गृहपृष्ठ वैदेशिक व्यापार : नौ वर्षमा निर्यात ५४ प्रतिशतले बढ्दा आयात २६३ प्रतिशतले बढ्यो

वैदेशिक व्यापार : नौ वर्षमा निर्यात ५४ प्रतिशतले बढ्दा आयात २६३ प्रतिशतले बढ्यो

नेपालको वैदेशिक व्यापारमा नौ वर्षको अवधिमा आयातले छलाङ मार्दा निर्यात भने कछुवा गतिमा छ । आर्थिक वर्ष २०६७/६८ मा ६२ अर्ब ७३ करोड ९२ लाखको निर्यात व्यापार गरेको नेपालले नौ वर्षपछि आव २०७५/७६ मा ३४ अर्ब ३७ करोड रुपैयाँले बढाएर ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँ पुर्‍याएको छ । यो वृद्धि जम्मा ५४.७८ प्रतिशत हो । नेपालले वार्षिक एक खर्बको वस्तु तथा सेवासमेत निर्यात गर्न सकेको छैन ।

समीक्षा अवधिमा आयात भने २६३.४९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ३ खर्ब ९० अर्ब २५ करोड रुपैयाँको आयात गरेको नेपालले आव २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । वैदेशिक व्यापारमा नौ वर्षअघि ३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँको घाटा भोगेको नेपालले आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबर घाटाको व्यापार गरेको छ ।

गत वर्ष भने नेपालले अघिल्लो वर्षको तुलनामा केही कम घाटा व्यहोरेको छ । आव २०७६/७७ मा ९७ अर्ब ७० करोड ९१ लाखको वस्तु तथा सेवा निर्यात गरेको नेपालले ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

विभागका अनुसार चालू आवको पहिलो महिनामा पनि गत आवको साउनको तुलनामा नेपालको वैदेशिक व्यापार १७.४२ प्रतिशले घटेको छ । त्यस्तै आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.८६ प्रतिशतले बढेको छ ।

गत वर्ष ऋणात्मक

नेपालको वैदेशिक व्यापार गत वर्ष भने ऋणात्मक बनेको छ । वैदेशिक व्यापारमा आयात हिस्सा ९० प्रतिशतभन्दा बढी र निर्यात हिस्सा १० प्रतिशतभन्दा कम रहँदै आएका बेला गत वर्ष व्यापार नै ऋणात्मक बनेको हो । यसअघि २०७१/७२ को तुलनामा ७२/७३ मा ३ प्रतिशत ऋणात्मक रहेको नेपालको वैदेशिक व्यापार गत वर्ष साढे १४ प्रतिशतले ऋणात्मक बनेको हो ।

आर्थिक वर्ष २०७१/७२ मा भन्दा ७२/७३ नेपालको वैदेशिक व्यापार ३.०३ प्रतिशतले ऋणात्मक रह्यो । ७१/७२ मा ८ खर्ब ७१ अर्ब ३८ करोडको वैदेशिक व्यापार भएकोमा ७२/७३ मा ८ खर्ब ४४ अर्ब ९६ करोडको व्यापार भयो । त्यसबेला नेपालको निर्यात १७.५४ प्रतिशतले र आयात १.४६ प्रतिशतले घटेको थियो ।

अर्को वर्ष २०७३/७४ मा नेपालको वैदेशिक व्यापार २५.१३ प्रतिशतले बढ्यो । ७३/७४ मा १० खर्ब ५७ अर्ब ३३ करोडको वैदेशिक व्यापार भयो । अघिल्लो वर्षको तुलनामा आयात २७.०५ प्रतिशतले बढ्यो भने निर्यात ३.९६ प्रतिशतले बढ्यो ।

त्यस्तै २०७४/७५ मा नेपालको वैदेशिक व्यापार अघिल्लो वर्षभन्दा २५.४२ प्रतिशतले बढेर १३ खर्ब २६ अर्ब १२ करोड रुपैयाँको भयो । आयात २६.५ प्रतिशतले बढ्दा निर्यात ११.४ प्रतिशतले मात्र बढ्यो । आव २०७५/७६ मा पनि नेपालको वैदेशिक व्यापार १४.२६ प्रतिशतले बढेर १५ खर्ब १५ अर्ब ६४ करोड पुगेको छ । यो आवमा आयातको तुलनामा निर्यात वृद्धिदर धेरै छ । आयात १३.९३ प्रतिशतले बढ्दा निर्यात १९.३६ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष २०७६/७७ मा भने नेपालको वैदेशिक व्यापार १४.५९ प्रतिशतले घटेर १२ खर्ब ९४ अर्ब ५० करोडमा झरेको छ । त्यस्तै आयात १५.६३ प्रतिशतले घट्दा निर्यात ०.६२ प्रतिशतले मात्रै बढेको छ ।

पूर्ति क्षमता कमजोर

विज्ञहरू नेपालको आपूर्ति क्षमता नै कमजोर भएकाले निर्यात बढाउन नसकेको बताउँछन् । सौविध्यपूर्ण व्यापार सुविधा पाएका वस्तुहरुको निर्यातसमेत लगातार घट्नुले नेपालको आपूर्ति क्षमता कमजोर भएको स्पष्ट हुने व्यापार विज्ञ डा. पोषराज पाण्डेले बताए ।

‘निर्यात गर्न सकिने वस्तुकहरूको उत्पादन क्षमता पनि हामीसँग छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य र गुणस्तर दुवै हिसाबमा नेपालले प्रतिस्पर्धा गर्न नसकिरहेकाले निर्यात व्यापारले कछुवा गति लिएको हो ।’

कतिपय वस्तुहरूमा नेपालले नीतिगत समस्या पनि भोगिरहेको उनले बताए । ‘कृषि उपजमा नेपालले आन्तरिक माग धान्ने गरी उत्पादन बढाउन सके व्यापार घाटा केही कम हुनसक्छ,’ डा. पाण्डे भन्छन्, ‘तर विदेशी मुद्रा नै आर्जन गर्नेगरी उत्पादन गर्छु भन्ने स्थितिमा नेपाल छैन, नेपालले अन्तर्राष्ट्रिय बजारले माग गरेअनुरुपको स्ट्यान्डर्डको कृषि वस्तु उत्पादन गर्नै सक्दैन ।’ नेपालले कृषिमा थप १५‑२० प्रतिशत वृद्धिको अपेक्षा गर्नुपर्ने उनले टिप्पणी छ ।

डा. पोषराज पाण्डे, व्यापार विज्ञ

यसपटकको वैदेशिक व्यापार र आयात घट्नुको एउटा कारण कोरोनाभाइरस संक्रमण पनि भएको उनले बताए । ‘कोरोनाले आयात केही प्रभावित भएको सत्य हो,’ व्यापार विज्ञ पाण्डे भन्छन्, ‘आयात घटेको डोमेस्टिक उत्पादन बढेर होइन, माग कम भएका कारण उपभोग घटेर हो ।’ निर्यात वृदधिमा यसपटक पाम आयलको भूमिका देखिए पनि त्यो क्षणिक मात्र भएको उनले स्पष्ट पारे ।

सरकारले व्यापार घाटा कम गर्न औद्योगिक उत्पादन र निर्यातमा केन्द्रित हुनुको विकल्पै नभएको डा. पाण्डेले बताए । ‘ऊर्जा क्षेत्रबाट राम्रो लाभ लिन सक्ने अवस्था भए पनि महँगो बनाएर, त्यो सम्भावना पनि कम हुँदै गएको छ,’ उनले भने, ‘नेपालले नीतिगत स्थिरता कायम राख्दै औद्योगिक उत्पादन बढाएर अर्थतन्त्रमा १८‑२० प्रतिशतको योगदान दिने अवस्थामा पुर्‍याउनुपर्छ, त्यसका लागि आन्तरिक र बाह्य पुँजी परिचालन गर्नुपर्छ ।’

(इन्फोग्राफ : डीआर)

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु