गृहपृष्ठ उपप्रधानमन्त्री पोखरेल–जापानी राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल–जापानी राजदूतबीच भेटवार्ता

sistachar-newskarobar सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालस्थित जापानी राजदूत मासामिची साइगो । तस्बिर, सौजन्यः रक्षामन्त्रीको निजी सचिवालय, रासस

 

नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसग बिहिबार शिष्टाचार भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटघाटमा उनीहरुबीच नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका बीचको सैन्य तालीम तथा सहकार्य एवं प्रविधि हस्तान्तरणलगायत विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाल र जापानबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अगाडिदेखि नै बुद्ध धर्मप्रतिको भावनात्मक एकताले दुई देशबीचको सम्बन्ध महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको भन्दै पोखरेलले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताएका थिए ।

पोखरेलले सरकार आफ्नो नीति, कार्यक्रम तथा संरचनालाई व्यवस्थित गर्दै अघि बढिरहेको र आर्थिक विकासमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका थिए । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भ्रमण नभएको उल्लेख गर्दै उनले दुवै देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान गर्नुपर्ने धारणा राखे ।

पोखरेलले नवनियुक्त राजदूत मासामिची साइगो कृषि विज्ञ भएको भन्ने आफूले जानकारी प्राप्त गरेको भन्दै नेपालको कृषिको आधुनिकीकरण र विकासका निम्ति राजदूतको विज्ञताको उपयोग गर्न चाहेको बताएका थिए । उनले हालै जापानमा भएको प्राकृतिक प्रकोपका कारण हुन गएको जनधनको क्षतिप्रति समवेदना प्रकट गरे ।

भेटमा राजदूत साइगोले नेपाल र जापानबीच रहेको घनिष्ट सम्बन्ध अझ गहिरो र फराकिलो बनाउँदै लैजाने बताए । उनले नेपाल र जापानबीचको अनुपम सम्बन्ध अतुलनीय भएको र दुई मुलुकबीचको आपसी सहयोग आगामी दिनमा समेत निरन्तर रहिरहने उल्लेख गरेका थिए ।

राजदूत साइगोले नेपालले तीन तहका निर्वाचन निष्पक्ष र पारदर्शिताका साथ सम्पन्न गइसकेकोले नेपाल आर्थिक तथा सामाजिक विकासतर्फ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले नेपालको विकासका लागि जापान सदैव सहकार्य गर्न तत्पर रहेको भन्दै रक्षा क्षेत्रमा आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारेमा योजना बनाएर छलफल गर्न सकिने बताए ।

(रासस)

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु