गृहपृष्ठ फरार कैदी सम्पर्कमा आउन थाले

फरार कैदी सम्पर्कमा आउन थाले

गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् । लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।

यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका तामाङले थप ५० प्रतिशतले अब ३० वर्ष जेल भुक्तान गर्नु पर्नेछ ।

त्यस्तै सोही गाउँका कर्तव्य ज्यान मुद्दामा सजाय पाएका ६२ वर्षीय मार लामाले पनि सम्पर्कमा आएपछि थपसमेत गरी अझै १३ वर्ष जेल सजाय भोग्नुपर्नेछ । यसअघि उनले १७ वर्ष दुई महिना सजाय काटिसकेका छन् ।

भूकम्प आएलगत्तै कारागारबाट भागेका २१६ जनामध्ये १२० जना सम्पर्कमा आइसकेका छन् । बाँकी ९६ जनामध्ये नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिक भएको कारागार शाखाका निमित्त प्रमुख नवराज सेनले जानकारी दिए ।

भूकम्पले भवन भत्केपछि स्थान अभावले विगत तीन वर्षदेखि त्यहाँबाट कैदी तथा थुनुवालाई अन्यत्र पठाउने गरिएको थियो । हाल महिलाबन्दी गृह ममर्त गरी सञ्चालनमा ल्याएपछि ७५ कैदीबन्दीलाई राखिएको छ ।

बजेटको व्यवस्था भएमा आगामी छ महिनाभित्र पुरुष बन्दीगृहलाई ममर्त गर्न सक्ने कारागार शाखाले जनाएको छ । सो गृहको ममर्तका लागि ४२ लाख बजेट लाग्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

भवन मर्मत भएपछि महिला सय जना गरी कुल २ सय ४० जना बन्दी राख्न सकिनेछ । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै व्यवस्था हुने गरी निर्माणाधीन भवन ठेकदारले तेस्रो किस्ता लिन बाँकी हुँदै भत्केको थियो ।
(रासस)

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु