गृहपृष्ठ बैंकिङ बजारका ‘साहित्यकार’ सीईओ

बैंकिङ बजारका ‘साहित्यकार’ सीईओ

साहित्य र पत्रकारिता सपना

देवेन्द्र प्रताप शाह एक कुशल बैंकर हुन् । तर, उनको अर्को परिचय पनि छ– साहित्यकार । उनी जति बैंकर्स भनेर परिचित छन् देप्रशा (साहित्यीक नाम) साहित्य जगतमा उत्तिकै चर्चित छ । उनले इच्छाएको विधा साहित्य नै हो । उनले वि.सं. २०३९ सालमै कथा संग्रह ‘अपरिचित देश’लाई मौलिक कृतिका रुपमा आम पाठकमाझ पस्किएका थिए । २०४५ सालमा संयुक्त उपन्यास ‘अवतार विघटन’ ल्याए । त्यसपछि उनले फुटकर, अनुवादित र सम्पादित कृतिहरु पनि पस्किए । अहिले पनि उनी विभिन्न पत्रपत्रिकामा साहित्यीक रचनाहरुमार्फत पाठकमाझ छाइरहेका छन् ।

धादिङको मैदीमा विक्रम सम्बत २००९ सालमा जन्मिएका देवेन्द्र प्रतापको पढाइ पनि बैंकिङ, व्यवस्थापनसँग सम्बन्धित छ । उनले एमकम, बीएल र सीए गरेका छन् । जीवनमा पत्रकार वा सहित्यकार बन्ने सपना देखेका शाह कसरी बैंकर बन्न पुगे ? एउटा व्यस्त बैंकरको भागदौडबाट उनी साहित्यमा पनि कसरी सल्बलाउन सके ? बैंकिङ बजारका उनै ‘साहित्यकार’ सीईओसँग गरिएकाे कुराकानीका आधारमा उनको साहित्य र बैंकिङ करिअरबारे यहाँ उल्लेख गरिएको छ ।

आफ्नो सपनाले पूर्णता नपाउँदा धेरै मानिसहरु हतोत्साहित हुन्छन्, जीवनबाट हार खान्छन् र बाँकी जीवनलाई निराशाको जन्जिरमै बिताउँछन् । तर, कतिपय मानिस हारे पनि प्रयास गरिरहन्छन् । किनकि, यो संसारमा प्रयास र अभ्यास नै त्यस्तो शक्ति हो, जसले एकदिन जितको रेखा टेकाएरै छाड्छ ।

देवेन्द्र प्रताव शाह साहित्यकार बन्न चाहान्थे, उनको परिवार उनलाई सफल बैंकर्स वा पैसा कमाउने जागिरे बनाउन चाहान्थ्यो । देवेन्द्र प्रतापले आफ्नो परिवारको चाहानालाई प्राथमिकतामा राखे तर आफ्ना सपनालाई मर्न दिएनन् । फलस्वरुप परिवारको चाहाना अनुसार उनी एक सफल बैंकर्स बने भने उनको सपनाले उनलाई साहित्यकार बनायो ।

तर, उनले बैंकिङ क्षेत्रमा जति उचाइ लिन सफल भए त्यति उचाइ साहित्य क्षेत्रमा लिन सकेका छैनन् । किनकि, बैंकिङ जागिर नै यस्तो पेसा हो, जहाँ हर एक मिनेटको ज्यादै महत्व हुन्छ । त्यसैले उनले साहित्यलाई पर्याप्त समय दिन सकेका छैनन् । तथापि, आफ्नै सपना भएकाले देवेन्द्र प्रतापले साहित्यीक कलम बिर्सिएका छैनन् । त्यसैले थोरै समय निकाले भए पनि पोतिरहेका छन्, डायरीका खाली पानामा सहित्यका मसिहरु ।

बाल्यकाल
धादिङमा जन्मिएका उनको बाल्यकाल सहज रहेन । आफ्ना अभिभावकसँगै रहेर जीवनका कखरा सिक्ने, उनीहरुको सामीप्यतामा रहेर हासखेल गरेर बिताउनुपर्ने बाल्यकालमा उनले पितावियोग खेप्नुपर्यो । समकालीनहरु बुबाको काँध र ढाडमा चढेर रमाइलो बाल्यकाल बिताइरहँदा शाहले चाहिँ बुबालाई दागबत्ती दिनुपर्यो ।

त्यसबेला नेपालमा सडकहरुको विकास नभएका कारण धादिङबाट काठमाडौँ आउन ४ दिनको पैदल यात्रा तय गर्नुपथ्र्यो । उनका बुबा लालजंग शाह त्यतिबेला बेला शाही नेपाली सेनाको मेजर थिए, आमा एक असल गृहिणी । ५ दाजुभाईमध्ये तेश्रो भाई शाहले बुबा मेजर भएका र मध्यम वर्गीय परिवार भए पनि राज खानदानसँग निकट भएकाले कखरा सिक्न घरकै वातावरण पर्याप्त भयो । कक्षा १ देखिको उनको पढाई चाहिँ काठमाडौँको धोबिचौरस्थित एक स्कूलबाट सुरु भयो । त्यसबेला उनको परिवार पक्नाजोलमा बस्थ्यो । उक्त स्कूलमा ६ कक्षासम्म पढे, त्यसपछि कक्षा ७ को पढाई काठमाडौँकै जेपी हाइस्कूलबाट भयो । उनको ७ कक्षा सुरु नहुँदै बुबाको देहान्त भएको थियो ।

पढाइ
दाजुहरुको सहयोगमा देवेन्द्र प्रतापले धोबिचौरस्थित स्कुलबाटै २०२३ सालमा सेकन्ड डिभिजनमा एसएलसी उतीर्ण गरे । आमाले पनि छोराहरुको पढाईका लागि कम दुःख गरिनन् । आफू अशिक्षित भए पनि गाउँमै बसेर शाहकी आमाले छोराहरुलाई उचित शिक्षादिक्षाका लागि भरथेग गर्ने अभिभारा पूरा गरिन् । देवेन्द्रप्रताप र उनका भाईहरुको पढाईको सम्पूर्ण अभिभारा जेठा विष्णप्रताप शाह र माइला दाई सुरेन्द्रप्रताप शाहले पूरा गरे ।

सानैदेखि साहित्यमा उनको रुची थियो । शहरको रेसमा साहित्यप्रतिको झुकाव उस्तै रहे पनि वास्तविकता त्योभन्दा अलि पर पुग्यो । किनकि, एउटा साहित्यकार भएरै मात्र जिउन गार्हो थियो । जिउनका लागि यहाँ रेस जित्नुपर्छ । उनका अभिभावकले पनि उनलाई यो कुरा सम्झाउँथे । त्यही रेस जित्ने क्रममा उनले साहित्यभन्दा फरक विधामा आफ्नो सुरु गरे । त्यतिबेलासम्म उनले बैंकर्स बन्छु भन्ने सोचेका थिएनन् । सबैले वाणिज्य शास्त्र पढेको देखेर उनी महेन्द्ररत्न पब्लिक कलेजमा आइकम भर्ना भए । स्नातक पनि सोही विषयमा त्रिचन्द्र कलेजबाट गरे । स्नातकोत्तर पनि व्यवस्थापनबाटै गरेपछि उनले सन् १९८६ मा भारतबाट चार्टर एकाउण्टेसीको पढाई पूरा गरेका हुन् ।

बैंकिङ करियर
विक्रम सम्बत २०२९ सालमा उनी कृषि विकास बैंकमा सेक्सन अफिसरको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । त्यतिबेला यो पदका कर्मचारीको जागिर मासिक ५५० रुपैयाँ थियो । उक्त समयमा यो रकम निकै ठूलो मानिन्थ्यो । बैंकको सेवा सुविधाप्रति उनी आकर्षित भए । झण्डै ३० वर्ष उनले कृषि विकास बैंकमा बिताए । त्यसपछि उनी बीमा कम्पनीहरुको नियामक बीमा समितिमा डेढ वर्ष काम गरे र उनी नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।

नेपाल बैंकमा आएपछि उनी आफूलाई एक सफल बैंकर्स तथा कुशल व्यवस्थापकको रुपमा स्थापित गराउन सफल भएका छन् । किनकि, केही वर्षअघिसम्म ‘रोगी’ भनेर चिनिएको नेपाल बैंकलाई उनले स्वस्थ बनाइदिएका छन् । त्यसअघि उनले कृषि विकास बैंकको जीएम तथा बीमा समितिको अध्यक्ष बनेर समेत काम गरेका थिए जहाँ उनले एक सफल व्यवस्थापक परिचय बनाएका थिए ।

साहित्य र देवेन्द्र प्रताप
देवेन्द्र प्रताप शाह एक लेखक तथा साहित्यकार पनि हुन् । साहित्य उनको सपना हो । शाह भन्छन्, ‘बैंकिङ क्षेत्रबाट रिटायर भएपछि साहित्यमा नै सक्रिय हुनेछु ।’ बैंकरको रुपमा काम गरिरहँदा पनि उनलाई आफ्नो सपनाले पछ्याउन छाडेको छैन । यद्यपि, अहिले पनि उनी साहित्यबाट धेरै टाढा भने छैनन् । उनको भाषामा पर्याप्त समय साहित्यलाई दिन नसकेका मात्रै हुन् । एउटा व्यस्त जीवन जिइरहँदा पनि उनले केही कृतिहरु भने पस्किसकेका छन् । उनले बैंकसँग सम्बन्धित केही फिक्सन र नन फिक्सन पुस्तकहरु लेखेका छन् भने एउटा कथा संग्रह साझा प्रकाशनबाट प्रकाशित छ । शाह भन्छन्– ‘मेरो रुची साहित्य हो, म कथा लेखक पनि हुँ । मलाई फुर्सद मिल्नेबित्तिकै म लेख्ने र पढ्ने गर्दछु ।’ उनले बैंकरको अनुभूतिसम्बन्धी एउटा किताब पनि लेखेका छन् ।

पत्रकारिताको सपना
आफू बैंकिङ क्षेत्रमा नआएको भए, साहित्य र पत्रकारिता क्षेत्रमा जाने इच्छा रहेको उनले सुनाए । पत्रकारितामा जाँदा साहित्यमा प्रभावशाली हुने विश्वासले उनी पत्रकार बन्न चाहान्थे ।

सफलताको अनुभूति
कृषि विकास बैंकमा ३० वर्ष काम गर्ने क्रममा भोगेको एउटा स्मरणीय अनुभव उनले यसरी सुनाए– ‘कृषि विकास बैंक गतिशिल र सामान्य वर्गका मानिससँग जोडिने बैंकको रुपमा छ । कृषि विकास बैंक सिधै गरीब मानिसहरुसँग जाने बैंक भएकाले जनतालाई उधारो सहयोग गर्ने बैंकको रुपमा पनि परिचित छ । यो बैंककोे ऋण उत्पादनमुखि क्षेत्रमा बढी जाने गर्दछ । म त्यहाँ काम गर्दा धेरै गरिबको मुखमा हाँसो पनि दिलाउन पाएँ, हेर्दा हेर्दै उनीहरुको जिवनस्तर उकासिएको पनि देख्न पाईयो । बच्चाबच्ची स्कुलमा पढाउन नसकेकालाई पनि स्कूलमा पठाउन सफल भइयो । यो सबै कुरा सम्झिदा रमाईलो अनुभूति हुन्छ ।’

भविष्यका योजना
आफ्ना भविष्यका योजनाबारे शाहले भने–‘मेरो व्यक्तिगत जीवनमा यो बैंकबाट अवकास प्राप्त गरेपछि पनि साहित्यमानै समय दिनेछु । किनकी मेरो विधा नै साहित्य र दर्शन हो । मेरो सिद्धान्त जसो तसो जनतालाई सेवा गर्ने हो । यसको मतलव म राजनीतिमा जाने होइन । मेरो जागिर नभएको भए लेख्ने र पढ्ने काममा व्यस्त हुने थिएँ । म पढ्नमा भोको भएकाले आफैमा गुनासो छ । घरमा सबैखालका किताबहरु छन्, फुर्सद नभएकाले पढ्न पाएको छैन । यो मेरा आफैप्रति गुनासो छ । त्यसैले भविष्यमा साहित्यलाई निरन्तरता दिने छु ।’

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु