गृहपृष्ठ सय पर्यटकीय गन्तव्य विकास गरिने
सय पर्यटकीय गन्तव्य विकास गरिने
सरकारले मुलुकभित्रका एक सय पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रबर्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत केन्द्रमा राखेर ती कार्यक्रम लागू गर्न लागेको हो ।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदले उठाएका भएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्र अधिकारीले यसताे बताएका हुन् । उनले हरेक प्रदेशमा कम्तीमा १० गन्तव्य हुने गरी १०० गन्तव्यको पहिचान र प्रबर्द्धनकाे कार्य आगामी अार्थिक वर्षदेखि शुरू गरिने बताए ।
उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन पुरातात्विक सम्पदाको पुनःनिर्माण चाँडो सम्पन्न गरी आन्तरिकतर्फ घरबास कार्यक्रम ‘होमस्टे’, धार्मिक पर्यटन प्रवद्र्धन तथा छिमेकी मुलुक भारत र चीन लक्षित प्रवद्र्धनका गतिविधिलाई तीव्रता दिइएको जानकारी दिए । मन्त्री अधिकारीले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गरी सेवालाई गुणस्तर बनाउन गत जेठ ७ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा रहेको र यसबाट सुधारका संकेत देखापरेको उल्लेख गरे ।
निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गरिने, तीन वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने तथा बाराको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने मन्त्री अधिकारीको भनाइ थियो । नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अन्तर्गत सम्पदा पुनःनिर्माण, नयाँ गन्तव्य प्रबर्द्धन, पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइएको, पर्यटकीय क्षेत्र रारा, खप्तड क्षेत्र आदिको पर्यटन प्रबर्द्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गरे ।
पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका पाँच आयोजनालाई उच्च प्राथमिकताका साथ आवश्यकताका आधारमा बजेट विनियाेजन गरिएको बताउँदै मन्त्री अधिकारीले सडकको सहज आवागमन नभएको क्षेत्रमा जनतालाई हवाई अधिकारको प्रत्याभूत गराउन त्यहाँ विमान सेवा पुर्याउने योजना अघि सारिएको जानकारी दिए ।
पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको सरकारले सातवटै प्रदेशमा एउटा महत्वपूर्ण विमानस्थल निर्माण गर्ने गरी योजना अघि बढाएको छ । पर्यटनमन्त्री अधिकारीले प्रत्येक प्रदेशमा एक महत्वपूर्ण विमानस्थल निर्माण गर्ने र कर्णाली प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि पहल शुरु गरिएको बताए ।
विमानस्थल निर्माणका नाममा अहिले पनि अर्बभन्दा बढीको लगानी खेर गइरहेको छ । काठमाडौँ केन्द्रित हवाई सेवालाई सातवटै प्रदेशमा विस्तार गरिने उनकाे भनार्इ थियाे । सरकारले आगामी आवका लागि पर्यटन प्रबर्द्ध तथा विस्तारका लागि लागि पाँच अर्ब २० करोड ३४ लाख र हवाई क्षेत्रको विकासका लागि १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।
तीन महिनाभित्र नेपालगन्ज–नयाँदिल्ली उडान
पर्यटनमन्त्री अधिकारीले अबको तीन महिनाभित्र नेपालगन्जबाट भारतको नयाँदिल्ली सिधा उडान शुरु हुने बताएका छन् । यसबाहेक विराटनगर, जनकपुरलगायत गन्तव्यबाट भारतका विभिन्न शहरमा सिधा उडान सञ्चालनको पहल भइरहेको पनि उनले जानकारी दिए ।
त्यस्तै, नेपाल वायु सेवा निगमको विमानलाई चीनका विभिन्न गन्तव्यमा उडान भर्नका लागि पहल भइरहेकोसमेत उनकाे भनार्इ थियाे । सांसद प्रेम सुवाल, दुर्गा पौडेल, मेटमणि चौधरी र तेजुलाल चौधरीले सम्पदा पुनःनिर्माण, विमानस्थल निर्माणको अवस्था, नेपाल वायु सेवा निगमको व्यावसायिक उडान योजनाबारे मन्त्री अधिकारीसँग धारणा माग गरेका थिए ।
(रासस)
प्रकाशित समय १९:३७ बजे

















