गृहपृष्ठ अर्थतन्त्रमा चुनौती : बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक

अर्थतन्त्रमा चुनौती : बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक

नेपालको बाह्य क्षेत्रसँगको कारोबार अर्थात विदेशी मुद्रामा हुने कारोबार चालू आर्थिक वर्षको सुरुदेखि नै खस्कँदै गएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र खस्कँदै गएको देखाएको हो । विदेशबाट नेपालले आर्जन गर्ने आयको तुलनामा विदेशमा हुने खर्च बढी हुँदा बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक देखिएका हुन् ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म व्यापार घाटा र सेवा आय बढेको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात ८ प्रतिशतले बढेर १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । तर, निर्यात ३८ दशमलव ५ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव ६ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव २ प्रतिशतले बढी हो ।

खुद्रा ट्रान्सफर र विदेशी लगानी आप्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ । पर्यटन, आय र निर्यातको स्थिति उत्साहजनक छैन । विप्रेषण भने उच्चदरमा बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ० दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ दशमलव २ प्रतिशतले बढेको थियो । यद्यपि, अन्य सूचक नकारात्मक हुँदा चालू खाता घाटा अकासिएको छ ।

सेवा आय घाटामा
समीक्षा अवधिमा खुद सेवा आयसमेत घाटामा गएको छ । समीक्षा अवधिमा कुल सेवा आयमा २६ दशमलव ९ प्रतिशत र कूल सेवा खर्च ३५ दशमलव ८ प्रतिशतले बढेकाले खुद सेवा आय ११ अर्ब २ करोड रुपैयाँले घाटामा गएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ७० करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत पर्यटन आय भने बढेको छ । समीक्षा अवधिमा १२ दशमलव ९ प्रतिशतले बढेर ९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ दशमलव २ प्रतिशतले बढेको थियो ।

साढे ३५ अर्ब घाटामा चालू खाता
शोधनान्तरको चालू खाता दुई आर्थिक वर्षयता नेपालको विपक्षमा रहँदै आएको छ । चालू आर्थिक वर्ष लागेपछि प्रत्येक महिना यस्तो घाटा क्रमिक रूपमा बढ्दै गएको देखिन्छ । वस्तु आयातमा भएको उच्च वृद्धिका कारण चालू खाता घाटा ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रुपैयाँ थियो । अर्थात् अघिल्लो वर्षको दुई महिनाको तुलनामा १५ अर्ब ८२ करोड रुपैयाँ बढी घाटा भएको छ ।

घट्यो विदेशी लगानी
सरकारले विदेशी लगानीका लागि अनुकुल वातावरण बनेको दाबी गरिरहँदा विदेशबाट सहयोग र लगानी भने घट्दै गएको देखिएको छ । भदौ मसान्तसम्ममा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड रुपैयाँ हुँदा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रुपैयाँ थियो ।

विप्रेषणमा उच्च वृद्धि
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषणको वृद्धि भने उच्च देखिएको छ । अर्थतन्त्रको समग्र बाह्य क्षेत्र कमजोर हुँदा विप्रेषण आय भने ३३ दशमलव ४ प्रतिशतले बढेको छ । एकातिर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गएको छ । तर पनि नेपालको विप्रेषण आय भने उच्चदरमा बढेको हो ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । तर, विप्रेषण आय भने ३३ दशमलव ४ प्रतिशतले बढेको छ । साउन र भदौ महिनामा नेपालमा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । डलरको भाउ बढेसँगै रेमिट्यान्स आय बढेको हो ।

डलरको तुलनामा नेपाली मुद्रा कमजोर
दुई महिनाभित्र नेपाली रुपैयाँ अमेरिकी डलरसँग साढे ४ प्रतिशतले अवमूल्यन भएको छ । ‘वनिमय दर २०७५ असार मसान्तको तुलनामा २०७५ भदौ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.६ प्रतिशतले अवमूल्यन भएको छ ।’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो ।’

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु