गृहपृष्ठ बलियो सरकारको कमजोर बजेट : राप्रपा

बलियो सरकारको कमजोर बजेट : राप्रपा

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लगायतका महत्वाकांक्षी विषय बजेटमा उल्लेख गरिएकाले कार्यान्वयनमा समस्या रहेको बताएका छन् । बलियो सरकारले ल्याएको कमजोर बजेट भएको आफूहरुको ठहर रहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
राप्रपाले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग एकता तथा सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय गर्नका लागि पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ ।
पार्टीद्वारा सञ्चालन गरिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, छुवाछूतविरुद्ध राष्ट्रिय अभियान र भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियानको बृहत् कार्यक्रमको निर्माण गर्न पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । राप्रपाले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति, परम्परा जस्ता विषय संरक्षणका लागि केन्द्रीय सदस्य कान्ता भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।
राप्रपाले सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्वसहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाइप्रति दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा उक्त रिहाइ हुनुले कानूनी राज्यको उपहास भएको ठहर गरेको छ ।

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु