गृहपृष्ठ संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची
संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदको पहिलो बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा सभामुख महन्थ ठाकुरले राष्ट्रपतिबाट संसद बैठक आव्हान भएको पत्र पढेर सुनाउनुहुनेछ । त्यस्तै राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ती र प्रधानमन्त्रीले मन्त्रीहरु नियुक्त गरेको बारे पनि सदनलाई औपचारिक जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभा अन्तरिम कार्यविधि पारित गरिने सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोक्नेछ । सभामुखको निर्वाचन फागुन २६ गते गर्ने तयारी छ । आजै बस्ने राष्ट्रिय सभा बैठकले पनि राष्ट्रियसभा अन्तरिम कार्यविधि पारित गर्नेछ । साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन ३० गते गर्ने तयारी छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुले हिजो पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए
प्रकाशित समय ०८:५९ बजे