गृहपृष्ठ विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।
स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका हुन् ।
उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरूतर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराए ।
नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहेका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरे ।
श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीले गरेको उनले बताए ।
उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरूको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको बताए ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीे प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसर सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि उनले बताए ।
उपाध्यक्ष ढकालले आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भएकाले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह वा निम्न वर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशीलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रूपान्तरणका लागि सघाउ पु¥याउने विचार व्यक्त गरे ।
‘कुनै पनि देशमा श्रमिक र उनीहरूका संघ संगठनको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो,’ उनले भने, ‘औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पु¥याउँछ, त्यसैले यस्तो क्षमता अभिवृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको छ ।’
यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालले गरेकोे धारणा पनि उनले व्यक्त गरे । उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरू गरी चार हजारभन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष ढकालले जानकारी दिए । गत मे २८ देखि शुरु भएको सत्र जुन ८ सम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय ०८:३८ बजे

















