गृहपृष्ठ मेलम्ची खानेपानी आयोजना निर्माण अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजना निर्माण अन्तिम चरणमा
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । राजधानीका अधिकांश स्थानमा खानेपानीको पाइपलाइन विस्तारको साथ धारा समेत जडान भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाले दिएको जानकारी अनुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न हुनेछ । सुरुङ निर्माण भएपछि दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा जम्मा हुने र राजधानीवासीलाई वितरण गरिनेछ ।
असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुने आयोजना कार्यान्वय निर्देशनालयले बताएको छ । योजनानुसार सुन्दरीजलमा प्रदेशधन हुने पानी आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ ।
आयोजनाले नयाँ कार्यतालिका सार्वजनिक गर्दै असारमा मात्रै पुरानो सञ्जालमार्फत वितरण गरिने जनाएको छ ।
त्यसअघि वैशाखमा पानी सुन्दरीजल प्रशोधन केन्द्रसम्म र जेठमा प्रशोधन केन्द्रबाट थोक वितरणमा ल्याइने छ । नयाँ धाराबाट भने असोजपछि मात्रै पानी पठाइने निर्देशनालयको भनाई छ ।
यता बजेट अभावमा रिङरोड भित्र धुम्बाराही, बालुवाटार, पानीपोखरी र नयाँबजार क्षेत्रमा ३ सय ५० किलोमिटर पाइप बिच्छाउने काम रोकिएको छ । पाइप विच्छ्याउन ९ अर्ब रुपैयाँ लाग्ने भएपनि एसियाली विकास बैंकले रकम नदिंदा काम रोकिएको निर्देशनालयले जनाएको छ ।
सो क्षेत्रमा नयाँ पाइप विस्तार गर्न समय लाग्ने भएकाले पुरानै संरचनाका पाइपबाट पानी वितरण गर्ने आयोजनाको तयारी छ । पुराना पाइपबाट पानी पठाउँदा चुहावट बढ्ने तथा वितरणमा समस्या हुने समेत निर्देशनालयले जनाएको छ ।
प्रकाशित समय ०८:२९ बजे