गृहपृष्ठ बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : चुनावी नारा, सधैं अधुरा

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : चुनावी नारा, सधैं अधुरा

sammelan-kendra-newskarobar

रुपन्देहीको व्यस्त सहर हो बुटवल । बुटवल सहरदेखि केही मिटरनजिकै रामनगर सामुदायिक वन छ । सोही जग्गामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र त्यसैको आडमा स्थायी प्रकृतिको प्रदर्शनी केन्द्र बनाउने यस क्षेत्रका चुनाव जितेका नेता र हारेकाहरुको पनि मुख्य नारा थियो ।

दुई–दुई पटकसम्म भएको संविधान सभा निर्वाचन र स्थानीय तहको चुनावमा पनि मुख्य नारा थियो– ‘बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरेरै छाड्छौं ।’ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको मुख्य नारा पनि यही थियो– प्रदर्शनी केन्द्र निर्माण ।

उनले चुनाव जितेकै ताका पहिलो संविधानसभाका बेला सम्मेलन केन्द्रको शीलान्याससमेत भयो । सोहीअनुसार अहिले पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यद्यपि, अझै यो सपना पूरा हुन केही वर्ष लाग्ने निश्चित छ ।

बुटवल–१०, रामनगरमा रहेको ‘बुटवल मण्डप’भित्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणाधीन छ । २०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानान्तर चन्द्रसूर्य जेबी कम्पनीले बुटवल सभाहलको ठेक्का सम्झौता गरी काम भइरहेको पहिलो फेजअन्तर्गतको काम अबको करिब चार महिनामा सम्पन्न हुने र दोस्रो चरणको कार्य सुरु हुने बुटवल सभाहल निर्माण एकाइ कार्यालयका प्रमुख शिखर लामा बताउँछन् ।

sammelan-kendra-newskarobar

उनका अनुसार साढे २३ करोडको लागतमा पहिलो फेजको काम अहिले भइरहेको छ । पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, ५०/५० र १ सय १ सय अटाउने अन्य चारवटा हल गरी जम्मा पाँचवटा विभिन्न प्रयोजनका हल निर्माण हुनेछन् ।

कुल ११.०२५ हेक्टर अर्थात् ११ हजार २५० वर्गमिटर क्षेत्रफलमा रहेको स्थानमा कुल ५७.७६ प्रतिशत अर्थात् ६७ हजार ५७७ मिटर क्षेत्रफलमा निर्माण कार्य हुनेछ । सबै निर्माण प्रक्रिया पूरा गर्नका लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजना इकाइ कार्यालयका अनुसार यसभन्दा पहिला भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय बुटवलले आफ्नो मातहतमा कार्य गर्दै आएकोमा आर्थिक वर्ष २०७४/०७५ मा बुटवल सभाहल निर्माण एकाइ कार्यालयको मातहतमा आएको हो । २०७१ मंसिर २८ गते सभाहल निर्माण कार्य सुरु गरिएको थियो । अहिले ६ सय ८० सिटको सभाहल निर्माण कार्य जारी छ, जसमा ५० सिटको मिटिङ हल, भिभिआईपी कक्षलगायतका विभिन्न पूर्वाधार निर्माण हुनेछन् । तल्लो तलामा ६ सय ८० र बालकोनीमा ४ सय ३४ गरी एक हजार १ सय १४ सिटको सभाहल निर्माणाधीन छ ।

त्यस्तै, दोस्रो फेजमा चन्द्रमा आकारको निर्माण प्रक्रिया सुरु भएको छ । ८० करोडको लागतमा निर्माण हुने चन्द्रमा फेजको निर्माण ठेक्का आशिष निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल प्रदर्शनी केन्द्र निर्माण हुनेछ ।

हाल सम्मेलन केन्द्र र प्रदर्शनी स्थलको एकैपटक वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको छ । जसका लागि लुम्बिनी इन्भायरमेन्टल सर्भिसेज प्रालिले वातावरण मूल्यांकनको प्रभाव पहिचान गरी त्यसको मूल्यांकनका आधारमा ईआईएको प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । जसलाई जेठसम्ममा सबै प्रक्रिया पूरा गरी मन्त्रालयमा पेस गरिनेछ ।

sammelan-kendra-newskarobar

प्रतिवेदनमा पाँच सय २५ वटा रुख कटान गर्नुपर्ने उल्लेख छ । लुम्बिनी इन्भायरमेन्टल सर्भिसेजका प्रबन्ध निर्देशक तेजकुमार श्रेष्ठका अनुसार यसअघि काटिएका एक सय २५ र भौतिक संरचना निर्माणका लागि कुल ५ सय २५ गरी कुल ६ सय २५ वटा रुख कटान गर्नुपर्ने अवस्था छ ।

परामर्शदाता लुम्बिनी इन्भायरमेन्टल सर्भिसेजका प्रोजेक्ट डाइरेक्टर अनिश पराजुलीका अनुसार दोस्रो चरणको कार्य सम्पन्न गर्न ८० करोड र पहिलो चरणको ३२ करोड गरी १ अर्ब १२ करोडको लागतमा सभाहल निर्माण हुनेछ । यस्तै छुट्टै प्रदर्शनी केन्द्रका लागि थप ६.४ हेक्टरमा तीनवटा जोन निर्माण गरिनेछ । यसमा चिल्ड्रेन पार्क, पार्किङ, प्रदर्शनी केन्द्रलगायत छन् । बीचमा आठ मिटरको बाटो निर्माण हुनेछ । भिआईपीको लागि छुट्टै द्वार निर्माण हुनेछ भने पार्किङमा ५ सयवटा कार पार्किङ गर्न सकिनेछ । थप ६ सय साना मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ ।

अहिले आएर बल्ल ईआईए
कुनै पनि आयोजना सुरुवात गर्न पहिला वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने प्रावधान छ । तर, बुटवलमा हाल निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पहिलो चरणको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेपछि ईआईए गरिएको छ । लुम्बिनी इन्भायरमेन्टल सर्भिसेजले अहिले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी ईआईए प्रतिवेदन तयार गर्दै छ ।

sammelan-kendra-newskarobar

पहिला नै काटियो रुख
प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गर्नुअघि नै निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थलका एक सय २५ वटा रुख काटिएका छन् । मन्त्रिपरिषदको निर्णयबाट नै पहिला रुख काट्न स्वीकृति दिएर पछि ईआईए प्रतिवेदन पेस गर्न भनिएको बताइएको छ । सबै निर्माण कार्य पूरा गर्दा ६ सय ५० रुख कटान हुनेछन् ।
त्यसका लागि एक रुख कटानबराबर १० वटा बिरुवा राप्न कराहिया सामुदायिक वन र रामनगर सामुदायिक वनमा सम्झौता भइसकेको जनाइएको छ । यसबाहेक निर्माण स्थलमा सौन्दर्यीकरणका लागि विभिन्न बिरुवा रोपिनेछ ।

sammelan-kendra-newskarobar

उद्योगी व्यवसायीमा आशा
हाल बुटवल मण्डपको रुपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण स्थलमा प्रत्येक वर्ष विभिन्न मेला महोत्सव आयोजना गरिँदै आएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र पछिल्लो समयमा आएर एकलौटी रुपमा नै प्रत्येक वर्ष उद्योग व्यापार संगठनले मेला गर्दै आएको छ । मेलाको समयमा निर्माण गरिने सबै जसो संरचना अस्थायी हुन्छन् । अस्थायी स्टेज, पेभिलियन, अस्थायी प्रकृतिको नै अन्य संरचना रहने गरेका छन् । त्यसमा करिब आधा करोड खर्च हुँदै आएको छ ।

प्रत्येक वर्ष पुस र असोजमा दुईवटा मेला आयोजना हुने गर्छन्, कुनै महत्वपूर्ण वा ठूलो कार्यक्रम, कन्र्सट पनि त्यहीँ आयोजना हुन्छन् । जसले गर्दा वर्षमा करिब १ करोड रुपैयाँ अनाहकमा खर्च हुने गरेको छ ।

sammelan-kendra-newskarobar

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल उद्योगी व्यवसायीका लागि खुसीको कुरा भएको बताउँछन् । उद्यपि, समयमै निर्माण पूरा हुनेमा उनीहरु ढुक्क छैनन् । ‘बुटवलमा स्थायी प्रकृतिको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल निर्माण हुनु गौरवको विषय हो, समयमै निर्माण पूरा गर्नुको विकल्प छैन,’ उनले भने । अस्थायी संरचनामा बर्सेनि लाखौं रुपैयाँ खर्च भइरहेका बेला स्थायी संरचना निर्माण भएपछि यो क्षेत्रमा मेला महोत्सव र सभा समारोह गर्नेहरुका लागि सहज हुनेछ ।

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु