गृहपृष्ठ कर्णाली विकासका तीन खम्बा : पर्यटन, जलस्रोत र जडिबुटी

कर्णाली विकासका तीन खम्बा : पर्यटन, जलस्रोत र जडिबुटी

प्रदेशका सम्भावना चिन्दै गएका छौं : मन्त्री बुढा

karnali-main-photo-newskarobar

कर्णाली प्रदेश भनेपछि धेरैले नाक खुम्च्याउँछन् । विकटताले भरिएको कर्णालीमा अन्य प्रदेशको तुलनामा विकासको कमी छ । शिक्षा, स्वास्थ्य तथा विद्युत् र यातायातसमेत धेरै क्षेत्रमा पुगेको छैन । महिला सशक्तीकरणले पनि कर्णालीलाई पर्याप्त छोएको छैन । मानव विकास सूचकांक र साक्षरता दरमा पनि कर्णालीले ठूलै प्रगति गर्नुपर्नेछ ।

कर्णालीलाई विभिन्न प्रकृतिका कु–प्रथा तथा कु–संस्कारले पनि गाँजेको छ । बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय छुवाछूत र लैंगिक विभेद यसका उदाहरण हुन्, जसलाई चिर्ने ‘नयाँ युगको सुरुवात’ गर्नका लागि कर्णालीले धेरै मेहनत गर्नुपर्नेछ ।

यी विविध पक्षका कारण पछाडि परेको (पारिएको ?) कर्णालीसँग सम्भावनाको भण्डार छ । त्यस आधारमा कर्णाली त्यस्तो भूगोल हो, जसमा जहीँतहीँ खाँदिएर सम्भावनाको भण्डार रहेको छ । खाँचो छ त त्यसलाई चिन्न र व्यवहारमा प्रयोग गर्न । सदियौंदेखि ‘केन्द्रको उपेक्षामा परेको’ बताउने कर्णालीका राजनीतिज्ञका लागि कर्णाली प्रदेश एउटा त्यस्तो चुनौती हो, जसलाई उनीहरुले समृद्धिको मार्गमा हिँडाउन सक्नुपर्छ ।

प्रदेश सरकारले भनेझैँ कर्णालीमा वास्तवमै विकासको मूल फुटाउने हो भने ती सम्भावनाको पहिचान जरुरी छ । कर्णालीमा थुप्रै सम्भावना छन् । आज हामी त्यसमध्ये पर्यटन, जलस्रोत र जडिबुटीका बारेमा चर्चा गर्नेछौं ।

पर्यटन
प्राकृतिक सुन्दरताको अभावमा देशका केही स्थानमा भ्यू–टावर, बगैँचा जस्ता पर्यटकीय स्थल निर्माण गरिएको छ । तर, कर्णालीको कथा फरक छ । विकासको पछौटेपनका कारण विकट बने पनि कर्णालीमा ‘प्राकृतिक भ्यू–टावर’ तथा मनमोहक प्राकृतिक छटा खाँदिएर रहेका छन् । कर्णालीमा यस्ता अनेकौं प्राकृतिक पर्यटकीय गन्तव्य छन् ।

surkhet-newskarobar

प्रदेशका १० वटै जिल्ला सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट र रुकुममा कुनै न कुनै प्रख्यात पर्यटकीय गन्तव्य छन् । यी सबै पर्यटकीय गन्तव्य प्राकृतिक हुन् मानव निर्मित होइनन् । त्यसैले कतिपयले भन्ने गरेको ‘कर्णाली स्वर्गको टुक्रा हो’ भन्ने वाक्वांश वास्तवमै सत्य प्रतीत हुन्छ ।

कर्णालीको राजधानी सुर्खेतमै बहुचर्चित बुलबुल ताल, काँक्रेविहार, देउतीबज्यै, बराहताल, अँधेरेगुफा, गोठीकाँडा, सिद्धपाइलालगायत थुप्रै पर्यटकीय स्थल छन् । प्रदेशको राजधानीमा मात्र घुम्नलायक थुप्रै स्थल छन् ।

bulbul-tal-newskarobar

त्यसैगरी दैलेखमा ज्वाला, श्रीस्थान, नाविस्थल जस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य छन् । कर्णालीकै कालीकोट पनि पचाल झरना, पञ्च देवलजस्ता अति नै मनमोहक पर्यटकीय गन्तव्यले भरिएको छ । जुम्लालाई पनि तातोपानी, नेपाली भाषाको उद्गम स्थल सिंजालगायतका थुप्रै स्थल वरदान स्वरुप प्राप्त छन् ।

मुगुमा रहेको नेपालकै सर्वाधिक ठूलो र स्वर्गकी अप्सरा संज्ञा पाएको रारातालले स्वदेशीमात्र होइन, विदेशी पर्यटकलाई समेत मोहित बनाउँछ । सल्यानमा कुपिण्डे दह, कछुवा ताल, खैरावाङ मन्दिर, छत्रेश्वरी मन्दिर र लक्ष्मीपुर शक्तिपिठ जाजरकोटमा जाजरकोट दरबार, हुम्लामा खार्पुनाथ मन्दिर, लिनी भ्याली, रलिङ गुम्बा, डोल्पामा सेफोक्सुण्डो ताललगायतका थुप्रै पर्यटकीय स्थल छन् ।

यी लगायत कर्णालीका १० जिल्लामा पहिचान हुन नसकेका अझै धेरै पर्यटकीय स्थलसमेत रहेको वृद्धवृद्धा बताउँछन् । यी स्थललाई पर्यटन हबको रुपमा विकास गर्नसके औषधि नपाएर मृत्युवरण गर्नुपर्ने कर्णालीको दरिद्रता हट्नेमा दुई मत छैन ।

जाग्दैछ कर्णाली
पर्यटनमार्फत कर्णालीको समृद्धि सम्भव छ भन्ने निष्कर्षमा पुगेको प्रदेश सरकारले पर्यटकीय गन्तव्यको प्रचार–प्रसार र प्रवर्धनमा ध्यान दिन थालेको देखिन्छ । पर्यटकीय गन्तव्यहरुमा विभिन्न कार्यक्रम आयोजना तथा गत वैशाख १ गते मुगुको रारातालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा भएको छ । यी कुराले प्रदेश सरकार पर्यटन प्रवर्धनमा कम्मर कसेर लागेको बुझ्न सकिन्छ ।

rara-newskarobar

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा कर्णालीलाई पर्यटकीय हव बनाउने दिशामा प्रदेश सरकार अग्रसर भएको बताउँछन् । ‘हामीले कर्णालीलाई पर्यटनमा देशभरकै नमुना प्रदेश बनाउन बजेट छुट्याएका छौं,’ उनी भन्छन्, ‘प्रदेशका विभिन्न जिल्लाका प्रख्यात पर्यटकीय स्थलमा मेला तथा महोत्सव आयोजना गर्दै आएका छौं ।’

मन्त्रालयले कुल बजेटको ५२ प्रतिशत पर्यटनतर्फ छुट्याएको मन्त्री बुढाले जानकारी दिए । यसले कर्णालीको पर्यटकीय विकासमा ठूलो भूमिका खेल्ने उनको दाबी छ ।

जलस्रोत
कर्णाली प्रदेश जलस्रोतका हिसाबले पनि उत्तिकै समृद्ध छ । कर्णाली र भेरी नदीबाट मात्र विद्युत् उत्पादन गर्ने हो भने कर्णालीलाई उज्यालो बनाउनेमात्र होइन, प्रशस्त आम्दानी पनि गर्न सकिन्छ ।

विद्युत विकास विभागको तथ्यांकअनुसार करिब १८ हजार (१७,७९९) मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता कर्णाली प्रदेशसँग मात्रै छ । विद्युत् उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ । तर, हाल यो प्रदेशबाट साढे ३ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ, जुन कुल उत्पादन क्षमताको ०.०२ प्रतिशतमात्रै हो । तर, ढिलै भए पनि कर्णालीमा जलविद्युत् आयोजनाका काम अघि बढ्न थालेका छन् ।

nalagad-newskarobar

हाल करिब ४२०० मेगावाटभन्दा बढीका १० वटा आयोजना सर्वेक्षणको चरणमा रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए । जलविद्युत् उत्पादन कम्पनी र निजी क्षेत्रले आयोजना सर्वेक्षणको कार्य अगाडि बढाएका हुन् ।

कर्णालीको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो, माथिल्लो कर्णाली । नौ सय मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि भारतीय निर्माण कम्पनी जीएमआरले जिम्मा लिएको छ । तर, पटक–पटक म्याद थप गर्दा पनि निर्माणको काम भने सम्पन्न हुन सकेको छैन ।

त्यसैगरी, ४८ मेगावाट क्षमताको भेरी–बबई डाइभर्सनले कामलाई तीव्रता दिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । यसको निर्माण कार्य चिनियाँ कम्पनीले गर्दैछ ।

त्यस्तै बेतन–कर्णाली (६८८ मेगावाट), फुकोट कर्णाली (४२६ मेगावाट), तिला–१ (३०० मेगावाट), तिला–२ (२९७ मेगावाट), नलगाड (४१० मेगावाट), जगदुल्ला (३०७ मेगावाट), भेरी–१ (६१७ मेगावाट) र भेरी–४ (३०० मेगावाट) पनि सर्वेक्षण र निर्माणको तयारीमा छन् ।

भेरी र कर्णाली दुई ठूला नदीयुक्त कर्णालीलाई समृद्ध बनाउन प्रदेश सरकार नीति कार्यक्रमसहित दृढ अठोटका साथ अघि बढेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् । कर्णालीमा जलविद्युतमात्र होइन, जल पर्यटनको पनि प्रचुर सम्भावना रहेकोमा मुख्यमन्त्री शाही विश्वस्त छन् । कर्णाली र भेरी नदी त्यसका लागि वरदान भएको शाहीले बताए ।

जडिबुटी
सम्भावनै–सम्भावनाले भरिएको कर्णालीमा जडिबुटी, वन, जलस्रोत, कृषि तथा पर्यटनमात्रै होइन, अन्य थुप्रै सम्भावना छन् । त्यसमा पनि अन्य प्रदेशका तुलनामा जडिबुटीको त खानी नै हो कर्णाली ।

कर्णालीका हिमाली जिल्ला विशेषगरी डोल्पाका जनताको मुख्य आर्थिक पाटो जडिबुटी नै हो । यार्सागुम्बा, पाँचऔंले, जटामसी, घोडमर्च, तितेपाती, पाखनवेदलगायत ८२ प्रकारका बहुमूल्य जडिबुटी कर्णालीमा पाइन्छन् ।

rukum-newskarobar

जडिबुटीको विकासका लागि सरकार पनि कम्मर कसेर लागेको छ । त्यसका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा हाइटेक नर्सरी स्थापना गरी बहुमूल्य जडिबुटीका बिरुवा उत्पादन गर्ने र किसानलाई वितरण गर्ने तयारी गरेको प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बुढाले बताए ।

सरकारले जडिबुटी प्रशोधन केन्द्रको स्थापनाका लागि सुर्खेतमा भवन निर्माण गर्न लागेको मन्त्री बुढाले जानकारी दिए । ‘कर्णाली प्रदेशका सम्भावनालाई हामीहरुले चिन्दै गएका छौं,’ उनले भने, ‘जडिबुटी र पर्यटनलाई व्यवस्थित बनाउन सकारले बजेट विनियोजन गरिसकेको छ ।’ कर्णालीको विकासका लागि जनतासमेत उत्साहित रहेको मन्त्री बुढाले बताए ।

पर्यटन, कृषि, जलस्रोत, जडिबुटीलगायतका थुप्रै सम्भावना छन् कर्णालीमा । त्यसो त प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानी भित्र्याउने प्रयास पनि जारी राखेको छ ।

kakre-bihar-newskarobar

कर्णाली जति अविकसित छ, त्योभन्दा सयौं गुणा बढी सम्भावनाले भरिएको छ । सम्भावनालाई समयमै चिनेर माटो सुहाउँदो नीति, जन अपेक्षाअनुसारको विकास र सोही अनुसारको कार्यान्वयन भएमा कर्णाली देशकै नमुना र धनी प्रदेश बन्न सक्छ ।

(तस्बिरहरु : कर्णाली प्रदेश पोर्टल)

प्रकाशित समय ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु