गृहपृष्ठ राष्ट्रपति निर्वाचन फागुन २९ गते

राष्ट्रपति निर्वाचन फागुन २९ गते

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठक फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदानको समय तोकिएको छ ।

‘आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो’, निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बैठकले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । उक्त मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श र छलफल गर्नुभएको थियो ।’

आयोगले फागुन २१ देखि राष्ट्रपति निर्वाचनको कार्यक्रम सुरु हुने जनाएको छ । फागुन २१ मा मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन मतदाता नामावलीमा छुट भएका नाम समावेश गर्ने तथा मतदाता नामावली उपर दाबी विरोधको उजुरी दिने कार्यक्रम छ । त्यसको भोलिपल्ट २२ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ । फागुन २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, सोही दिन उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको दाबी विरोधमा उजुरीको कार्यतालिका छ ।

आयोगले फागुन २४ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, मनोनयनमा भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई नाम फिर्ता लिन समय दिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार फागुन २९ गते राष्ट्रपतिका लागि मतदान हुनेछ ।

प्रकाशित समय ०१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु