गृहपृष्ठ गौतमबुद्ध विमानस्थल निर्माणमा गति, व्यवसायमा लगानी थपिँदै

गौतमबुद्ध विमानस्थल निर्माणमा गति, व्यवसायमा लगानी थपिँदै

पर्यटकीय दृष्टिले कायापलट हुने अपेक्षा

बुद्धभूमि लुम्बिनी । लुम्बिनीबाट जम्मा २१ किलोमिटर दूरीमा भैरहवा । भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको नाम पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धावनमार्ग पक्की (कालेपत्रे) गर्र्ने कार्यको सुरुवात गरे ।

रुपन्देहीका लागि मात्रै नभएर प्रदेश नम्बर ५ कै गहनाको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना हो, अन्तर्राष्ट्रिय विमानस्थल । तर, गौरवको आयोजना भए पनि सोहीअनुरुप निर्माणले गति लिन नसक्दा विगतमा स्थानीय बासिन्दा निराश देखिन्थे । तर, कालोपत्रे सुरु भएपछि उनीहरुमा आशा बढेको छ ।

लुम्बिनीमा सिधै अन्तर्राष्ट्रिय पर्यटक
विमानस्थलनजिकै विश्व सम्पदा सूचीमा परेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ । लुम्बिनी आउने लाखौं विदेशी पर्यटक अहिले काठमाडौंको ट्रान्जिट हुँदै भैरहवा आउने गर्छन् । विमानस्थल बनेपछि लुम्बिनी आउने पर्यटक काठमाडौंमा ओलर्नुपर्ने छैन ।

खासगरी पर्यटकीय दृष्टिले कायापलट हुने अपेक्षा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पटक–पटक अवरोध भोग्दै पुनः निर्माणको गतिमा छ । कामले केही गति लिएको छ ।

धावनमार्ग कालेपत्रे कार्य सुरु गर्दै मन्त्री अधिकारीले ६ महिनाभित्र धावनमार्ग पक्की भइसक्ने बताए । चिनियाँ टोलीले चार महिनाभित्रै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको मन्त्री अधिकारीको दाबी छ । यद्यपि, धावन मार्ग पूरा गर्न एक बर्ष लाग्ने बताइएको छ । कालोपत्रे प्रयोजनका लागि एउटा असफाल्ट मेसिन पहिलेदेखि नै छ भने थप एउटा स्थापना भइरहेकाले कामले तीव्रता लिने आश गरिएको हो ।

अहिले विमानस्थालमा मुख्य रन वे र ट्याक्सी मार्ग जोड्ने काम भइरहेको छ । हाल सञ्चालनमा रहेको रन वेलाई पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ दुई सय मिटर बढाएर त्यसलाई ट्याक्सी वे का रूपमा प्रयोग गरिनेछ । ट्याक्सी वेको कुल लम्बाइ १ हजार ९ सय मिटर हुनेछ ।
पाँचवटा विमान पार्किङ गर्न मिल्ने गरी पार्किङ एरियाको काम सम्पन्न भइसकेको छ । अब थप नौवटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ क्षेत्र र सोहीअनुसारको टर्मिनल भवन विस्तार गरिनेछ । यसैगरी विमानस्थल सञ्चालनका लागि र आवश्यक उपकरण जडान लगायत कार्यका लागि ठेक्का प्रक्रिया (आईसीबी–२) पनि सुरु भएको छ ।

विमानस्थल निर्माण कार्य र उपकरण जडानलगायतका काम सँगै गरिने हँुदा तोकिएको अवधिमै विमानास्थल सञ्चालनको सम्भावना छ । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ । यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो । प्राधिकरणले चिनियाँ कम्पनीसँग आईसिबी–१ का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो । यसैगरी, आइसिबी–२ अन्तर्गत प्राधिकरणले ७.२५७ मिलियन रकम छुट्याएको थियो । जसका लागि अहिले पहिलोपटक टेन्डर आह्वान गरेको हो ।

आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ । यसैगरी, ओएफआईडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ ।

व्यवसायी उत्साहित
रुपन्देहीमा अन्तर्राष्ट्रिय निमानस्थल निर्माणले तीव्रता पाएपछि व्यवसायी पनि उत्साहित भएका छन् । उनीहरुले होटल तथा रेस्टुराँ क्षेत्रमा लगानी बढाएका छन् । भैरहवा क्षेत्रको पुरानो व्यवसायीको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने लगानी बढ्नु गौरवको विषय भएको बताउँछन् । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन यसको निर्माण कार्यमा ढिलाइ गर्न नहुने उनले बताए । ‘यो क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले ठूलो महत्व राख्नेछ,’ उनले भने ।

यस्तै, बुटवलको उद्योगी व्यवसायीको जेठो संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले पनि अविलम्ब विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताउँछन् । विभिन्न समयमा विभिन्न बहानमा विमानस्थाल निर्माणमा अवरोध भएकोबाट पाठ सिक्दै अब काम सम्पन्न गरेरमात्र विश्राम लिनुपर्ने अवस्था आएको बताए ।

विमानस्थाल निर्माणपछि खासगरी लुम्बिनी भ्रमणमा आउने पाहुनालाई मात्रै राम्रो सेवा सत्कार गर्न सके पनि यो क्षेत्रको आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आउने उनको भनाइ छ । ‘आर्थिक क्षेत्र चलयामान गराउनका लागि भैरहवा रहेको विशेष आर्थिक क्षेत्र सेज र प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र पनि अविलम्ब निर्माण गरी सञ्चालन गर्नुपर्छ,’ व्यवसायी हमालले भने ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु