गृहपृष्ठ यो मानेमा हामी विश्वकै धनी : प्रधानमन्त्री ओली

यो मानेमा हामी विश्वकै धनी : प्रधानमन्त्री ओली

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सँस्कृति, कला र ज्ञानमा विश्वका अरु मुलुकभन्दा नेपाल धनी रहेको दाबी गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताएका हुन् । ‘ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको छ,’ उनले भने, ‘हाम्रा शहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएका छन् ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई ब्यँुत्याई अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।

विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्दै उनले प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको बताए ।

उनले प्रतिष्ठान राष्ट्रका प्रबुद्घ व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए ।

अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने उनको भनाइ छ । उनले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताए ।

‘हामी कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा छैनौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइनेछ ।’
प्रधानमन्त्री ओलीले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सबै जुट्न आवश्यक रहेको धारणा समेत राखे । उनले आफू भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपाल र भारतबीचमा धेरै कुराले गति लिएको दाबी पनि गरे ।
भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा बाँध्ने काम गरेको भन्दै ओलीले नेपालको भाषा र साहित्यमा आचार्यले पुर्याएको योगदानको प्रशंसा गरे ।
उनले पुस्तकालयले नेपाल र भारत बीचको सम्बन्धलाई साहित्यबाट जोड्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको बताउँदै साहित्यमा थप सम्बन्ध बढाउनका लागि पुस्तकालयले भूमिका खेल्ने बताए ।

उनले भारत सरकारले नेपालमा सम्पन्न गर्ने आयोजना चाँडै नै पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकालयले संस्कृति र साहित्यमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बताए ।

उनले संस्कृतिको विकासका लागि प्राज्ञिक क्षेत्रको विकास आवश्यक रहेको धारणा राखे । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए ।

कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बँंक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन् । पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करीब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै प्रज्ञा छापाखानाको उद्घाटन पनि गरेका छन् । जर्मनीबाट ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्यसम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले जानकारी दिए । (रासस)

प्रकाशित समय २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु