गृहपृष्ठ प्रधानमन्त्रीकाे गुनासाे – चाैतर्फी अाक्रमण भयाे, प्रतिरक्षा गर्न सकेनाैं
प्रधानमन्त्रीकाे गुनासाे – चाैतर्फी अाक्रमण भयाे, प्रतिरक्षा गर्न सकेनाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चौतर्फी घेरबान्दीमा पर्दासमेत मन्त्रिपरिषदका सदस्य तथा पार्टीका नेताले सरकारको प्रतिरक्षा गर्न नसकेकोमा असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले कसैको नाम उल्लेख नगरी विभिन्न स्वार्थ समूहको प्रभाव र दवावमा आफूमाथि आक्रमण भएको गुनासो गर्दै प्रतिरक्षापंती कमजोर भएको बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा नेता, कार्यकर्तासँगको सामूहिक भेटमा सरकारको प्रतिरक्षा गर्न नसकेको भन्दै असन्तोष पोखे । सरकारले गरेका राम्रो तथा जनमुखी कामबारे लेख्ने, बोल्ने काम समेत पार्टीभित्रबाट हुन नसकेको ओलीको गुनासो थियो ।
‘सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखि नीति लिएको छ, विस्तारै कामको प्रक्रिया अघि बढ्दै छ,’ ओलीलले भने, ‘तर यीविरुद्ध विपक्षीले गलत प्रचार गरिरहेका छन्, त्यसको प्रतिरक्षा गर्ने पाटीभित्र कोही पनि नभएको जस्तो देखियो ।’ ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाए ।
चार महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधि तत्वले सरकारको विरोध गरिरहेको ओलीको प्रष्टोक्ति थियो । प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
जवाफमा नेता तथा कार्यकर्ताहरुले अनावश्यक विषय निकालेर सरकारप्रति घेरबान्दी भएको बताउदै केही विषयमा प्रधानमन्त्री आफै चुकेको टिप्पणी गरे । आफूलाई सघाउन सक्ने क्षमतावानहरूको समूह बनाउन नसकेको, प्रधानमन्त्रीको गति र सचिवालयमा रहेका उनका सहयोगीहरूको गतिमा मेल नखाएको भन्दै नेता कार्यकर्ताले उनको आलोचना गरे ।
मन्त्रीहरूले निर्णय र कार्यान्वयनमा प्रभावकारिता देखाउन नसकेको, प्रधानमन्त्री र मन्त्री तथा प्रधानमन्त्री र आफ्नै पार्टीका नेताहरूबीच बुझाइमा एकरूपता नदेखिएकोले विपक्षीलाई घेरबाबन्दीको लागि बल मिलेको उनीहरुको टिप्प्णी थियो ।
यही फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको हो । गठनको ५ महिना पुरा पुग्दा नपुग्दै संसद र सडकबाट सरकारविरुद्ध मोर्चाबन्दी तीव्र भएपछि प्रतिरक्षमा उत्रन प्रधानमन्त्रीले जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै विभिन्न विषयमा सरकारविरुद्धका प्रचारले तीव्रता पाएका छन् । डा. गोविन्द केसी र गंगामाया अधिकारीको अनसनको विषयमा मुख्य विपक्षी कांग्रेस सडक आन्दोलनमा छ । चिकित्सा शिक्षा विद्ययेकको विषय देखाएर सदन अवरुद्ध गर्दै आएको कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ । यस्तै ससदको एक सिटे दल नयाँ शक्तिले प्रधानमन्त्री ओलीको राजीनामा मागेको छ ।
देउवा–ओली भेटवार्ता
मंगलबारै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । लगातार सदन अवरुद्ध गर्दै आईरहेको कांग्रेस सभापति देउवा र ओलीविच समसामयिक विषयमा छलफल भयो ।
सभापति देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएकोमा चिन्ता प्रकट गरेका थिए । भेटका क्रममा सभापति देउवाले डा. केसीसँग तत्कालै वार्ता गरेर माग पूरा गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सचेत गराएका थिए ।
त्यसक्रममा सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई नै विधेयकको रुप दिन अग्रह गरेका थिए । उनले आफू नेतृत्वको सरकारले डा. केसीको मागलाई सुनुवाई गरेर माथेमा कार्यदलको प्रतिवेदनका आधारमा जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याए समस्या समाधान हुने सुझाव प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।
प्रकाशित समय २०:१० बजे
















