गृहपृष्ठ ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड

ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड

lalitpur-newskarobar

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताइन् ।

संघीय सरकारबाट ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ । प्रदेश सरकारबाट तीन करोड र आन्तरिक स्रोत एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिए । उनले भने, ‘हामीले विकासको शुरुआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौं ।’

सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति (१० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउइन् । ‘अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।’ प्रदेशसभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने औंल्याए । नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिइन् । नगरसभाले पारित गरेको बजेट असार ३२ गते सार्वजनिक गरिने योजना छ ।

(रासस)

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु