गृहपृष्ठ वृद्धावस्थामा सहाराविहीन

वृद्धावस्थामा सहाराविहीन

‘कपाल मेरो लम्म-लम्म तोरी तेल घस्दैन,

अहिले बर्खा रोई-रोई काटेँ हिउँद म बस्दैन ।

अहिले कति प-यो होला कालो बरखीलाई,

मेरो माया मान्ने भए छोड्देउ घरकीलाई ।’

मलाई देख्नेबित्तिकै ६३ वर्षीय लक्षिमाकुमारी गौतमले यो गीत गाइन् । केही दुःख लाग्दा र केही ठट्यौली गीतका टुक्का लक्षिमा गाइरहन्छिन् । हेर्दा होची र मोटी, बसेपछि उठ्नै धौ-धौ हुने उनको शरीर छ तर कलाको भने उनीसँग खानी नै रहेछ ।

बराहताल घर भएकी उनको सानै छँदा आमाले पञ्चपुरी नगरपालिकामा विवाह गराइदिएकी थिइन् तर काम गर्न सकिन भनेर परिवारले घर बस्न दिएनन् । घरपरिवारले माया नगरेपछि माइतीमा बस्दै आएकी उनले दोस्रो विवाहको बारेमा सोचिनन् । ‘आमा बुवा जिउँदो हुँदासम्म त माइती मै बसेँ,’ उनले भावुक हुँदै भनिन्, ‘तर दाजुभाइलाई आफन्त मान्नु बेकार रैछ ।’

दाजुभाइ र दिदिबहिनीले नहेरेपछि उनी सात वर्षदेखि प्रशान्ति वृद्धाआश्रम आश्रय लिइरहेकी छन् । अहिले उनको साथी यही गीत बनेको छ । मिठा गीत सुनाएर सबैलाई हँसाउँछिन् । लक्षिमालाई राज्यबाट व्यक्तिगत अपेक्षा केही छैन तर बेसहारा जेष्ठ नागरिकका लागि राम्रो व्यवस्था गरिदिओस् भन्ने छ ।

वीरबहादुर (बायाँ) र डम्बरबहादुर दम्पती ।

गुराँस गाउँपालिका ६ जोरेबाँझ दैलेखका डम्बरबहादुर बुढाक्षेत्री उमेरले ७८ वर्ष पुगे । उमेर हुँदासम्म कामको सिलसिलामा भारतमा बसेका उनले विवाह गरेकी श्रीमतीलाई हेरचाह गरेनन् । एक छोरीकी आमा उनको माया र परिवारको साथ नपाएपछि अर्को विवाह गरेर गइन् । डम्बरबहादुरलाई उमेर हुन्जेल जीवनसाथीको साथको अभाव खट्किएन । कमाएको पैसा केही घरमा भएका दाइका छोराहरुलाई पढाउँथे, केही आफैँले खर्च गर्थे । आफ्ना लागि कहिल्यै सोचेनन् ।

जब बुढेसकाल लाग्यो, डम्बरबहादुरलाई जीवनसाथी र पैसाको खाँचो प-यो । ‘मैले ६० वर्षको उमेरमा विवाह गरेको हुँ,’ उनले भने, ‘काम गर्न सकुन्जेल दाइका छोराहरुसँग बसेँ । केही गर्न नसकेपछि हेला भएँ ।’ अहिले उनीहरु दुवैजना आश्रममा छन् ।

डम्बरबहादुरकी श्रीमती देवीकला पनि सँगै छिन् । चाउरी परेको ७८ वर्षको अनुहारमा मुस्कान ल्याउँदै डम्बरबहादुरले भने, ‘मलाई आफन्त हुनु र नहुनुमा केही फरक छैन । श्रीमती सँगै छ, यसैमा खुसी छु ।’ डम्बरबहादुरलाई जेष्ठ नागरिक दिवसका बारेमा समेत थाहा छैन ।

दैलेखका वीरबहादर थापाले जीवनमा नगरेको पेसा र काम कमै होला । कपडा सिलाउने, घर बनाउने र खेतीपातीका सबै काम उनलाई आउँछ । करिब २९ वर्ष होटल व्यवसाय र खुद्रापसलमा बिताएका उनको कहानी अलि भिन्न छ ।

वीरबहादुर १३ वर्षको हुँदा विवाह भयो । विवाह गरेकै साल बुवाको मृत्यु भयो । श्रीमतीलाई आफू खुबै माया गर्थे तर परिवारले रुचाएनन् । नचाहँदा–नचाहँदै दुई जना छुट्टिए । १८ वर्षको हुँदा आमाले पनि छाडिन् । २० वर्षको उमेरमा गणेशकुमारी थापासँग दोस्रो बिहे गरे । उनीबाट सात छोराछोरी जन्मिए तर एउटी छोरीबाहेक सबैको जन्मदै मृत्यु भयो । अहिले सहाराविहीन छन् । ‘बस्ने बास र खाने गाँस नभएपछि आश्रममा आएको हुँ,’ उनले भने, ‘म त केही काम गरेर पनि खान सक्थेँ तर श्रीमती साह्रै अशक्त भएपछि आश्रममा आएको हुँ ।’

७१ वर्षीया मंगलमाया घिमिरेको घर काभ्रे हो । उनलाई दुई वर्षको उमेरमा बुवाआमा गुमेका जानकारी मात्रै छ । दिन बित्दै गए । घरको आर्थिक अवस्था कमजोर थियो । अन्दाजी १३ वर्षकी हुँदा एक जना न्यायाधीशकहाँ घरेलु कामदारका रुपमा सुर्खेत आईन् । दुई वर्षपछि नै फकाइफुलाई भारतको बनारस घर बताउने एक जना ठेकेदारसँग उनको विवाह गराइयो ।

विवाह भएको पाँच वर्ष नबित्दै उनले श्रीमान् गुमाइन् । छोराछोरी जन्मिएका थिएनन् । जीविकाका लागि फेरि घरेलु कामदार नै बन्नुप-यो । उमेर छउन्जेल घरेलु कामदार बनिन् । हातगोडा चल्न छाडेपछि प्रशान्ति आइपुगिन् । अहिले उनको दैनिकी आफूजस्तै बेसहारासँग दुःख–सुख गरेर र भजन कीर्तन गरेर बित्छ ।

आश्रमकी उपाध्यक्ष शीतलसिंह राठौरले सबैको सहयोगमा आश्रम सञ्चालन गरेकी छन् । कसैको जन्मदिन, आमाबुवाको तिथि र वैवाहिक वर्षगाँठले दालचामल र फलफूल खान पुगेको उनी बताउँछिन् । ‘तर औषधि उपचारमा भने धेरै समस्या छ,’ उनले भनिन् । हाल आश्रममा २२ जना वृद्धवृद्धा छन् ।

कतिपय छोराछोरीले आफ्नो कर्तव्य भुल्दा आमाबुवा सडकमा पुगेका छन् भने कतिपयले नियतवश नै आश्रम पठाएका छन् । कतिपय परिबन्धले सहाराविहीन बनेका छन् । अध्ययन र रोजगारीको सिलसिलामा गाउँबाट सहर र देश छाडेर विदेश जानेहरु धेरै छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि छोराछोरी घरगाउँ छाडेर हिँड्दा आमाबुवाको विचल्ली भएको छ । यस्ता धेरै उदाहरण छन् । राज्यले पनि बेसहारा बनेका ज्येष्ठ नागरिकलाई संरक्षण र सम्मान दिन जानेको छैन ।

राज्यले जेष्ठ नागरिकका लागि कानुनी व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकको व्यवस्था गरिएको छ । जसको धारा ४१ हरेक जेष्ठ नागरिकलाई राज्यले विशेष संरक्षण र सामाजिक सुरक्षाको व्यवस्था गर्ने छ भनी स्पष्ट उल्लेख छ । तर, यो कानुनी दस्तावेजमै सीमित छ ।

आज ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकसम्बन्धी पहिलो विश्व सम्मेलन सन् १९८२ को जुलाई २६ देखि अगस्ट ६ सम्म अस्ट्रियाको भियनामा भएको थियो भने दोस्रो विश्व सम्मेलन सन् २००२ को अप्रिल ८ देखि १२ सम्म स्पेनको म्यड्रिडमा भएको थियो । यी दुवै विश्व सम्मेलनले ज्येष्ठ नागरिकसम्बन्धी राजनीतिक घोषणा र कार्ययोजना पारित गरेका थिए ।

तिनै घोषणा र कार्ययोजनामुताविक विश्वभर ज्येष्ठ नागरिकका लागि आर्थिक तथा सामाजिक कल्याणकारी कार्य भइरहेका छन् । सन् १९९९ लाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष’को रूपमा विश्वभर मनाइएको थियो । हरेक वर्षको अक्टुबर १ लाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ र जुन १५ लाई ‘ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस’को रूपमा मनाउने गरिएको छ ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु