गृहपृष्ठ विपीले चिनेको कम्युनिस्ट आफूले चिन्न नसकेकोमा देउवाको गुनासो

विपीले चिनेको कम्युनिस्ट आफूले चिन्न नसकेकोमा देउवाको गुनासो

पौडेलको आरोप– शोषक वर्ग जन्माउन कम्युनिस्टनै उद्धत भए

deuba-paudel-newskarobar फाइल तस्बिर

विपी कोइरालाको ३६ स्मृति दिवसको अवसर पारेर आइतबार अाफ्नाे मुख्यालय सानेपामा भेला भएका नेपाली कांग्रेसका नेताहरुले सरकारको आलोचनामा लामो समय खर्चिए । सरकारलाई पटक–पटक अधिनायकवादी हुन खोजेको आरोप लागउँदै उनीहरुले ‘सच्चिन’ चेतावनीसमेत दिए ।

सभापति शेरबहादुर देउवाले त ‘अधिनायकवादका विरुद्ध लढ्न’का लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन नै दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ लागेको उनको मुख्य आरोप थियो ।

विपी स्मृति दिवशको ठीक एक दिन अघि शनिबार नयाँ बानेश्वरमा कांग्रेसको भातृ संगठन र प्रहरीबीच झडप भएको थियो । त्यसलगत्ते कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले सरकारी गाडी तोडफोड गरेका थिए ।

तरुण दलले शनिबार गरेको प्रदर्शन ‘अराजक’ बन्दै गएपछि प्रहरीले रोक्न खोज्दा बानेश्वरमा झडप भएको थियो । सो क्रममा प्रहरीले लाठी चर्ज तथा अश्रु ग्याँस प्रहार गरेको थियो । लगत्तै प्रदर्शनकारीले सरकारी गाडी तोडफोड गरेका थिए ।

शनिबार बानेश्वरमा भएको यो झडपले सरकारविरुद्ध आन्दोलित कांग्रेसलाई थप आक्रोशित बनायो । त्यसैको अभिव्यक्ति सानेपामा नेताहरुको प्रस्तुतीमा पाइन्थ्यो । त्यसोत देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बेलुका बालुवाटारमा पुगेर डा. केसीका माग पूरा गर्न आग्रह गरेका थिए । त्यसका लागि देउवाले त्यसबखत ओलीलाई सुझाएको उपाय हो, कांग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश संसदबाट हुबहू परित गर्नु । सरकारले यो कार्य नगरेमा सदनदेखि सडकसम्म सरकारको प्रतिवाद गर्ने देउवाको चेतावनी थियो ।

आइतबार विपी स्मृति दिवस मनाउन पुगेका देउवाको आक्रोश सनिबार भन्दा कम थिएन । डा. केसीका माग जायज रहेकाले पूरा नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै गर्दा उनको हाउभाउ त्यस्तै देखिन्थ्यो । देउवाले आइतबार पुनः पूरानै अडान दोहोर्याए, चिकित्सा शिक्षा विधेयकमा अध्यादेशका व्यवस्था हुबहू हुनुपर्छ ।

सानेपामा देउवाले कांग्रेसको इतिहास स्मरण गरे । ‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासँग लड्यौ, भोली कम्युनिस्टसँग लड्नु परे लड्छौं,’ देउवाले भने, ‘यही हो विपी कोइरालाप्रतिको श्रद्धाञ्जली ।’ वर्तमान सरकारलाई एकदलीय तानाशाहीको संज्ञा दिँदै सभापति देउवाले त्यसका विरुद्ध एकजुट भएर लड्न कार्यकर्तालाई निर्देशन दिए ।

विपी कोइरालाले कम्युनिस्टलाई पहिल्यै चिने पनि आफूहरु त्यसमा चुकेको बताएका देउवाले अहिले भने चिन्न थालेको बताए । ‘निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुण्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुश गर्न दिदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन्,’ देउवाले भने, ‘सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुदै होइनन् ।’

 

पौडेलको आरोप– शोषक वर्ग जन्माउन कम्युनिस्टनै उद्धत भए
उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकार र नेकपाप्रति कटाक्ष गरे । सरकारले निरंकुश र दमनकारी शैली अपनाएको उनको आरोप थियो । तर, पौडेलले सरकारको दमन धेरै दिन नटिक्ने भन्दै कार्यकर्ताहरुलाई आस्वस्त पारे ।

संविधान लेखनको समयमा ‘समाजवाद उन्मुख’ लेख्न अहिले सरकारमा रहेको दलले देखाएको अग्रसरता सम्झेका पौडलेलले कम्युनिस्टहरुनै समाजवादको नाममा नयाँ शोषक वर्ग जन्माउन उद्धत रहेको टिप्पणी गरे । देउवाले जस्तै पौडेलले पनि निरंकुशता, सर्वसत्तावादी र अधिनायकवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्ने बताए ।

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु