गृहपृष्ठ कान्छा सारंगीमा रुन्थे, बाँसुरीमा विरह पोख्थे
कान्छा सारंगीमा रुन्थे, बाँसुरीमा विरह पोख्थे
तीन दिदी र चार दाजुका एक्ला भाइ उनको आँखा पाक्ने रोगले बाल्यकालमै दृष्टि गुम्यो । १० वर्षको हुँदा बुवा बिते २०४२ सालमा । त्यसको दुई वर्षपछि आमा पनि रहिनन् । १४ वर्षे किशोरवयमा उनी टुहुरा बने, संसार अँध्यारो भयो उनका लागि । मन भक्कानियो, वैरागियो । बुवाको यादले नैराश्यतामा डुबे । मन बुझाउने ठावैँ थिएन । हरपल, हरक्षण बुवाको सम्झनाले पिरोलिँदा उनले मन बहलाउने सहारा संगीत बनाए । बाँसुरी र सारंगीको भाकाहरुमा आफूलाई पोखेर बुवाको यादबाट टाढिए ।
बुवा र आमा साथमै हुँदा उनका लागि संसार स्वर्गझैं थियो । आँखामा दृष्टि त थिएन तर पनि सबैथोक थियो । बुवाकै सहारामा वल्लो गाउँ‑पल्लो गाउँ चहार्थे, आमाको वात्सल्यमा रम्थे, सारंगीको तारबाट जादुयी धुनहरु सुनाउँदै । दिनचर्याहरु यसरी नै बितिरहेका थिए, हिउँद अनि बर्खा गरेर ।
दिनपछि रात । अँध्यारो अनि उज्यालो । यो सांसरिक रीतिले कसलाई पो छाड्थ्यो र ! बुवा दिलबहादुर र आमा देउमायाको वियोगले पिरोलिएका उनी अर्थात् कृष्णभक्त राईले गाउँ छाड्ने निधो गरे । जन्मथलो धनकुटाको आहालेमा मन नअडिएपछि उनी धरान झरे । यो मिति थियो २०४४ साल । करिब एक दिनको पैदल यात्राको दूरीमा रहेको धरान सहर उनको गन्तव्य बन्यो । जहाँ उनले धरान ज्ञानचक्षु विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरे । सोही विद्यालयमा संगीतको औपचारिक शिक्षासमेत लिए ।
समयलाई पछ्याउँदै वा भाग्यको लहरीमा लहरिँदै, उनी गाउँ नै फर्किए । छिन्ताङ आदर्श माविमा उनको एक वर्ष बित्यो । त्यसपछि धरान नै फर्किएर शिक्षा सदन माविबाट पढाइलाई अगाडि बढाए । तर दुर्भाग्य, बिरामी भएपछि सेन्ट अप टेस्ट (कक्षा १० को अन्तिम परीक्षा)मा भने उनी सहभागी हुन सकेनन् । त्यसपछि उनको औपचारिक शिक्षाले सदाका लागि बिदा लियो । उनी गीतसंगीतमा रम्न थाले । भाकाहरुमा स्वर भरिरहे, वाद्यवादनमा खेलिरहे । त्यही कर्मले अहिलेको ‘कृष्णभक्त राई’ बनायो उनलाई ।
८ वर्षकै उमेरमा सारंगी बजाउन सिकेका उनी सारंगीकै तारहरुमा खेल्थे, रमाउँथे अनि संगीतको सुदूर यात्रामा आफूलाई समाहित गर्थे ।
धरान झर्नुअघि उनका लागि संसार भन्नु जन्मथलो पहाडी गाउँ आहाले मात्र थियो । त्यहीँको परिवेशका उनको मन खुल्थ्यो, रमाउँथ्यो । ८ वर्षकै उमेरमा सारंगी बजाउन सिकेका उनी सारंगीकै तारहरुमा खेल्थे, रमाउँथे अनि संगीतको सुदूर यात्रामा आफूलाई समाहित गर्थे । थाहा थिएन उनलाई ग्रामीण संगीतको अन्जान गन्तव्य कहाँ छ भनेर । सारंगीमा धुनहरु निकाल्न थालेसँगै धरान उनका लागि पानी पँधेरो भएको थियो । ढाकरमा नुनको भारी खेप्ने गाउँलेहरुलाई पछ्याउँदै उनी घरबाट निक्लन्थे सारंगी भिरेर । बाटैभरि सारंगी रेट्दै, स्थानीय भाकाहरु सुनाउँदै धरानसम्म पुग्दा उनको खल्तीमा दुई‑तीन सय रुपैयाँ जम्मा भइसक्थ्यो जबकि थाप्लोमा नाम्लोको डोब बसुन्जेल भारी खेप्नेहरुले त्यति रकम ज्याला पाउँदैनथे ।
सारंगीको कथा
जम्मा ८ वर्षका मात्र थिए उनी । मादल र बाँसुरी बजाउन जानिसकेका थिए । गाउँघरमा चलनचल्तीको बाजा भएर पनि होला उनका लागि यी बाजा बजाउन खासै गाह्रो भएन । तर सारंगी भने हम्मेसा जोकोहीले बजाउने बाजा नभएर हुनसक्छ, उनले देखेका थिएनन् । संयोग वा लेखान्त भनौं, नजानिँदो किसिमले उनी सारंगीको समीपमा पुगे । छिमेकी गाउँ छिन्ताङका एक व्यक्ति, जो नाताले उनको बाजे पर्थे । उनै बाजे थोत्रो सारंगी भिरेर आहाले पुगेका थिए । बाजेको सारंगी रेटाइमा भाका मिलेको होस् वा नहोस् तर तारहरुको कम्पनले कृष्णभक्तको मन खिचिदियो । त्यतिबेलै उनलाई लागेको थियो, मसँग पनि सारंगी भएको भए !
नभन्दै चिताएको पुग्यो । गाउँकै अर्का एक जना बाजेसँग पनि उस्तै थोत्रो सारंगी रहेको उनले गम पाए । र, अनेक अनुनय–विनय गरेर केही दिनका लागि त्यो सारंगी उनले घर ल्याए । बल्ल–बल्ल पाएका के थिए, साँझ–बिहान उनी यति भुले कि बुवाले समेत उनलाई गाली गर्नुपर्यो‑ ‘बल्ल काम पाइस्’ । जिन्दगीमै पहिलोपटक छोएको त्यो सारंगी उनले यति रेटेछन् कि सायद सारंगी हार्यो, कृष्णभक्तले जिते । लगातार तीन दिनको जबर्जस्त रेटाइपछि जसै धुन निस्कियो, ‘घरबेटी दाजु, आँगनीमा देऊ न मलाई बास…’ । कृष्णभक्त कति पुलकित भए होलान् ! सायद हर्षले भुइँमा खुट्टा थिएन होला । गावैँभरि हल्ला चल्यो- ‘कान्छा’ले सारंगी पनि बजाउन थाल्यो रे ! गाउँघरमा उनी ‘कान्छा’ नामले चिनिन्थे । त्यसपछि उनी तल्लो घर, माथिल्लो घर बोलाइए । र, वारिपारिका गाउँहरुसम्म ।
अनि मन बदलियो
एवं रीतले जीवन चल्दै थियो, उनले काठमाडौं आउने निर्णय गरे । यो मिति थियो २०५५ साल । जहाँ आजपर्यन्त उनको संगीत कर्म जारी छ । काठमाडौं छिरेपछि भने उनको खास ‘संगीतको संघर्ष’ सुरु भयो । यस दौरान उनले रेस्टुराँमा गाए । रेकर्डिङ स्टुडियोमा वाद्यवादकको काम गरे । उनी झरना संगीतमा २०५३ सालदेखि एक वर्ष, रिमा रेकर्डिङमा तीन वर्ष र महेन्द्रनगरस्थित अर्को एउटा स्टुडियोमा एक वर्ष वाद्यवादक भए ।
यस्तै–यस्तैमा उनलाई आफैँ व्यवसायी हुन मन लाग्यो सायद । कञ्चन रेकिर्डङ स्टुडियोका मालिक पनि भए उनी २०५९ देखि ६ वर्षसम्म । यस बीचमा उनी रेस्टुराँमा गाउनका लागि सिंगापुर जाने तयारीमा थिए । तर, अन्तिम समयमा उनको टिम सफल भएन ।
‘अन्तर्राष्ट्रिय पियानो फेस्टिभल’मा भाग लिन उनी सन् २०१४ मा जापान गए । त्यहाँ उनले सारंगी, बिनायो, मुर्चुङ्गालगायतका नेपाली लोकबाजाहरुसमेत प्रस्तुत गरेका थिए ।
संगीत यात्रा
सांगीतिक यात्रामा अहिले पनि निरन्तर यात्रारत उनी गीत गाउँदैनन् मात्र, संगीत भर्नु र एरेन्ज गर्नु पनि हो उनको संगीत कर्म । यतिका वर्षसम्म साधनारत र संघर्षरत उनी संगीत क्षेत्रमै लागेर बाँच्न भने अझै पनि गाह्रो नै रहेको बताउँछन् । नेपालका अधिकांश लोकबाजासहित २६ प्रकारका बाजा बजाउने उनलाई नेपाली संगीत क्षेत्र अझै व्यावसायिक भइनसकेको जस्तो लाग्छ । उनले करिब १७ सयवटा जति गीतमा स्वर भरिसकेका छन् । हाल उनी बेलायतका लागि नेपाली राजदूत दुर्गा सुवेदीको एकल शब्द र आफ्नै एक संगीतको एल्बमको काममा व्यस्त छन् । एल्बमका गीतहरुमा राजेशपायल राई, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, लोचन भट्टराई र उनले स्वर भरेका छन् । दशैंअघि नै सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।
जीवनमै पहिलो गीत उनले धरानमा रेकर्ड गराएका थिए । २०४८ सालमा रेकर्ड भएको ‘आज यो मन उडाइलग्यो…’ बोलको गीत उनको पहिलो रेकर्डेड गीत हो । रेडियो नेपालमा भने २०४९ सालमा ‘हो म एउटा विवश यात्री…’ बोलको उनको गीत रेकर्ड भएको थियो । यसरी अञ्जान-अञ्जानमै नेपाली संगीत क्षेत्रमा होमिएका उनले अनकौं आरोह‑अवरोह पार गरिसकेका छन् । यसबीचमा कैयन् हण्डर र ठक्कर खाए होलान् तर पनि उनको सांगीतिक यात्रा विचलित भएको छैन ।
खासगरी कारुणिक गीतहरुमा ‘म्याच’ हुने स्वर भएका गायकको रुपमा पहिचान बनाएका उनको ब्रान्डेड गीत भने ‘नमुछे आमा दहीमा टीका…’ नै हो । नारायण रायमाझीकै संगीत र स्वरमा रेकर्ड भइसकेको यो गीतलाई कृष्णभक्तले पुनः रेकर्ड गराएका थिए । अत्यधिक लोकप्रिय भएको यही गीतले उनलाई ‘कृष्णभक्त’ बन्न निकै मद्दत पुर्यायो । नारायण रायमाझीका दाई लक्ष्मण रायमाझी, जो भारतीय सेनामा कार्यरत थिए । उनले आफूजस्ता नेपालीहरुको भावाना समेटेर लेखेको यो गीत नेपाली संगीत क्षेत्रका सदावहार ‘दसैं गीत’मध्येमा पर्छ ।
उनलाई मन पर्ने आफ्ना गीतहरुमा भने ‘धर्ती आकाशजस्तै भयौं…’, ‘ढुंगा दुखेको छ यहाँ…’, ‘उनको जीवन मेरो कथा…’, ‘घर राम्रो चुनाले…’लगायत छन् । उनले लोकदोहोरी पनि गाएका छन् । सुनीता थेगिमसँग उनले गाएको गीत ‘बिनायो कङकङ…’ अहिले चर्चामा छ । उनलाई मन पर्ने गीतमा भने नारायण गोपालको ‘मेरो गीत मेरै प्रतिविम्ब होइन…’ र तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन…’ हुन् ।
कृष्णभक्त आफूलाई नारायण गोपाल र गोपाल योञ्जनबाट प्रभावित भएको बताउँछन् । भन्छन्, ‘उहाँहरुबाट सिक्नुपर्ने कुरा धेरै छन् । इतिहासबिना कोही पनि अगाडि बढ्न सक्दैन । त्यसैले पनि अग्रजहरुको सम्मान अनिवार्य छ ।’ एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति कहीँ पनि नहोस् भन्छन् उनी । हरेक क्षेत्रका हरेक व्यक्ति अनुशासनमा बसे समाज र सिंगो मुलुक समृद्ध तथा सुखी हुने उनको बुझाइ छ । नेपाली संगीतका नयाँ पुस्तामा मेहनत नगरी चाँडै चर्चित हुने महत्वकांक्षा बढेकोप्रति कृष्णभक्तको चिन्ता छ । उत्कृष्ट सिर्जनाका लागि लगातार साधना र अभ्यास गर्न उनी सुझाव दिन्छन् ।
उनका दुई सन्तानमध्ये जेठा अकिल संगीत विषय नै लिएर स्नातक तहमा अध्ययनरत छन् । कान्छा छोरा मनसुन पनि वाद्यवादनमै सक्रिय छन् । उनको परिवारको माहौल नै संगीतमय छ । श्रीमती आशा राई गीत लेख्छिन् । अघिल्लो पुस्तामा कोही पनि संगीत क्षेत्रमा नभए पनि अहिले आएर भने परिवारका सबैजना संगीतमै लागेकोमा उनलाई खुसी लाग्छ ।
प्रकाशित समय २१:५५ बजे



















