गृहपृष्ठ विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

bijuli-newskarobar

नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युतको मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महशुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।

यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औं बैठकमा विद्युतको मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो । भारतले २० प्रतिशतसम्म महशुल बढाउन प्रस्ताव गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युतको मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले महशुल बढाउने प्रस्ताव अस्वीकार गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपालले हाल खरिद गरिरहेको विद्युतको मूल्य नै बढी भएकाले बढाउन नसकिने धारणा राखेको जानकारी दिए ।

प्राधिकरणले हाल भारतबाट १३२ केभी क्षमताको प्रशारण लाइनमार्फत भारतीय मुद्रा ५.५५ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतीय मुद्रा छ रुपैयाँमा विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मा विद्युत् खरिद गर्दै आएको छ ।

कूल ११ केभी क्षमताको प्रसारण लाइनमा प्रतियुनिट १०.३२ रुपैयाँ (भारु ६.४५), ३३ केभी प्रसारण लाइनमा प्रतियुनिट ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) मा विद्युत् खरिद गरिरहेको छ । बैठक आगामी तीन महिनाभित्र पुनःबस्ने सहमति भएको छ ।

थप तीन प्रशारण लाइन निर्माण हुने

नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि थप तीन वटा प्रशारण लाइन निर्माण हुने भएको छ । धनगढी–पालिया, सम्पत्तिया–आनन्दनगर, मैनासिंह र नानपारा–नेपालगञ्ज प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको उत्तर प्रदेशका सम्बन्धित निकायबीच समन्वय गरी अगाडि बढाइने भएको छ ।

ती प्रसारण लाइन निर्माणका लागि आवश्यक प्राविधिक तयारी गरी दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा निणयार्थ पेश गरिने भएको छ । तर भारतले धनगढी–पालिया प्रशारण लाइन निकुञ्ज क्षेत्रबाट तान्नुपर्ने भएकाले थप अध्ययन जरुरी रहेको उल्लेख गरेको छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइन र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका अन्य प्रशारण लाइनबाट आयात भइरहेको विद्युतको मूल्य बढी तिर्दै आएको छ । नेपालले हाल कुशाहा–कटैया, जोगवनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबीलगायत बिन्दुबाट विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले विहार, उत्तर प्रदेशलगायतबाट प्रतियुनिट ८.८८ रुपैयाँमा खरिद गर्ने गरेको छ ।

बुटवल–गोरखपुर प्रसारण लाइन भएन प्रगति

नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रशारण लाइन बुटवल– गोरखपुर प्रशारण लाइनको लगानीको प्रारुप तयार पार्न नेपाली पक्षले आग्रह गरेको छ । नेपालले सो प्रशारण लाइन सरकारीस्तरमा नै निर्माण हुनुपर्ने प्रस्ताव गर्दै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो प्रशारण लाइन निर्माणका विभिन्न विषयमा छलफल भएको र उपयुक्त ढाँचा तय गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिए ।

सो प्रशारण लाइन निर्माणका लागि कम्तीमा पनि चार वर्ष लाग्ने देखिएको छ । नेपालले सो प्रशारण लाइन विद्युत् निर्यातका लागि उपयोग गर्नेछ । नेपालले प्रस्तुत गरेको इनर्जी सिमुलेसनको नतिजालाई समेत अध्ययन गरी भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उपयुक्त मोडल प्रस्ताव गर्ने प्रतिबद्धता जनाएको छ ।

सो प्रशारण लाइन निर्माण गर्ने विषयमा दुई देशबीच पटकपटक छलफल भए पनि लगानीको ढाँचा र निर्माणका प्रक्रियाका बारेमा सहमति हुन सकेको छैन ।

इनर्जी बैकिङको प्रस्ताव

नेपालले पुनः भारतसँग इनर्जी बैंकिङको प्रस्ताव गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार नेपाली पक्षले नेपालको समग्र विद्युत् परिदृश्य प्रस्तुत गरेको थियो ।

यस्तै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतमा भइरहेको अभ्यासका बारेमा जानकारी गराएको थियो । बैंकिङको विधि र प्रक्रियाको मस्यौदा तयार पार्ने प्रारम्भिक सहमति भएको र अर्को बैठकमा पेश गरिनेछ ।

माथिल्लो तामाकोशीलगायतका केही आयोजना सम्पन्न भएपछि वर्षाको समयमा नेपालको विद्युत् खेर जाने भएकाले इनर्जी बैंकिङको प्रस्ताव गरिएको हो । वर्षाकालमा भारतमा बढी विद्युत् माग हुने र नेपालमा खेर जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न इनर्जी बैंकिङ नै उपयुक्त विकल्प देखिँदै आएको छ ।

टनकपुर सवस्टेसनको क्षमता वृद्धि

यस्तै बैठकमा टनकपुर सवस्टेसनको क्षमता वृद्धि गर्ने विषयले पनि प्राथमिकता पाएको छ । हाल सो सवस्टेसनमा ५० एमभीएको ट्रान्सफर्मर रहेकामा थप ५० एमभीएको ट्रान्सफर्मर जडान गरिने भएको छ । क्षमता थप भएपछि सो सवस्टेसन भएर करीब १०० मेगावाट बराबरको विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ ।

यस्तै कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी क्षमताको प्रशारण लाइनमा दोस्रो सर्किट निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो । त्यसका लागि थप अध्ययन जरुरी भएकाले दुई देशका प्राविधिक समूहले अध्ययन गरिरहेको छ । बैठकमा नेपाली पक्षको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य प्रकाश मास्केले गरेका थिए ।

(रमेश लम्साल- रासस)

प्रकाशित समय २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु