजे

















