गृहपृष्ठ झिलिमिली सहरको धिपधिपे बत्ती

झिलिमिली सहरको धिपधिपे बत्ती

‘सिक्स लेन’ सडकमा दुई करोड लगानी, दुई वर्षमा खरानी

solar-newskarobar

बुटवलदेखि भारतीय सीमा नाका सिद्धार्थनगर बेलहिया सम्म ६ लेनको सडक निर्माणाधीन छ । अहिले निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । अबको तीन महिनामा कुल २७ किलोमिटर सडक पूरा गर्ने लक्ष्य बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले लिएको छ ।

बुटवलमा निर्माण सम्पन्न भएको सडकको सुन्दरतामा हुर्कदैँ गरेका विरुवाहरुले थप सुन्दरता थपेका छन् । तर सडकमा जडान गरिएका सोलार बत्तीको कारण भने झिलिमिली सडक हेर्ने चाहना भने अधुरै हुने देखिन्छ । ति सोलार बत्तीले रातिको समयमा सडकलाई झिलिमिली बनाउन सक्ने हो भने त्यसको छुट्टै महत्व हुनेमा दुईमत नहोला ।

solar-newskarobar

डेढ वर्षमै यो हाल
बुटवल–बेलहिया ‘सिक्स लेन’को सडकमा सडक बत्ती जडान गरिएको धेरै समय भएको छैन । करिब डेढ बर्ष अघि जडान गरिएको भए पनि अहिले बल्न छाडेका सडक बत्तीको संख्या लगभग आधा छ । डेढ वर्षअघि १ सय ५० सौर्य बत्ती उक्त सडकमा जडान गरिएको थियो । ती मध्ये आधाजसो बल्न छाडिसकेका छन् ।

केही मात्रै बत्ती बल्छन् । ती मध्ये पनि पर्याप्त उज्यालो दिने भने कमै छन् । बलेका बत्तीहरु पनि केही बेर बल्छन् र छिनभरमै ‘झ्याप्पै’ निभिहाल्छन् । बुटबल–बेलहिया सडकमा जडान गरिएका सौर्य बत्तीहरु अहिले धिपधिपे उज्यालो दिने जुनकिरी जस्तै भएका छन् ।

solar-newskarobar

स्थानीय भन्छन्– दुई करोड स्वाहा !
६ लेनको सडकमा दुई करोड खर्चिएर सडक बत्ती जडान गर्न थालेपछि स्थानीयहरु रातको समयमा पनि सडक झिलिमिली हुने भयो भनेर दंग थिए । तर, जडान भएको डेढ वर्ष पुग्दा नपुग्दै बत्तीहरु धिपधिपे बन्न थालेपछि भने उनीहरुले गुनासो गर्न थालेका छन् । दुई करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि देखाउनका लागि मात्रै बत्ती जडान गरिएको स्थानीयको गुनासो छ ।

एक छिनका लागि बल्ने र झ्याप्पै निभिहाल्ने भएपछि सडक बत्ती ‘भालुको कन्पट’ जस्तै भएको बुटवल कालिकानगरमा विवेक न्यौपाने बताउँछन् । बत्ती त छ, तर छ कि छैन रातको समयमा थाहा नहुने गरी बिग्रिएको उनको भनाइ छ ।

 

अब बिजुली बत्ती

yogendra adhakri eng, btl-bhw roadसडक विस्तार अयोजनाका इन्जिनियर योगेन्द्र अधिकारी पनि सौर्य बत्ती योजना सफल हुन नसकेको स्वीकार्छन् । सडक बत्तीले जुनकिरी जस्तै मधुरो उज्यालो दिने गरेको भन्दै योजना सफल हुन नसकेको उनको स्वीकारोक्ति छ ।

सौर्य बत्ती सफल नभएपछि बिजुली बत्ती जोड्ने योजना रहेको उनले बताए । ‘सौर्य बत्ती यो सडकका लागि सफल नहुने देखियो,’ सडक विस्तार आयोजनाका इन्जिनियर अधिकारीले भने, ‘अब सोलारको सट्टामा बिजुली बत्ती जोड्न योजना छ ।’

इन्जिनियर अधिकारी एउटा पोलमा दायाँ र बायाँ गरी दुईवटा बल्ब राखिएकाले समस्या आएको हुनसक्ने बताउँछन् । एउटा पोलमा दुई वटा बत्ती राखिएकाले समस्या देखिएको बताएका अधिकारीले भने, ‘एउटा पोलमा एउटा मात्र बल्ब राखिएको भए टिकाउ हुनेथियो कि ?’

सौर्य सडक बत्ती धमाधम बिग्रन थालेपछि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी विद्युतीय बत्ती जडान गर्ने तयारीमा सडक विस्तार आयोजना पुगेको छ । सौर्य सडक बत्ती आयोजना प्राविधिक रुपमा असफल भएपछि आयोजना नयाँ सोचका साथ अघि बढ्न खोजेको इन्जिनियर अधिकारीले बताए ।

‘बुटवल मात्र होइन काठमाडौंमा जडान गरिएका बत्ती पनि बिग्रिएको सुनेका छौं,’ उनले भने, ‘अब हामी नयाँ सोचका साथ अगाडि बढ्छौं ।’ त्यसको विकल्पका रुपमा विद्युत प्राधिकरणसँगको सहकार्यमा विजुली बत्ती जडान गर्ने योजना रहेको उनले सुनाए । ‘विद्युत प्राधिकरणसँग सहकार्य गरेर अबका क्षेत्रमा विद्युतीय बत्ती जडान गर्ने अवस्थामा पुगियो,’ इन्जिनियर अधिकारीले भने ।

solar-newskarobar
स्वचालित सडक बत्ती
उक्त सडकमा जडान गरिएका सोलार बत्ती स्वचालित हुन् । अँध्यारो हुँदै गएपछि आँफै बल्छन् भने उज्यालो हुँदै गएपछि आँफै निभ्न थाल्छन् । यस्तै प्रकृतिको सडक बत्ती अहिले बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म पनि जडान गरिएको छ ।

सडकको डिभाइडरसँगै राखिएका सोलार बत्ती ३५ मिटरको दुरीमा छन् । तर २० मिटरको दुरीमा हुनुपर्ने जानकारहरु बताउँछन् । बत्ती राखिएका दूरीका कारण सुरुदेखि नै पर्याप्त उज्यालो त थिएन नै अहिले बिग्रन थालेपछि भने झन् समस्या देखिएको छ ।

दुई वर्षको ज्ञारेन्टी रहेका बत्ती बिग्रन थालेपछि कम्पनीले एक पटक सबै बल्बहरु फेरिसकेको बताएको छ । तर पुनः समस्या दोहोरिरहेको छ । जडान गरिएका सबै बत्तीहरु भारतीय कम्पनीका हुन् ।

के भन्छन् ठेकेदार ?
नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले दुई वर्षअघि दुई करोड रूपैयाँ लागतमा सडक बत्ती जडान गरेको थियो । जडान गरिएका बत्ती विग्रन थालेपछि ठेकेदार कम्पनीका प्रमुख मनोज खनाल एउटा पोलमा दुई वटा बत्ती राखिएपछि समस्या देखिएको बताउँछन् ।

‘सडकअनुसार राखेको भए हुने हो,’ महेश निर्माण सेवा प्रालिका प्रमुख मनोज खनाल भन्छन्, ‘हामीलाई दुईवटा लाइटवाला जडान गर्ने भनेर ठेक्का भयो । हामीले त्यहीअुनसार ६०/६० वाटका बत्ती जडान गरेका हौं ।’

solar-newskarobar
सरकारको लक्ष्य : व्यापारिक मार्ग
बुटवलको चौराहादेखि भैरहवाको बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गका रूपमा आधुनिक र फराकिलो बनाउने कार्य गरिरहेको छ । यो सडकमा पनि बुटवल बजार क्षेत्र (चौराहा–गोलपार्क) सम्मको सडकमा सौर्य बत्ती जडान गरिएको छ । जसमा विज्ञापन राख्ने योजनासमेत अघि बढाइएको छ ।

यो सडकमा एपेक्स एडभर्टाइजमेन्ट सोलार बत्ती राखेको छ । ‘उज्यालो शहर अभियान’अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन सडक बत्ती जडान गरेको हो । एपेक्स एडभर्टाइजमेन्टले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरेको छ । सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्डसमेत राखेको छ ।

suman shresth eng butwal sub mtreo
सुमन श्रेष्ठ

सडक बत्तीसँगै व्यावसायिक विज्ञापन राखेबापत एपेक्सले बुटवल उपमहानगरपालिकालाई वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर बुझाउने उपमहानगरपालिकाका योजना अधिकृत सुमन श्रेष्ठले बताए । व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक, मणिग्राम, रुपन्देही सिद्धार्थ राजमार्गको सुरु विन्दु वेलहियादेखि बुटवल चौराहासम्मको २४ किमी सडकखण्डलाई ६ लेनमा निर्माण गर्ने गरी २०६९ असारमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।

सुरुमा आयोजनाको कार्यक्षेत्र २४ किलोमिटर भए पनि २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किलोमिटर थप भई २७.५० किलोमिटर कायम भएको छ ।

जसमध्ये १८ किमी सडक कालोपत्रे भइसकेको छ भने ५.२५ किमी सडक २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । सडकको केही भाग निर्माण भइसक्ने र केही भाग निर्माण हुन बाँकी रहेकाले एकातर्फ बनेको सडक भत्कीसक्यो भने अर्कातर्फको सडक भने अझै धुलाम्य छ । निर्माण सम्पन्न हुने मिति थप्दै आएको कार्यालयले अन्तिम पटक २०७५ चैत्रसम्म निमार्र्ण सक्ने दावी गरेको छ ।

उज्यालो नगर बुटवल !
बुटवल उपमहानगरले ‘उज्यालो नगर’ घोषणका लागि विद्युत् विस्तारमा तीव्रता दिएको छ । उपमहानगरमा गाभिएका तत्कालीन सेमलार र मोतिपुर गाविसका भित्री बस्तीहरुमा विद्युतको पहुँच पुगेको थिएन । गत आर्थिक वर्षदेखि ती बस्तीमा उपमहानगरपालिकाले विद्युत् विस्तार सुरु गरेको छ । अहिले नगरभित्र रहेका घरमा विद्युत् र चोकमा सडक बत्ती राख्ने योजनासहित काम भइरहेको छ ।

बुटवललाई स्मार्ट नगरका रूपमा विकास गर्ने योजना बनाएको बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा उज्यालो नगर घोषणा गर्न लागेको हो । ‘हामीले विद्युत विस्तारसँगै सोलार बत्ती जडानको काम जारी राखेका छौं,’ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले न्युज कारोबारसँग भने । कतिपय स्थानमा विद्युत् भए पनि कम भोल्टेजका कारण सुविधा बढी नपाएको भन्दै उनले हाई भोल्टेज सहितको विद्युत उपलब्ध गराउने गरी काम भइरहेको जानकारी दिए ।

उपमहानगरपालिकाले उज्यालो सहरका लागि चालु आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ । जसअनुसार विद्युत् प्राधिकरणको सहकार्यमा समेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायतका क्षेत्रमा चार हजार मिटर लाइन विस्तार गरिएको छ । ती क्षेत्रमा कम विद्युत् भोल्टेजको समस्या समाधानका लागि नगरपालिकाले विद्युत् विस्तार गरेको जनाएको छ ।

त्यसका लागि आठ स्थानमा ट्रान्सफर्मर जडान भएका छन् । उज्यालो शहर अभियानअन्तर्गत बुटवल उपमहानगरका विभिन्न स्थानमा १ सय ५५ वटा सौर्य बत्तीसमेत जडान गरिएको छ । ‘सबै घरमा विद्युत पुर्याएर उपमहानगरलाई टुकीमुक्त बनाउने अभियानमा छौं’, उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने ।

उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत मुख्य राजमार्गका विभिन्न नौ स्थानमा सोलार बत्ती जडित प्रतिक्षालयसमेत निर्माण गरेको छ । सडकमा ६ वटा ट्राफिक आइल्यान्ड बनेका छन् भने राजमार्ग चौराहदेखि पुष्पलाल पार्क हुँदै तिनाउ पुलसम्मको मुख्य सडकमा सय सोलार बत्ती जडान गरिएको छ । चालु आवमा गोलपार्कसम्म उक्त सोलार बत्ती राखिनेछन् । यी सोलारबाट नगरपालिकालाई आम्दानी र उज्यालो दुवै हुने बताइएको छ ।

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु