गृहपृष्ठ प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको द्वन्द्व छैन : महेन्द्रबहादुर शाही

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको द्वन्द्व छैन : महेन्द्रबहादुर शाही

संघीय सरकारले नीति, प्रदेशले योजना बनाउने र स्थानीयले सेवा दिने हो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुको कुनै द्वन्द्व नरहेको बताएका छन् । हालै पोखरामा सम्पन्न प्रदेश मन्त्रीहरुको भेलाले केन्द्र सरकारको आलोचना गरिरहँदा उक्त भेलामा स्वास्थ्य समस्याका कारण अनुपस्थित रहेका शाहीले यस्तो बताएका हुन् ।

काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा मुख्यमन्त्री शाहीले आफू कर्णालीलाई कसरी समृद्ध प्रदेश बनाउन सकिन्छ भन्नेमै केन्द्रित रहेकाले अहिलेको समयलाई आरोप प्रत्यारोप गर्ने समयका रुपमा नबुझेको बताए ।

अहिलेको समय आरोप प्रत्यारोप गर्ने नभएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले घुमाउरो पाराले भने, ‘संविधानको बर्खिलापमा कोही पनि जानुहुँदैन ।’ संघीय सरकारले नीति बनाउने, प्रदेश सरकारले योजना बनाउने र स्थानीय सरकारले जनतालाई सेवा दिने मुख्य कार्य भएको उनले बताए ।

उनले प्रदेशको विकास, शान्ति सुरक्षा, विकास, स्वास्थ्य, शिक्षा जस्ता विषयको मुख्य जिम्मेवारी प्रदेश सरकार र मुख्यमन्त्रीको हुने भन्दै संविधानले प्रदेश सरकारलाई दिएको अधिकारमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताए ।

मुलुक लामो समयसम्म संक्रमणकालबाट गुग्रेर फड्को मार्ने सुरमा रहेकाले अब पनि साना तिना कुरामा अल्झिन नहुने उनको भनाई थियो । विगतको तुलनामा सरकार शक्तिशाली रहेको भन्दै शाहीले त्यसको व्यवहारिक रुपान्तरण देखिनुपर्ने बताए ।

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु