गृहपृष्ठ तीन वर्षपछि खुल्यो पाटनको कृष्ण मन्दिर, राष्ट्रपतिले दर्शन गर्ने

तीन वर्षपछि खुल्यो पाटनको कृष्ण मन्दिर, राष्ट्रपतिले दर्शन गर्ने

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् ।

श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाैं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी पाटन पुग्ने गरेका छन् ।

भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, ‘हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’

राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो २.३० बजे पाटन जाने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बिहान २/३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए । बिहानीपखबाट भीड बढ्दै गएको चन्दले बताउनुभयो । एक पटकमा ८/१० जनासम्म दर्शनार्थी्भित्र जाने गरी व्यवस्था मिलाइएको छ । उनले भने, ‘बिहानसम्म एक/दुई घण्टामा फर्कन मिल्ने थियो, भीड बढ्दै जाँदा दर्शन गर्न बढी समय लाग्ला ।’ गाबहालदेखि सुन्धारासम्म सवारी साधन चल्न दिइएको छैन ।

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् ।

मन्दिर पुनःनिर्माणको क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो । यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरुलाई मर्मत गरेर प्रयोगमा ल्याइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् ।

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए । जसलाई कात्तिक नाच पनि भनिन्छ ।

कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ ।
(रासस)

प्रकाशित समय १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु