गृहपृष्ठ कतारले रोकेपछि रेमिट्यान्स र वैदेशिक रोजगारीमा धक्का !
कतारले रोकेपछि रेमिट्यान्स र वैदेशिक रोजगारीमा धक्का !
विश्वव्यापी रूपमा कोरोनाभाइरस (कोभिड–१९)को प्रकोप बढ्दै गएसँगै नेपालको प्रमुख श्रम गन्तव्य कतारले नेपालसहित १४ देशबाट प्रवेशमा अस्थायी रोक लगाएको छ ।
कतारको सञ्चारमन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपालबाहेक चीन, भारत, बंगलादेश, श्रीलंका, इजिप्ट, दक्षिण कोरिया, पाकिस्तान, सिरिया, फिलिपिन्स र थाइल्यान्डबाट कतार प्रवेशमा रोक लगाइएको उल्लेख छ।
कतारमा स्थायी बसोबास वा वर्क पर्मिट लिएका, भिसा अन एराइभरल र अस्थायी भ्रमणकर्ता सबैका लागि यो निर्णय लागू हुने जनाइएको छ । कतारलाई ट्रान्जिट बनाएर तेस्रो देश जानेका हकमा भने यो निर्णय लागू नहुने जनाइएको छ ।
सोमबार नेपाल हुँदै कतार जान लागेका यात्रुहरूले बोर्डिङ पास लिइसकेको भए पनि यो निर्णयसँगै कतार एयरवेजले यात्रुहरूलाई उतारेको छ भने ट्रान्जिटका यात्रुमात्रै सवार गराइ उडान गरेको छ ।
तत्कालै कतारको भिसा लिएर रोजगारीका लागि कतार जान लागेका र त्यहाँबाट विदामा घर फर्केका कामदारहरू यो निर्णयबाट तत्कालै प्रभावित हुनेछन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनाको विवरणअनुसार कतार चौथो प्रमुख श्रम गन्तव्य हो ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३७ हजार ११९ जनाले कतारका लागि नयाँ श्रमस्वीकृति र पुनःप्रवेशको श्रम स्वीकृति लिएका छन् ।
कतारमा करिब ४ लाख नेपाली कार्यरत रहेकोमा विदामा नेपाल आइ पुनः रोजगारीका लागि कतार फर्कनेहरूको संख्या मासिक १० हजारको हाराहारीमा हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपाल भित्रने रेमिट्यान्स रकममा कतार पहिलो स्थानमा छ । कतारले नेपाल भित्रने कुल रेमिट्यान्सको करिब १८ प्रतिशत हिस्सा ओगट्छ ।
कोरोनाभाइरस संत्रासले कतारले नेपालीहरूलाई कतार प्रवेशमा रोक लगाएको र आफ्नो मुलुकभित्र थप स्वास्थ्य सतर्कता अपनाउने सम्भावना बढेसँगै त्यहाँबाट आउने रेमिट्यान्स पनि प्रभावित हुनेछ ।
कतार आफै पनि प्रभावित हुँदै
कोरोनाभाइरस त्रासका कारण कतारले प्रवेश प्रतिबन्ध लगाएका १४ देशमध्ये अधिकांश त्यहाँ कामदार आपूर्ति गर्ने देश छन् । सन् २०२२ का लागि फूटबल विश्वकपको आयोजनाका लागि हाल कतारमा धमाधम पूर्वाधार निर्माण जारी छ ।
साउदी अरबको नाकाबन्दी झेल्दै आएको कतारले अब कोरोनाभाइरस त्रासका कारण नेपाल, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्ससहितका मुख्य श्रमशक्ति आपूर्तिकर्ता देशकै नागरिक प्रवेशमा रोक लगाउँदा त्यहाँको पूर्वाधार निर्माण पूरै प्रभावित हुनेछ ।
प्रकाशित समय १३:३० बजे

















