गृहपृष्ठ छानविन समितिबाट बाहिरिएका केसीले भने : ज्यानको खतरा छ
छानविन समितिबाट बाहिरिएका केसीले भने : ज्यानको खतरा छ
निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको सत्यतथ्य बाहिर ल्याउन गठित समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिँदै आफ्नो हत्या हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
‘शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले,’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, सञ्चार जगत र राजनीतिक दल लगायतलाई मेरो जीवनरक्षाको लागि सहयोग गरिदिन अपिल गर्दछु ।’
गत साउन १० गते कञ्चनपुकी १३ वर्षीय बालिका पन्तको हत्या छानविन गर्न गठित उच्च स्तरिय छानबिन समिति सदस्यको जिम्बेवारि पाएका विरेन्द्र केसीले आफूले यसअघि राजिनामा दिइसकेको समेत बताए । उनले आफूले राजीनामा हुलाकमार्फत पठाएको स्पष्ट पारे ।
कार्यक्रममा पत्रकारहरुलाई वितरण गरिएको पत्रमा उनले लेखेका छन्, ‘म चाहान्थे वास्तविक अपराधी पहिचान गरी न्यायिक कठगराका उभ्याउन प्रति दिन २० घण्टाको दरले छानविन कार्यमा नै तल्लीन रहे अथक प्रयासको परिणामस्वरुप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पुर्यायो ।’
आफूले अनुसन्धानको प्राविधिक पक्ष उठाउँदै त्यसलाई गम्भीरताका साथ प्रस्तुत गरेको भए पनि आफ्ना सुझावलाई उपेक्षा गरिएको उनको गुनासो थियो । ‘डिएनए टेस्टको कम्पोजिसन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समिति समक्ष बारम्बार आफ्नो धारणा राख्दै आएँ,’ उक्त पत्रमा भनिएको छ, ‘मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखि जिम्मेवारीबाट हटेको जानकारी नेपाल सरकार समक्षा पेश गर्न संयोजकमार्फत मिति २०७५ भाद्र १८ गते निवेदन पेश गरेँ ।’
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले पश्चिम नेपाल आन्दोलित भएको थियो भने पूरै मुलुक आक्रोशित बनेको थियो । दोशीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा परी एक जना बालकको मृत्यु भइसकेको छ । यसले घटनालाई थप जटिल बनाएको छ । स्थानीयहरुले घटनाको अनुसन्धानमा लापर्बाही भएको भन्दै पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रकाशित समय १४:०६ बजे