गृहपृष्ठ माओवादीले शनिबारसम्म नाम टुंग्याउने
माओवादीले शनिबारसम्म नाम टुंग्याउने
काठमाडौं, ११ फागुन । पार्टी एकीकरणको ७ बुँदे आधारपत्रमा हस्ताक्षेर भएसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको माओवादी केन्द्रले शनिबारसम्ममा आफ्नो तर्फका मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर बैठकले दाहाल, रामबहादुर थापा बादल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्रीको नाम फाइनल गर्ने जिम्मा दिएको थियो । नेता श्रेष्ठले शनिबारसम्ममा आफूहरुले प्रत्येक प्रदेशबाट योग्यता र क्षमताको आधारमा मन्त्रीहरु छान्ने जानकारी दिए ।
एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने गरी भागवण्डा भइसकेको छ । मन्त्रीका आकांक्षी धेरै भएका कारण नाम टुंग्याउन माओवादीमा पनि सकस देखिएको छ । एमालेको भागमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ ।
त्यस्तै माओवादी केन्द्रको भागमा गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय परेको छ ।
प्रकाशित समय १२:०१ बजे