गृहपृष्ठ कांग्रेसको अबको एजेन्डा ‘जोशी प्रकरण’

कांग्रेसको अबको एजेन्डा ‘जोशी प्रकरण’

nepali-congress-www.newskarobar.com

 

एक महिनासम्म डा. गोविन्द केसी प्रकरणलाई मुद्दा बनाएर आन्दोलन गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले अब फेरि दीपकराज जोशी प्रकरणलाई उचाल्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको इच्छामा संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई दुई तिहाईले अस्वीकार गरेपछि कांग्रेसले यो मुद्दा उचाल्ने भएको हो ।

भर्खरै मात्र डा. केसी अनसन प्रकरणमा सडक र सदन संघर्ष गरेको कांग्रेसले अब जोशी मुद्दामा सदनदेखि सडकसम्मै आन्दोलन चर्काउने भएको हो । जोशी प्रकरण अर्को खुराक बनाउँदै कांग्रेस अन्तर्राष्ट्रिय स्तरमै विरोधमा जाने नेताहरुले बताइसकेका छन् ।

सरकार अधिनायकवादी बन्दै गएको आरोप लगाइरहँदा जोशीको नाम अस्वीकृत भएपछि न्यायालयमाथि दुई तिहाइको दम्भ देखाएको रुपमा कांग्रेसले टिप्पणी गर्दै आएको छ ।

डा. गोविन्द केसीको माग सम्बोधन भए पनि सहमति कार्यान्वयन गराउनेलगायतका विभिन्न बुँदामा कांग्रेस अझै आन्दोलनमै छ । बढ्दो महँगी र मूल्यवृद्धि, माइतीघर मण्डलालगायतका स्थानको निषेधित क्षेत्र, संवैधानिक निकायमा एकलौटी, सभामुख र उपसभामुख दुवै आफैंसँग राख्ने सरकारको गतिविधिविरुद्ध कांग्रेस आन्दोलनरत छ ।

जोशीलाई दुई तिहाइ मतबाट प्रधानन्यायाधीश बन्नबाट वञ्चित गराइएपछि कांग्रेसलाई थप मसला भएको विश्लेषकहरु बताउँछन् । संसदीय सुनुवाइ समितिले आफ्नो अधिकार प्रयोग गरी अस्वीकार गरे पनि कांग्रेसले भने दुई तिहाइको दम्भमा न्यायापालिकामाथि प्रभाव जमाउन खोजेको आरोप लगाउँदै ननइस्युलाई इस्यु बनाएको भन्दै धेरैले आलोचना गरेका छन् ।

तर, यस विषयलाई सदुपयोग गर्न कांग्रेसले सरकारको विरोधको माध्यम बनाउँदै अघि बढ्ने नेताहरुले बताइसकेका छन् । यसका लागि पहिलो चरणमा कांग्रेस संसदीय दलको बैठकले सुनुवाइ समितिको निर्णयलाई संघीय संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय गरिसकेको कांग्रेसका मुख्य सचेतक बालकृण खाणले बताए ।

‘सरकारको दुई तिहाइको दम्भको बारेमा आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले जोशी प्रकरणमा भएको संसदीय सुनुवाइ प्रक्रियाप्रति नै गम्भीर प्रश्न उठाउँदै देशदेखि विदेशसम्म ध्यानाकर्षण गराउने निर्णय गरिसकेका छौं,’ उनले भने ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु