गृहपृष्ठ कुकुर पाल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुस्
कुकुर पाल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुस्
सहरमा सोखले पालिन्छ
चाबहिल गौरिघाटका नविन बुढाथोकी ५ बर्षयता कुकुर पाल्दै आएका छन् । विभिन्न व्यवासायमा संग्लग्न बुढाथोकीले सुरक्षा र कोही नभएको समयमा घर कुर्ने भएकाले कुकुर पालेका हुन् । छिमेकीले पालेको देखेर कुकुर पाल्न रहर जागेपछि उनले कुकुर पालेका हुन् । यस्तै बालाजुका राजनीतिकर्मी प्रदीप राणाले पनि जर्मन सेफर्ड जातको कुकुर पालेका छन् । ‘कुकुर पाल्ने सोख पहिलेदेखि नै थियो, घरको सुरक्षा गर्ने भएकाले पनि कुकुर पालेको हुँ’ उनले भने ।

गाउँघरतिर सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । सहरमा भने सुरक्षा र बढी सोखले कुकुर पाल्ने चलन बढ्दो छ । नेपालमा २०४८ देखि व्यवसायिक रुपमा कुकुर पाल्न थालिएको हो । १५ बर्ष यता उपत्यकामा कुकुर पाल्नेको संख्या बढेको व्यापारी बताउँछन् । १० बर्षदेखि कुकुरको व्यापार गरिरहेका चावहिलका कृष्ण गौतमका अनुसार सहरमा सुरक्षा भन्दा सोखले कुकुर पाल्ने धेरै छन् ।
काठमाडौं उपत्यकामा करिब दर्जन बढी जातका कुकुरहरु बिक्री हुने गरेको छ । सेन्ट वर्नाट, गोल्डन रिटिभर, ककर ल्यापे, पग, जर्मन सेफर्ड, बक्सर, ल्याब्रा डोर, ककर स्पाइनल र जापानी स्पिज जातका कुकुर बढी बिक्री हुने व्यसायी गौतम बताउछन् । त्यसमध्ये सुरक्षाका लागि जर्मन सेफर्ड धेरै रुचाइन्छ । अरु जातका कुकुर सोखका लागि पाल्ने गरिन्छ । सबभन्दा बढी बिक्री हुने जर्मन सेफर्ड १५ देखि २० हजार रुपैयाँमा पर्छ । कुकुरलाई बिहान बिस्कुट त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाउनुपर्ने कुकुर पाल्नेहरु बताउँछन् ।

अन्य घरपालुवा जनावरभन्दा कुुकुरको स्वभाव मानिससँग खेल्ने भएकाले पनि कुकुर पाल्नमा मानिसको धेरै रुची हुने व्यपारी गौतम बताउँछन् । उनी भन्छन्, ‘कुकुर २४ सै घन्टा घरमा हुने हुँदा मान्छे घरमा नियमित आउने व्यक्ति र नयाँ व्यक्ति पहिचान गर्छ, भुक्ने शैलीले आफन्त वा चोर आएको हो भन्ने सजिलै जानकारी गराउँछ ।’
कुकरसंँग कस्तो व्यवहार गर्ने ?
सोखले कुकर पाल्नेहरु बाहिरबाट काम सकेर घरमा आएपछि कुकुरसँग खेल्दा मानिस आफ्नो दिनभरिको थकाइ मेटिएको महसुश गर्छन् । कुकुर खानेकुरा सँगसँगै मानिससँग खेल्न रुचाउँछ । शहर बजारमा प्राय कुकुरलाई आफ्नो साथीका रुपमा बढी लिने गरिन्छ । मनासिसँग आफ्नो प्रतिकृया बुझ्ने जनवार भएकाले कुकुरसँग सकारात्मक व्यवहार गर्नुपर्ने मनोविद्हरु बताउँछन् । कुकुरको स्वभाव मान्छेसँग चल्ने, झुन्डिने, टोकेको जस्तो गर्ने, पुच्छर हल्लाएर प्रतिक्रिया दिने गर्दछ । बाहिरबाट मानिस आएपछि कुकुरले पुच्छर हल्लाएर स्वागत गरेपछि आफूले पनि कुकुरलाई त्यस्तै व्यवहार गरेमा खुसी हुन्छ ।

कुकुरमा आत्मनिर्भर बन्दै
डेढ दशकअघि भारत, चीन र थाइल्यान्डबाट कुकुर आयात गरिन्थ्यो । तर, अहिले नेपालमै कुकुरका बच्चा उत्पादान केन्द्र खुलेका छन् । विदेशबाट ल्याउन सम्भव नभएकाले नेपालमा ती जातका भाले र पोथी ल्याएर बच्चा उत्पादन थालिएको हो । अहिले माग भएका मध्ये करिब २० प्रतिशत मात्र कुकुर बाहिरबाट आयात हुँदै आएको छ । ती कुकुर भारत र थाइल्यान्डबाट आयात गरिदै गरिने गरेको छ ।

विदेशबाट ल्याएको कुकुर यहाँको वातावरणमा मिल्न गाह्रो हुने भएकाले स्वदेशमै जन्मिएका कुकुर पाल्नुपर्ने विज्ञहरु बताउँछन् । नेपालमा उत्पादन गरेका विदेशी कुकुर यहाँको हावापानी अनुसार घुलमिल हुने तर, बाहिरबाट ल्याएको कुकुरलाई गाह्रो हुने व्यवसायी बताउँछन् । महंगो मुल्य तिरेर ल्याउँदा जोगाउन कठिन हुने भएकाले नेपालमै उत्पाद थालिएको उनीहरुको भनाइ छ ।

धनाड्यले पाल्छन् १० लाखको कुकुर
काठमाडौै उपत्यकामा १५ देखि ५० हजार रुपैयाँसम्म मु्ल्य पर्ने कुकुर धेरै पाल्ने गरिन्छ । नेपालमा कुकुरको मूल्य पाँच हजारदेखि दुई लाखसम्म पर्छ । केही ठूला नेता, व्ययापारी र धनाड्य परिवारले १० लाख मुल्य पर्ने कुकुर पनि पालेका छन् । बुलडग, साइबेरिया हस्की, नेपोलियन म्यास्ट्रिफ र अमेरिकन बुलीलाई जातका कुकुरको मूल्य बढी पर्छ ।
कुकुर पाल्ने मान्छे बढी खुशी
स्वीडनमा गरिएको एक अध्यनले कुकुर पाल्ने मान्छेहरुमा हृदय रोग वा अरु कारणले हुनसक्ने मृत्युको खतरा कम हुने पत्ता लागेको छ । ३४ लाख मानिसमा गरिएको अध्ययनबाट यो तथ्य पुष्टि भएको हो । ती मध्ये ४० देखि ८० वर्षसम्म कुकुर पालेका व्यक्तिहरुमा हृदय रोगको खतरा कम रहेको देखिएको छ । कुकुर पाल्दा मानिसको शारीरीक गतिविधि धेरै हुने धएकाले हृदय रोग कम हुने गरेको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार ‘शारीरीक काममा धेरै सक्रिय हुने कुकुर पाल्न मन पराउँछन् । कुकुर पाल्ने मानिसहरुमा सामाजिक सम्पर्क बढ्ने र उनीहरु खुसी हुने भएकाले रोगबाट बच्नुका साथै आयु समेत लामो हुने अनुसन्धानबाट खुलेको छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १२:२५ बजे

















