गृहपृष्ठ नयाँ नेपाल निर्माणको अभियान थालनीमा अलमलिएको बजेट
नयाँ नेपाल निर्माणको अभियान थालनीमा अलमलिएको बजेट
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको बजेटमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धिलाई सीमित गर्ने भनिएको छ । वामपन्थी सरकारको दुई तिहाइ बहुमत नजिकको सरकारले ल्याउने बजेट विगतका बजेटको क्रम भंग गर्दै आउने चोतर्फी अपेक्षाका बाबजुद घुमाउरो तरिकारले पुरानै शैलीमा आयो । यसको कतै समर्थन र कतै विरोध सुरु भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रले धान्न सक्ने मात्रै बजेट बनाएको तर्क गरेका छन् । खासगरी तत्कालीन वाम गठबन्धनको घोषणाअनुसार बजेट आउने अपेक्षा गरिएको भए पनि उनले त्यसो गरेनन् । बजेटलाई विकासको अवधारणाको खाका कोर्ने माध्यम मात्रै बनाए उनले । त्यसका लागि राजस्वलाई मुख्य आधार बनाए । जसले आमनेपालीलाई कतै न कतै छुने अवस्था आउनेछ ।
वाम सरकारको कटु आलोचक एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत बजेटमा कार्यान्वयन सम्भव नहुने आयोजना राखिएको बताउँछन् । राजनीतिक लाभका लागि कार्यक्रम समावेश भएको उनको आरोप छ । सरकारले लिएको ८ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुन सम्भव नभएको दाबी उनी गर्छन् । यसले गर्दा वास्तविकताभन्दा पनि कार्यान्वयन नहुने जोखिम बढी भएको उनको तर्क छ ।
अहिलेको बजेटले स्थानीय तह र प्रदेशलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । ‘अब प्रदेश र स्थानीय तहले पनि बजेट ल्याउने भएकाले त्यो सबैलाई हेर्नुपर्ने खाँचो थियो तर केन्द्र सरकारले त्यसलाई हेर्न सकेन,’ उनले भने । अर्थतन्त्रको विकासका लागि सरकारीका अतिरिक्त निजी क्षेत्रको लगानी बढाउनुपर्ने भए पनि त्यो हुन नसकेको उनले बताए । अहिले आयकरमा नयाँ दरको प्रस्ताव गरिएको र २० लाखभन्दा धेरै करयोग्य आय भएकालाई थप कर लगाउने भनिएकाले यसले लगानीलाई निरुत्साहित गर्ने टिप्पणी उनले गरे ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको टिप्पणी गरे । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफलमा उनले झन्डै दुई तिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएका सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे ।
‘यो बजेट सामान्य अवस्थामा आएको छैन । यो त नयाँ युगमा नेपाल कसरी अघि बढ्छ भन्ने आधार हो,’ उनले भने ‘यो बजेट भिन्न परिवेशमा आएको छ । यसले मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।’ पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले अर्थमन्त्री डा. खतिवडा आफैं विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको तर्क गरे । ‘बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।’ यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने बजेट सामान्य गाडी चलेजस्तो मात्रै भयो उनले भने ।
अर्थमन्त्री डा. युवराज खतिवडा आफैंले प्रतिपक्षीहरूको आलोचना स्वीकार गरिसकेका छन् । संघीय संरचनाको पहिलो बजेट भएकाले यसको निर्माणका क्रममा अलमलिको भन्दै र विगतको खाकाभन्दा फरक भएकाले नया“ मोडलमा जा“दा पुरानो आधारस“ग तुलना गर्न कठिन भएकाले काम गर्न अप्ठ्यारो परेको उनले बताए ।
बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्दै उनले वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता छैन । ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उनको धारणा थियो ।
समाजवाद उन्मुख अर्थतन्त्र आगामी यात्रा हुनुपर्ने धारणा व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसद डा. भट्टराईले पूर्वी र दक्षिण एसिया तथा भारतको आर्थिक विकासको मोडल नेपालका लागि उपयुक्त हुने धारणा राखे । विकासमा एक चौथाइ मात्र खर्च गरेर दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन भन्दै उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न खोजिएजस्तो देखिएको र निजी क्षेत्रलाई भने प्रोत्साहन गर्न नसकेको भन्दै आलोचना गरे ।
अर्थमन्त्री डा. खतिवडा आफैंले प्रतिपक्षीहरूको आलोचना स्वीकार गरिसकेका छन् । संघीय संरचनाको पहिलो बजेट भएकाले यसको निर्माणका क्रममा अल्मिलिको भन्दै र विगतको खाकाभन्दा फरक भएकाले नयाँ मोडलमा जाँदा पुरानो आधारसँग तुलना गर्न कठिन भएकाले काम गर्न अप्ठरो परेको उनले बताए । यद्यपि रोजगारको अवसरको सिर्जना गर्न, राजस्वको दायरा बढाउन र वित्तीय सुशासन कायम गर्नतर्फ भने बजेटमा पर्याप्त ध्यान दिइएको छ ।
प्रकाशित समय १२:०५ बजे

















