गृहपृष्ठ दही-चिउरा र चिया बेचेर फेरिएको जीवन
दही-चिउरा र चिया बेचेर फेरिएको जीवन
जागिर छाडेर श्रीमतीलाई सहयोग
सुर्खेतका पर्यटकीय स्थलमध्ये कटकुवा पनि एक हो । घुम्न र प्राकृतिक सुन्दरताको आनन्द लिन आन्तरिक पर्यटकहरु कटकुवासम्म पुग्छन् । धार्मिक हिसाबले पनि कटकुवाको छुट्टै इतिहास छ । सुर्खेत-दैलेख सडकखण्डमा पर्ने उक्त क्षेत्रमा दैनिकजसो आन्तरिक पर्यटकहरुको घुइँचो लाग्नेगर्छ ।
कटकुवा भनेपछि त्यहाँको प्रख्यात खाजा दही-चिउरा र चिया हो । सवारी चालकदेखि आन्तरिक पर्यटकहरुले समेत खाजाको रुपमा कटकुवाको दही-चिउरा र चिया सम्झिन्छन् । पछिल्लोसमय अन्य किसिमका खाजाहरु पनि ग्राहकको मागअनुसार उपलब्ध छ ।
सुर्खेत-दैलेख सडकखण्डमा पर्ने कटकुवाको एकछेउमा सानो चिया पसल छ । जसलाई विगत १६ वर्षदेखि सञ्चालन गर्दै आएकी छन् बालकुमारी देवकोटाले । आगोको राप र धुवाँले कालो भइसकेको झुप्रोमा बालकुमारी र उनका श्रीमानले दही-चिउरा र चिया बेच्दै आएका छन् । धेरैजसोले ‘देवकोटा बाजे’ र ‘देवकोटा बज्यै’ भनेर उनीहरुलाई चिन्छन् ।
घरमा भैंसी पालेर जीविकोपार्जन गर्दै आएकी देवकोटाले सुर्खेत-दैलेख सडकखण्डमा यातायातका साधनहरु सञ्चालनमा आएदेखि व्यवसाय गर्दै आएकी हुन् । दिनहुँ बालकुमारीको पसलमा ग्राहकको भिड हुन्छ । ‘कोरोनाले गर्दा ग्राहक कम भएका हुन् । दिनमा दुईसय ग्राहकलाई मैले दही-चिउरा र चिया खुवाउँछु,’ उनले भनिन् । पछिल्लोसमय चना, अण्डा, चाउमिन लगायतका अन्या खाजासमेत बिक्री गर्न थालेको उनले सुनाइन् । पहिले अनेक दुख गर्दा पनि पैसा देख्न नपाइको सुनाउँदै उनले चिया पसलले नै आफूहरुको जीवन फेरिएको बताइन् ।
जागिर छाडेर श्रीमतीलाई सहयोग
बालकुमारीका श्रीमान भिमप्रसाद देवकोटा भेटेनेरीमा जागिर गर्थे । बालकुमारी भने घरमा भैंसी पालन गर्दै आएकी थिइन् । पाँच छोरी र एउटा छोरालाई पढाउने ठुलो जिम्मेवारी उनीहरुमा थियो । दैलेख-सुर्खेत सडकखण्डमा निरन्तर सवारी साधन र मानिसहरुको आवतजावत भइरहँदा बाटोमा कुनै पनि चिया पसल थिएनन् । घरमा खासै भनेजस्तो आम्दानीसमेत नहुँदा बालकुमारीले कटकुवामा चिया पसल गर्ने योजना बनाइन् ।
त्यसमा साथ दिए उनका श्रीमानले । जागिर र व्यवसाय सँगसँगै चलाउन अप्ठ्यारो भएपछि भिमप्रसादले जागिर छोडेर श्रीमतीलाई सघाउँदै आएका छन् । ‘व्यवसायबाट फाइदा पनि हुँदै गयो । श्रीमतीलाई पनि सहयोग हुने, व्यवसाय पनि हुने भएपछि मैले जागिर छाडेको हुँ,’ उनले भने । अहिले दुवैजना मिलेर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

व्यवसायबाटै राजधानीमा दुईवटा घर
कटकुवामा जम्मा दुईवटा पसल मात्र छन् । देवकोटा दम्पत्तीले हरेक दिन कम्तीमा पनि २ सय बढी पर्यटकलाई खाजा खुवाउँछन् । त्योबाहेक यातायातका साधनहरु समेत रोकिएर चिया-खाजा खान्छन् । ‘महिनामा पच्चीस हजारभन्दा माथि कमाई हुन्छ,’ बालकुमारीले भनिन्, ‘वीरेन्द्रनगरमा दुईवटा ढलान घर यही व्यवसायबाटै बनाएकी छु ।’ उनका छोरा नेपाल प्रहरीमा जागिरे छन् । आफूले व्यवसाय नगरेको भए छोरालाई जागिर खुवाउन नसक्ने उनी बताउँछिन् । घरमा बसिरहे घरको कामबाहेक केही नजानिने तर व्यवसायका क्रममा बाटोमा बसेर धेरै कुरा सिकेको उनी सुनाउँछिन् ।
मुखैले हिसाब
बालकुमारी खासै पढेकी छैनन् । उनलाई लेख्न र पढ्न आउँदैन । तर उनले लाखभन्दा माथिका हिसाब मुखैले गर्न सक्छिन् । घरको सबै जिम्मेवारी आफ्नै काँधमा भएकाले सबै हिसाब आफैँले गर्ने उनले बताइन् । बालकुमारीका चारजना छोरीहरुको विवाह भइसकेको छ । कान्छी छोरीका भने विवाह गर्न अझै बाँकी छ । उनका एकमात्र छोरा र बुहारीसमेत नेपाल प्रहरीमा जागिरे छन् ।
जग्गा जमिन र घर निर्माण गर्दासमेत सबै व्यवहार आफैँले सम्हाल्दै उनी बताउँछिन् । ‘लेखपढ उसलाई त्यति आउँदैन । मैले पनि खासै पढेको त होइन तर उसैले सबै हिसाब मुखैले गरेर भ्याउँछे,’ भिमप्रसादले भने । बालकुमारी देख्दा पनि आँटिली र फरासिली छन् । उनले बोलेरै ग्राहक तान्छिन् । मिठो बोली र राम्रो स्वभाव भए व्यवसायमा फाइदैफाइदा हुने उनको तर्क छ । कोरोना भाइरसको महामारीका कारण अहिले भने व्यापारमा धक्का लागेको देवकोटा दम्पत्ती सुनाउँछन् ।
जाँगर अझै मरेको छैन
‘जति भाँडो उनी चुपुर्को’, ‘जति हुने उति रुने’ यो उखान देवकोटा दम्पत्तीमा पनि लागू हुन्छ । उमेरले श्रीमान ६२ र श्रीमती ५२ कटेका छन् । पसलमा काम गर्ने उनीहरुबाहेक अरु कोही छैन । बिहान चार बजे गोठिकाँडामा रहेको घरबाट पसल खोल्न आइपुग्छन् । अनि राति प्राय नौ बजेपछि मात्रै घर फर्कन्छन् । भाँडा धुने, पानी बोक्ने र पकाउने सबै आफैँले गर्छन् । बेला-बेलामा सकिएको सामान बजार गएर आफैँले किनेर ल्याउँछन् । व्यवसाय गरी कमाएको पैसा लगानी गरी उनीहरुले उल्लेख्य प्रगति गरेका छन् । तर पनि उनीहरु व्यवसायमा अझै सक्रिय छन् । ‘अझै जाँगर मरेको छैन । शरीरले धानुञ्जेलसम्म व्यवसाय गर्न छोड्दैनौं,’ बालकुमारी भन्छिन् । पहिले व्यवसाय बाध्यता भए पनि अहिले रहर भएको उनीहरु बताउँछिन् ।
प्रकाशित समय १६:३६ बजे
















