गृहपृष्ठ मैले ल्याएको गणतन्त्र
मैले ल्याएको गणतन्त्र
संघसंस्थाले घाउमात्र बल्झाउँछन्
महेन्द्र बिष्ट र वसन्ता बिष्ट
जीवनमा कतिपय निर्णय बहकाउमा गरिन्छन् त कतिपय सोचविचार गरेर । सोचविचार गरेरै गरिएका निर्णयले त कहिलेकाहीँ ‘दुर्घटना’मा पार्छ भने बहकाउका निर्णयको झन् के भर हुन्थ्यो र ! गन्तव्यमा पुगिन्छ भन्ने ।
वर्गीय उत्थानका लागि भन्दै ज्यानकै आहुति दिन तत्पर तत्कालीन माओवादीको योद्धाहरुमध्येकै एक हुन्, दिलमाया बुढामगर । तर, १० वर्षे सशस्त्र युद्धका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएकी बुढामगरले सोचेको परिवर्तन कहिल्यै आएन ।
दैलेखको नौमुले गाउँपालिका–३ की बुढामगर मुलुक नै परिवर्तन गर्ने जोशका साथ २०५९ सालमा माओवादी युद्धमा होमिइन् । त्यतिखेर उनको उमेर १५ वर्षको मात्र थियो । तर, मुलुक परिवर्तन गर्न किशोरावस्थामै हतियार उठाएकी बूढामगरको सुरक्षाकर्मीसँगको युद्धका क्रममा टाउकाको बायाँ भागमा गोली लाग्यो । त्यसपछि उनको दाहिने हातखुट्टा चल्दैनन् । ‘बुटवल र कपिलबस्तुको बीचमा पर्ने सुनवल भन्ने ठाउँमा गण्डक अभियानका क्रममा मलाई गोली लागेको हो,’ उनले भनिन्, ‘गोली लागे पनि मैले अभियान छाडिनँ ।’

गोली लागेपछि पार्टीले उनको उपचार भारत लगेर गर्यो । तर, उनी अपांगता भइन् । अभियानमा सहभागी हुँदा उनको विवाह भइसकेको थियो । ‘श्रीमान रमेश रिजाल एक महिनाअघि सहिद हुनुभयो, म एक महिनापछि घाइते भएर अपांग भएँ,’ उनले भनिन् ।
उनको घर काँसीकौध गाउँपालिका डाँडीमाडीमा भए पनि उनी माइतिमै बस्छिन् । पेसा–व्यवसाय केही छैन । भए पनि गर्न सक्दिनन् । सेना समायोजनाका बेला पाँच लाख रुपैयाँ पाइन् । तर, त्यो उपचारमै सकियो । ‘सक्षम हुँदा पार्टीका लागि लडेँ,’ उनले गर्वसाथ भनिन्, ‘म देश र जनताका लागि दशवर्षे द्वन्द्वको अभियानमा हिँडेकी हुँ । द्वन्द्वकै कारण अपांग भएकी छु तर मलाई कुनै पछुुतो छैन । हामीले हातखुट्टा गुमाएर नेपाली जनताको मुुहारमा खुसी ल्याएका छौं । देशमा आएको परिवर्तन हाम्रै कारण हो ।’
जीवनलाई पछाडि फर्केर हेर्दा अनौठो लाग्छ । कुनै चलचित्रको कथाजस्तो लाग्छ । तर, बेचैन खासै छैन उनमा । जम्मा ४ कक्षा पढेकी छन् । ‘मलाई जबर्जस्ती माओवादीमा प्रवेश गराइएको होइन,’ उनले सिद्धान्तका कुरा गरिन्, ‘समाजवाद आउला र सम्पूर्ण नेपालीले सुख पाउलान् भनेर माओवादी अभियानमा जोडिएकी हुँ ।’
उनलाई दुःख लाग्ने एउटै कारण छ– त्यो हो समाजवाद । वर्गीय उत्थानका लागि समाजवादको अपेक्षासहित माओवादी युद्धमा होमिएकी बूढामगरलाई युद्ध सकिएको डेढ दशक बित्दा पनि समाजवाद आएको जस्तो लाग्दैन । ‘अभैm समाजवाद आएको जस्तो महसुस भएको छैन,’ उनी भन्छिन्, ‘त्यसमा चाहिँ कहिलेकाहीँ पछुतो पनि लाग्छ, समाजवादकै लागि म जस्ता थुप्रै अपांग भएका छन्, मुलुकमा गणतन्त्र आउनमा हाम्रो ठूलो योगदान छ भन्ने लाग्छ तर मूल्यांकन नभएको जस्तो महसुस हुन्छ ।’
राज्यले योगदानको कदर गरोस् नगरोस् उनलाई मतलव छैन । मतलव छ त केवल बिहान–बेलुकाको हातमुख जोर्ने । ‘आफ्नै कारण नेताहरुले थुप्रै पाए तर हामी बिहान–बेलुकीको गाँसबासमै रुमलिन बाध्य छौं,’ उनले भावुक हुँदै भनिन्, ‘राज्यसँग त्यति ठूलो अपेक्षा त छैन, तर कम्तीमा मेरो उपचार गरिदेयोस् र बाँचुञ्जेल गाँसबास र कपासको व्यवस्था गरिदियोस् भन्ने अपेक्षा छ ।’
०००
द्वन्द्वका क्रममा धेरै योद्धा सहाराविहीन बनेका छन् । तर, तिनको लेखाजोखा माओवादीसँग छैन । महेन्द्र विष्ट पार्टीको नाम । खास नाम मकरबहादुर बिष्ट । चौकुने गाउँपालिका–१०, सुर्खेत हो घर तर उनी वीरेन्द्र नगरपालिकामा बस्छन् ।
२०५२/५३ सालताका गाउँमा बस्ने अवस्था थिएन । उनले त्यतिबेला एसएलसी पास गर्न सकेका थिएनन् र कक्षा ९ दोहार्याउँदै थिए । त्यसैबेला माओवादी युद्ध सुरु भयो । उनले दायाँ बायाँ सोचेनन् । सिधै ‘जनमुक्ति सेना’मा प्रवेश गरे ।
उनलाई देशमा परिवर्तन आफ्नै कारणले आएको हो भन्न कुनै कञ्जुस्याइँ गर्नुपर्दैन । ‘गणगन्त्र आएकै हाम्रै कारणले हो, नयाँ संविधान बनेकै हाम्रै कारणले हो,’ उनले बडो गर्वसाथ भने, ‘यसमा मेरो ठूलो योगदान छ । समावेशी प्रजातन्त्रको आएकै दशवर्षे जनयुद्धका कारण हो भन्ने मैले ठानेको छु ।’
चौकुनेमा २०२८ सालमा जन्मिएका बिष्ट २०५५ सालदेखि माओवादी युद्धमा होमिए र २०६३ सालमा सेना समायोजन भएपछि निस्किए । युद्धमा परिवारबाट उनी एक्लै थिएनन् । बृहत् शान्ति सम्झौता भइसकेपछि क्याम्पिङ भएको थियो । उनको घरबाट पाँचजना थिए । ‘म, मेरी श्रीमती, दाइ, भाउजू र जेठो दाइको छोरी, हामी एउटै घरका पाँचजना माओवादी अभियानमा सहभागी थियौं,’ उनले भने, ‘अभियानकै क्रममा म, मेरी श्रीमती र दाइ घाइते भएका छौं ।’
सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २०६० सालमा उनले हात गुमाएका छन् । त्यसबेला पार्टीले उनको उपचार गरिदियो । उनलाई हात गुमे पनि कुनै गुनासो छैन । भन्छन्, ‘राजनीतिमा लागेपछि के गर्व हुँदो रहेछ भने परिवर्तन त हाम्रै कारण आएको हो नि !’
वर्षौंदेखि अपांग जीवन बिताइरहेका बिष्टले प्रत्यक्षतः केही पनि पाउन सकेका छैनन् । ‘पार्टीले धेरै सहयोग गरेको पनि थियो,’ उनी भन्छन्, ‘तर दीर्घकालीन रुपमा केही भएन भन्ने अलिकति गुनासो छ ।’ उनकी श्रीमती पनि युद्धमै घाइते भएकाले दुवै जना काम गर्न सक्दैनन् । लोकतन्त्रलाई जीवित राख्न सबै सरोकारवाला पक्ष गम्भीर भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ ।
उनका दाइ नरबहादुर बिष्ट पूर्वसांसद हुन् । भाउजू पुष्पा घर्ती हाल कर्णाली प्रदेश सभाको उपसभामुख छिन् ।
०००
वसन्ता विष्ट । महेन्द्र विष्टकी श्रीमती । कालिकोटको कालिका गाउँपालिकास्थित अजबहादुर शाहीकी छोरी हुन् । पढेकी छैनन् । पाँच छोराछोरीमध्ये उनीमात्र २०५९ सालमा माओवादी युद्धमा लागिन् । ‘महिलालाई घरको चुलोचौकोमा सीमित पार्नु हुँदैन भनेर म यसैलाई परिवर्तन गर्ने उद्देश्यले अभियानमा हिँडेको हु,’ उनले गर्वसाथ भन्छिन्, ‘छोरीले पनि छोरासरह अधिकार पाउनुपर्छ भनेर अभियानमा हिँडेको हुं । म कत्ति निराश छैन, हामी यो अभियानमा नहिँडेको भए, नेपाली महिलाको अवस्था पहिलाको जस्तै हुन्थ्यो ।’
रुकुमको खारामा भएको लडाइँमा परी २०६१ उनी घाइते भइन् । २०६३ सालमा जनवादी विवाह गरिन् । २०६८ सालमा प्रमाणीकरणका क्रममा पाँच लाख लिइन् । ‘महिनाको ६२ सय पाएकी छु राज्यबाट,’ उनले भनिन्, ‘पैसाको लागि हिँडेको होइन, देश र जनताको लागि हिँडेको हो तर अपांग भएपछि पैसाको पनि आवश्यकता पर्दो रहेछ ।’ राज्यले दिएको ६२ सयबाहेक अरु आयस्रोत छैन । गर्न पनि सक्दिनन् ।
उनलाई जीवनलाई फर्किएर हेर्दा कुनै अपसोच छैन । बरु, राज्यले द्वन्द्वपीडितका लागि केही सोचेकोमा भने दिक्क लाग्छ । ‘कुनै संघ–संस्थाले कार्यक्रम गर्छन्, हाम्रो घाउमात्रै बल्झाउँछन्,’ उनी भन्छिन्, ‘हामी तल्लो स्तरमा लड्यौं, ठूला नेताहरु आरामको जिन्दगी बिताइरहेका छन् । नेपाल आर्मी र प्रहरीको व्यवस्था पनि राम्रो छ तर जनयुद्धका घाइतेलाई कुनै सेवा सुविधा छैन ।’
राज्यले योगदानको मूल्यांकन गर्ने हो भने उनीहरु सन्तुष्ट हुन्छन् । ‘हाम्रो परिपूरण हुनुपर्छ, औषधि उपचारको व्यवस्था हुनुपर्छ, गाँसबास र कपासको व्यवस्था हुनुपर्छ, हाम्रा छोराछोरीलाई पूर्णरुपमा शिक्षा दिनुपर्छ, ताकि हामीलाई कुनै पनि बेला युद्धमा होमिएको सम्झिएर पछुतो नलागोस् ।’
प्रकाशित समय १५:२७ बजे

















