गृहपृष्ठ विपन्न वर्गमा वाणिज्य बैंकको १० अर्ब लगानी
विपन्न वर्गमा वाणिज्य बैंकको १० अर्ब लगानी
काठमाडौं- वाणिज्य बैंकहरूले कुल लगानीको ५ दशमलव ९ प्रतिशत विपन्न वर्गमा प्रवाह गरेका छन् । वाणिज्य बैंकले चैत मसान्तसम्ममा १० अर्ब ७ करोड ४ लाख रुपैयाँ विपन्न वर्गमा लगानी गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रत्यक्ष रूपमा ३२ अर्ब ५ करोेड, अप्रत्यक्ष रूपमा ७१ अर्ब २ करोड र युवा स्वरोजगार कोषअन्तर्गतको लगानी ३ अर्ब ६ करोड रुपैयाँ कर्जा विपन्न वर्गमा लगानी गरेका छन् ।२०७३ असारमा वाणिज्य बैंकहरूको यस शीर्षकमा लगानी ५ दशमलव ५ प्रतिशत मात्रै थियो ।
त्यसैगरी, २०७४ असारसम्ममा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात १ दशमलव ६ प्रतिशत रहेको थियो । चैतमा त्यस्तो कर्जाको अंश बढेर १ दशमलव ७ प्रतिशत पुगेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूले प्राथमिकताका क्षेत्रमा कुल ४ खर्ब ३५ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंकहरूले २०७५ असार मसान्तसम्म कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रूपमा लगानी गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुरूप वाणिज्य बैंकहरूले यस क्षेत्रमा लगानी गरेका हुन् । चैत मसान्तसम्ममा यी क्षेत्रमा यो रकम कुल लगानीमा रहेको कर्जाको २१ दशमलव ७ प्रतिशत हो ।
चैतसम्म वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ७ दशमलव ३ प्रतिशत, जलविद्युत् क्षेत्रमा ३ दशमलव ३ प्रतिशत, पर्यटन क्षेत्रमा ३ दशमलव ५ प्रतिशत कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, वाणिज्य बैंकले निर्यातमूलक, साना तथा मझौला उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्मेन्ट क्षेत्रमा ७ दशमलव ६ प्रतिशत लगानी गरेका छन् । वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्म प्राथमिकता क्षेत्रमा कुल लगानीको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्नेछ ।
त्यसैगरी, चैत मसान्तसम्ममा सरकारबाट ५ दशमलव शून्य प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपन्छी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् ।
यसअन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने ४१ करोड ८० लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको देखाएको छ । चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनर्कर्जा उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय १०:३६ बजे

















