गृहपृष्ठ विजय ठाकुर : सैलुनमा २० वर्ष

विजय ठाकुर : सैलुनमा २० वर्ष

खाडी मुलुक गएर दुःख गर्नुभन्दा आफ्नै देशमा केही पेसा व्यावसाय गर्नु राम्रो

saloon-newskarobar

‘कालो कोट लाएर आरामले गर्ने काम नराम्रो हो र ?’ २० वर्षदेखि काठमाडौंमा सैलुन चलाउँदै आएका विजय ठाकुर भन्छन्, ‘कमाइ पनि राम्रै छ, यही व्यवसायले जहान पालेको छु ।’

ठाकुरको घर सप्तरी हो । सानै उमेरदेखि कपाल काट्ने व्यवसायमा सम्लग्न उनी अहिले ५५ वर्षका भए । उनले सैलुन सुरु गरेको २० वर्षे अनुभवमा दिनको ७० जनाका दरले हिसाब गर्दा पनि उनले ५ लाखभन्दा बढीको कपाल काटीसके । तर, यो न्यूनतम हो । ‘दैनिक ६०–७० जनाको कपाल काट्छु,’ उनले भने, ‘उस्तै बेला १५० देखि २०० सम्मको भीड पनि लाग्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएरमात्रै दैनिक १५०० को संख्यामा नेपालीहरु रोजगारीको खोजीमा बिदेसिएका छन् । तर, ठाकुर एउटा यस्तो स्वरोजगारी हुन् जसलाई कामको खोजीमा बिदेसिनु परेन ।

‘कमाई पनि राम्रै छ,’ ठाकुर सन्तोष व्यक्त गर्छन्, ‘यही व्यवसायले कान्छो छोरोलाई काठमाडौंमै बोर्डिङ पढाएको छु, जेठो भारतमा इन्जिनियरिङ पढ्दै छ । परिवारको खर्चबर्च चलाउने पनि यसैले हो ।’ उनका अनुसार जेठो छोरोलाई प्रतिमहिना २० हजार पठाउनुपर्छ ।

ठाकुरको सैलुन काठमाडौंको रातो पुलमा छ । सुरुमा एउटा सैलुन खोलेर व्यवसाय सुरु गरेका ठाकुरका अहिले तीन वटा सैलुन सञ्चालनमा छन् । रातोपुल वारी र पारी उनका सैलुन छन् हरेक सैलुनमा उनले ३÷३ जनलाई रोजगारी पनि दिएका छन् ।

उनीहरुलाई तलब दिएर, सटर भाडा तिरेर र अन्य खर्च कटाएर पनि मासिक ३०÷४० हजार बँच्ने गरेको उनको अनुभव छ । ‘अरु जेसुकै होस्, परिवारसँगै बसेर जसोतसो गुजारा टार्दै छु । यत्ती भएपछि मलाई पुगेको छ,’ ठाकुरले भने, ‘पैसा मात्रै खोज्दै विदेशतिर हिँडेको भए दुई चार पैसा बढी कमाउथेँ होला तर परिवारसँग बस्न पाएको छु । यसैमा सन्तोष लाग्छ ।’

आफ्नो कमाईले काठमाडौंमा राम्रैसँग बस्न सकेकोमा ठाकुर सन्तोष व्यक्त गर्छन् । ‘परिवारसँगै बस्दा चिन्ता पनि हुँदैन, काम गर्न सहयोग पनि मिल्छ, पीर चिन्ता पनि हुँदैन, जाँगर पनि औधी लाग्छ,’ ठाकुर अनुभव सुनाउँछन् ।

समय समयमा कपाल काटेको शुल्कवृद्धि पनि हुँदै आएको छ । ‘केही वर्ष पहिले ८० थियो, अहिले १०० पुगेको छ,’ उनले भने, ‘किरिम, बिलेट सप्पैको भाउ बढेको बढ्यै छ ।’ कोठाको भाडा पनि बढेको छ । ‘यस्तरी सपै सामानको बाउ बढेछि कपाल काटेको पैसो पनी बढ्यो,’ ठाकुरको स्पष्टोक्ति छ ।

उनी कपाल काट्ने, दाह्री काट्ने, फेसियल गर्ने, हेयर स्टेट गर्ने जस्ता सेवाहरु दिँदै आएका छन् । सेवाको प्रकृति अनुसार त्यसको शुल्कमा पनि भिन्नता छ । ‘कपाल काटेको सय रुपैयाँ हो,’ उनले भने, ‘हेयर इस्टेट गरेको पन्ध्र सय पर्छ, फेसियल गरेको १२०० देखि १५०० सम्म पर्छ । यो अलि मुंगो छ ।’

दसैं तथा तिहार जस्ता चाडपर्व मनाए पनि घर जाने नगरेको उनी बताउँछन् । छठ मनाउन भने नियमित रुपमा घर गइरहने उनको भनाई छ । ‘तिहार लगत्तै छठ आउँछ, छठमा जानै पर्याे,’ ठाकुरले भने, ‘काठमाडौंको ठाउँमा धेरै दिन सटर बन्द गर्नु त भएन नी, ग्राहकले के सोच्ला ? घरबेटीले के भन्ला ?’

युवाहरुले कपाल पाल्न थालेपछि व्यापार घटेको उनको अनुभव छ । ‘पैले–पैले मान्छेहरु महिना–महिनामा कपाल काट्नु आउँथे,’ ठाकुरले भने, ‘अहिले दुई महिनामा आउन थाले, लामो–लामो कपाल पाल्ने के चलन आयो आयो ? त्यसले त व्यापार घटाएको छ ।’ उनको अनुभवमा व्यापार घट्नुको अर्काे कारण कपाल काट्ने मेसिन पनि हो । ‘सुरु–सुरुमा मेसिन आउँदा निक्कै खुसी लाग्याथ्यो, कपाल काट्नु सजिलो अनि छिटो भाथ्यो,’ ठाकुरले भने, ‘तेल्ले काट्न सजिलो हुँदो हुने हुँदा ग्राहकले पनि किनेर आफैं काट्न थाले ।’

अहिले सैलुनहरुको संख्या पनि बढेको तथा मेसिनको सहायाताले आँफैले घरमा बसेर दाह्री काट्न सजिलो भएपछि मान्छेहरु कम हुने गरेकाले व्यवसाय पहिलेको तुलनामा राम्रो नभएको उनले बताए ।

सैलुनमै जिन्दगी
ठाकुरले सैलुनमा जवानी बिताए । अझ गाउँमा काटेको समेत हिसाब गर्ने हो भने उनले पूरै जिन्दगी सैलुनमा बित्यो । ‘पहिले गाउँमै कपाल काट्थेँ,’ उनी आफ्ना पुराना दिन सम्झन्छन्, ‘ठूलो भएपछि मात्र सहर पसेको हुँ ।’

पुर्ख्याैली पेसाका ‘फलोअर’
सैलुन व्यवसाय (कपाल काट्ने पेसा) लाई उनी आफ्नो पुर्ख्याैली पेसा मान्छन् । ‘कपाल काट्ने ठाकुरहरुको पुर्ख्याैली पेसा हो,’ उनी दावी गर्छन्, ‘हाम्रा छोरानातीलाई कपाल काट्नु सिकाउनै पर्दैन, तिनेरुले हेर्दा हेर्दै सिक्छन् ।’

अब बूढो भएँ
ठाकुरको जोश ज्यूँ का त्यूँ भए पनि उनका कुरा सुन्दा उनलाई बुढ्यौलीले छोएको गहिरो अनुभूति रहेको बुझ्न सकिन्छ । ‘धेरै गरियो, अरुलाई पनि पालो दिनुपर्छ,’ ठाकुरले भने, ‘अब छोरोलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएर यो काम छाड्ने सुरमा छु ।’

थोरै लगानीबाट सुरु व्यवसाय आजसम्म आइपुग्दा सोचे अनुसारले फस्टायकै मान्छन् उनी । बजारमा अहिले कपाल काट्ने मेसिन आएकाले काम गर्न धेरै सजिलो भएको तर मान्छेहरु कपाल काट्न र दाह्री काट्न कम आउन थालेको उनको अनुभव छ ।

जुनसुकै पेसालाई राम्रोसँग निरन्तर गरिरहे सफलता र सन्तुष्टि मिल्ने उनले बताए । खाडी मुलुक गएर दुःख गर्नुभन्दा आफ्नै देशमा केही पेसा व्यावसाय गर्नु नै राम्रो हुने उनको अनुभव छ ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु