गृहपृष्ठ नेकपा दर्ता प्रकृयाः अझै बुझार्इएन नियमावली, झण्डा र निर्वाचन चिन्ह
नेकपा दर्ता प्रकृयाः अझै बुझार्इएन नियमावली, झण्डा र निर्वाचन चिन्ह
काठमाडौं- नव गठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक पर्ने कागजात निर्वाचन आयोगलाई किस्ताबन्दीमा बुझाएको छ । निवेदन दर्ता गरेको १४औं दिनमा सोमबार केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकताको नक्कल आयोगमा बुझाएको नेकपाले अझै पार्टीको नियमावली, झन्डा र निर्वाचन चिह्न भने बुझाएको छैन ।
गत ३ जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सोही दिन नै दर्ताका लागि निवेदन दिइए पनि अन्य आवश्यक कागजात भने आयोगले किस्ताबन्दीमा प्राप्त गर्दै आएको छ । आयोगमा कानुनी पाटो हेर्ने उपन्यायाधिवक्ता घनश्याम ओझाले दल दर्ताका लागि आवश्यक केही कागजात र बाँकी केन्द्रीय सदस्यहरूको हस्ताक्षर आयोगले प्राप्त गरेको बताए ।
‘दल दर्ताका लागि आवश्यक केही कागजातसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर र सबै नेताहरूको नागरिकताको नक्कल आयोगले पाएको छ, अब केके बाँकी छन् चेकलिस्ट बनाएर छानबिन हुन्छ,’ उपन्यायाधिवक्ता ओझाले भने ।
आयोगले ४५ दिनको अवधिभित्र प्रक्रियामाथि छानबिन गरेर दल दर्ताबारे आधिकारिक निर्णय लिने उनले जानकारी दिए । दल दर्ता गर्दा भने निवेदनसँगै विधान तथा घोषणापत्रको एक-एक प्रति र २४१ जना केन्द्रीय सदस्यको हस्ताक्षरबाहेकका अरू कागजात आयोगले पाएको थिएन ।
नेकपाका नेता सुवास नेम्वाङले दल दर्ताका लागि आवश्यक केही कागजात आयोगमा बुझाएको जानकारी दिए । तर, नियमावली र पार्टीको झन्डा र निर्वाचन चिह्न भने केही दिनभित्रै बुझाइने उनले बताएका हुन् । ‘हामीले केन्द्रीय समितिमा रहेका नेताहरूको नामावली, हस्ताक्षरसहित नागरिकताको फोटोकपी बुझाएका छौं, नियमावली, झन्डा र निर्वाचन चिह्न भने केही दिनभित्रै बुझाउँछौं,’ नेम्वाङले भने ।
पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले थपे, ‘झन्डा र निर्वाचन चिह्न पहिले पनि थियो तर दल दर्ताका लागि निवेदन दिँदा भाषा उल्लेख गरियो नमुना बुझाइएन, अब नमुनासमेत बुझाउँछौं ।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले ३ जेठमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नव गठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन थपेर दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगमा सोही नाममा अर्को दल दर्ता रहेको सूचनापछि दलको नाममा अन्डरलाइन थपिएको थियो । आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि पदाधिकारीलाई जानकारी गराउने र त्यसपछि आयोगको बैठकले सोबारे निर्णय गर्ने बताएको छ ।
प्रकाशित समय ०९:०१ बजे
















