गृहपृष्ठ मुलुककाे एकतिहार्इ पेट्राेलियम पदार्थ प्रदेश २ मा खपत
मुलुककाे एकतिहार्इ पेट्राेलियम पदार्थ प्रदेश २ मा खपत
काठमाडाैं- मुलुकमा खपत हुने पेट्रोलिय पदार्थको खपत सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ । आर्थिक सर्वेक्षण २०७४/७५ को अनुसार कुल खपतको एक तिहाइ हिस्सा प्रदेश २ मै हुने गरेको हो ।
आर्थिक सर्वेक्षणमा दिइएको आँकडाअनुसार कुल खपतको २८ दशमलव १ प्रतिशत पेट्रोलियम पदार्थ प्रदेश २ मा मात्रै खपत हुने गरेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३/०७४मा मुलुकभरि कुल १७ लाख १२ हजार ४७७ किलोलिटर पेट्रोलियम पदार्थको बिक्री भएको छ । सोमध्ये ४ लाख ८१ हजार ९५६ किलोलिटर प्रदेश २ मा मात्रै खपत भएको छ ।
सो प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण क्षमतासमेत अन्य प्रदेशभन्दा बढी रहेको छ । सो प्रदेशमा १६ दिनसम्म बिक्रीवितरण धान्ने गरी भण्डारण क्षमता रहेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कुल भण्डारण क्षमताको ३२ दशमलव ७ प्रतिशत हो । सो प्रदेशमा २३ हजार ४७० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणको क्षमता रहेको छ ।
मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको ६० प्रतिशत प्रदेश २ बाट आयात हुने गरेकाले बढी प्रदेश २ मा पेट्रोलियम पदार्थको खपत बढी देखिएको नेपाल आयल निगमले बताएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोलिय पदार्थ भित्रिने मुख्य नाका नै प्रदेश २ रहेको र सोही प्रदेशमा अवस्थित अमलेखगन्ज डिपोबाट मुलुकको अधिकांश माग धान्ने भएकाले सो प्रदेशमा बढी खपत देखिएको बताए । ‘मुलुकमा रहेको मागको अधिकांश पेट्रोलियम पदार्थ प्रदेश २ बाट आयात हुने गरेको छ’ उनले भने, ‘त्यसलाई प्रदेश २ मा मात्रै खपत भएको भनेर भन्नुहुँदैन ।’
त्यस्तै, प्रदेश १ मा पेट्रोलियम पदार्थ भण्डारण क्षमताले १५ दिन धान्दै आएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । ११ हजार ९७४ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको प्रदेश १ मा मुलुकको कुल भण्डारणको १६ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको छ । गत आर्थिक वर्षमा २ लाख ७६ हजार ९६० किलोलिटर पेट्रोलियम पदार्थको विक्रीवितरण गरिएको थियो । यो विक्रीवितरण कुल बिक्रीको १६ दशमलव २ प्रतिशत रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ ।
तथ्यांकअनुसार कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता सबैभन्दा न्यून रहेको छ । कुल भण्डारण क्षमताको शून्य दशमलव २ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा रहेको भण्डारणको अवस्थाले केवल दुई दिन मात्रै धान्ने आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कुल भण्डारण क्षमता १०५ किलोलिटर रहेको कर्णालीमा गत आर्थिक वर्षमा मुलुकभरि भएको पेट्रोलियम पदार्थ बिक्रीको शून्य दशमलव ९ प्रतिशत बिक्रीवितरण भएको तथ्यांकमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कुल १५ हजार ५९८ किलोलिटर पेट्रोलियम पदार्थको बिक्री भएको थियो ।
त्यस्तै, प्रदेश ७ मा रहेको पेट्रोलियम पदार्थको भण्डारणले १२ दिन धान्ने गरेको छ । कुल २ हजार ६०९ किलोलिटर भण्डारण क्षमता रहेको प्रदेश ७ मा मुलुकभरिको कुल भण्डारण क्षमताको ३ दशमलव ७ प्रतिशत हो । गत आर्थिक वर्षमा सो प्रदेशमा ७२ हजार १७४ किलोलिटर बिक्रीवितरण भएको र सो खपत मुलुकभरिको खपतको ४ दशलमव २ प्रतिशत हो ।
त्यस्तै, प्रदेश ५, ४ र ३ मा रहेको पेट्रोलिम पदार्थ भण्डारण क्षमताले क्रमशः सात दिन, पन्ध्र दिन र सोह्र दिन माग धान्ने भण्डारण क्षमता रहेको छ ।
प्रकाशित समय ०९:२० बजे

















