गृहपृष्ठ अब माछापुच्छ्रे बैंकबाटै तिर्न सकिन्छ ट्याक्सी भाडा
अब माछापुच्छ्रे बैंकबाटै तिर्न सकिन्छ ट्याक्सी भाडा
इजी एस्योरेन्स प्रालिअन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तानी गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापा र इजी एस्योरेन्सका प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि इजी ट्याक्सीअन्तर्गत सञ्चालित करिब ५ हजार ट्याक्सीको सेवा उपभोग गरेबापत ग्राहकले नगद भुक्तानी गर्नुपर्ने छैन । भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेका बेला इजी ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजी एस्योरेन्सले प्रविधिमैत्री ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्झौतापछि इजी ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन थप सहयोग पुग्ने बताए । ‘इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिइरहँदा भुक्तानीमा समस्या भइरहेको थियो,’ उनले भने, ‘अब सो समस्या समाधान भएको छ, आगामी दिनमा यात्रुलाई सेवा दिन थप सहज हुनेछ ।’
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा हुने जोखिम न्यूनीकरण गर्न तथा ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजी ट्याक्सी र बैंकबीच सम्झौता भएको जनाइएको छ ।
प्रकाशित समय २१:२४ बजे

















