गृहपृष्ठ प्रदेश-१ : राजधानीका सम्बन्धमा अझै विमति
प्रदेश-१ : राजधानीका सम्बन्धमा अझै विमति
आइतबार सुरू भएको हिउँदे अधिवेसनले नाम र राजधानी टुंग्याउँने
प्रदेश- १ को प्रदेशसभाको हिउँदे अधिवेसन आईतबारदेखि सुरु भएको छ । यो अधिवेसनमा प्रदेशको स्थायी राजधानी र नामको निर्क्यौल गर्ने लक्ष्य छ । जसका कारण यो विषयले प्रदेश तातेको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरण वर्षे अधिवेसनबाट टुंगो नलागी अन्त्य भएपछि केही समय सेलाएको यो विषय अब पेचिलो बनेको छ । हिउँदे अधिवेसन सुरु भएसँगै प्रदेशको स्थायी राजधानी आफ्नो शहरमा हुनुपर्ने प्रदेशका विभिन्न शहरका जनताले माग र दावी गर्दै आएका छन् ।
प्रदेशको स्थायी राजधानीका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको चर्चा हुँदै आएको छ । ति शहरका जनताले भौगोलिक बनावट, विकासका पूर्वाधार, प्रयाप्त संरचना लगायतका कारण आफ्नै शहरमा राजधानी हुनुपर्ने माग गर्दै आएका छन् । नामाकरणका सन्दर्भमा राजधानी जस्तो पेचिलो बनिनसकेको भए पनि विस्तारै यो विषयले पनि महत्व पाउने कतिपयको अनुमान छ । अहिले भने राजधानीको विषयले प्रदेश तातेको छ ।
धनकुटा र सामरिक महत्व
धनकुटाका नागरिक अगुवाहरुले सामरिक मत्वत्वको दृष्टिले धनकुटा नै स्थायी राजधानीका लागि उपयुक्त भएको बताएका छन् । उनीहरुले धनकुटा प्रशासनिक केन्द्रको मूल थलोका रूपमा वि.सं. १८४० देखि राज्यले लगानी र विकास गरेकाले यसको छुट्टै महत्व रहेको तर्क गर्दै आएका छन् ।

त्यसैले प्रदेश १ को राजधानी धनकुटा बाहेक अन्यत्र राजधानी राखिनु न्यायोति नहुने उनीहरूको तर्क छ । धनकुटा-७ का जनार्दधन घिमिरे प्रदेशको विकास समान रूपमा गर्ने भए राजधानीका लागि धनकुटाभन्दा उपयुक्त विकल्प नभएको बताउँछन् । ‘राजधानीको अन्त विकल्प खोज्नुपर्छ जस्तो मलाई लाग्दैन, म धनकुटावासी भएर मात्र भनेको होइन, खासगरी सामरिक महत्व तथा प्राकृतिक हिसाबले पनि राजधानीका लागि धनकुटा भन्दा अर्को उत्तम विकल्प छैन,’ घिमिरे भन्छन् ।
सबै स्थानको बेग्लै विकल्प हुने भन्दै केन्द्रका रूपमा धनकुटा नै उपयुक्त हुने उनको तर्क छ । ‘कुनै ठाउँ फलफूलका लागि होला, कुनै ठाउँ व्यापारिक केन्द्रका लागि होला कुनै ठाउँ कृषिका निम्ती होला, कुनै ठाउँ स्वास्थ्यको हब हुन सक्ला, कुनैठाउँ प्रशासनिक हब हुन सक्ला, कुनै ठाउँ पर्यटकीय दृष्टिकोणले हुन सक्ला यो हिसाबले धनकुटामा राजधानी हुनुपर्छ भन्ने हाम्रो माग होइन,’ उनले भने, ‘प्रशासनिक केन्द्रको मूल थलो ऐतिहाँसिक दृष्टिकोणबाट पनि सथायी राजधानी धनकुटा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
त्यस्तै धनकुटा- ६ का राजेश्वरबहादुर श्रेष्ठ पनि प्रदेश-१ को राजधानीका लागि धनकुटा नै उपयुक्त भएको बताउँछन् । संघीयताको मर्म अनुसार पनि प्रदेशको समानुपातिक विकासका लागि पहाडी जिल्लामा राजधानी हुनुपर्ने र त्यसको विकल्प धनकुटामात्र रहेको उनको तर्क छ ।
अर्कातर्फ हावापानी तथा प्राकृतिक सुन्दरताका दृष्टिले पनि धनकुटा नै राजधानीको उत्तम विकल्प भएको कतिपयको तर्क छ ।
तत्कालीन माओवादीका धनकुटा सह इन्चार्ज तथा नेकपाका जिल्ला सदस्य ऋषिराम ढुंगाना पनि धनकुटा नै राजधानी हुनुपर्ने बताउँछन् । प्रदेशको विकास समानुपातिक ढंगले गराउनका लागि साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटा नै प्रदेश राजधानीका लागि उपयुक्त हुने उनको तर्क छ ।
अन्यत्र राजधानी राखिए पछाडि पर्दै आएका पहाडी जिल्ला फेरि पनि पछि परिरहने उनको दावी छ । ‘हामीले धनकुटालाई राजधानी भनेर त्यतिकै मागेका छैनौं, पूर्वाधार, सामरिक महत्व र सुरक्षाका दृष्टिले पनि विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटा नै प्रदेशको स्थायी राजधानी हुनुपर्छ,’ उनले भने, ‘नामको हिसाबमा पहिचान र भूगोल सवैलाई मान्य हुने राख्दा हामीलाई आपत्ती हुनेछैन ।’
धरानको पनि माग
धरानका स्थानीय भने प्रदेश-१ को राजधानीका लागि धरान उत्तम विकल्प भएको दावी गर्छन् । त्यसैले धरानलाई स्थायी राजधानी बनाउनुपर्ने उनीहरूको माग छ । उनीहरुले धराने भौगोलिक र सबैलाई पायक पर्ने कारण राजधानीका लागि धरान नै उत्तम विकल्प हुने उनीहरूको तर्क छ ।

अहिले धरानलाई नै प्रदेशको राजधानी बनाउन माग पनि भइरहेको छ । धरान-१६ का कृष्णप्रसाद धितालले भने ‘सबै कुराले यहीँ उपयुक्त छ, त्यसैले धरान नै प्रदेशको स्थायी राजधानी हुनुपर्छ । धरानको भौगोलिक अवस्थिति, स्वच्छ वातावरण छ । राजधानीका लागि वातावरण पनि स्वच्छ हुनुपर्यो । वरिपरि डाँडाकाँडा र समणीय स्थल रहेकाले पनि धरान राजधानीका लागि निर्विकल्प छ ।’
त्यस्तै धरानकै अमर लकान्द्रीले धरानमा पर्याप्त संरचनाहरु रहेकाले धरानलाईनै स्यायी राजधानी बनाउन माग गरे । उनले भने, ‘विराटनगरले विभिन्न संरचनाहरु रहेको दावी गरेर राजधानी उतै राख्न सरकारलाई दवाव दिँदै आएको छ । संरचनाका हिसाबले धरान पनि विराटनगर भन्दा कम छैन । त्यसमा पनि धरानको हावा पानी एकदमै राम्रो छ । अझ धरान धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेकाले धराननै स्थायी राजधानी हुनुपर्छ ।’
इटहरीबासी भन्छन्- इटहरी नै हुनुपर्छ
त्यसैगरी इटहरीका स्थानीयको पनि इटहरीलाई नै राजधानी बनाउनुपर्ने माग छ । इटहरीको वस्तुस्थिति सडक र भूगोलका आधारमा राजधानीका लागि इटहरी उपयुक्त हुने उनीहरूको दावी छ । विराटनगर भारतको सीमा नजिक रहेकाले सुरक्षाका दृष्टिले विराटनगर उपयुक्त नरहेको भन्दै इटहरी चारैतिरबाट स्थायी राजधानी बन्न उपयुक्त रहेको दावी उनीहरूले गर्दै आएका छन् ।

इटहरीका प्रकाशबाबु दियालीले भने, ‘ताप्लेजुङ, इलाम, पाँचथर लगायत जिल्लाका जनतालाई इटहरी नजिक हुन्छ, विराटनगर पनि यहिँबाट जानुपर्छ । धनकुटा, संखुवासभा, तेह्रथुम, उदयपुर, भोजपुर, खोटाङ तथा सोलुका जनतालाई पनि यहीँ पायक पर्ने भएकाले इटहरी नै राजधानीका लागि उपयुक्त हो ।’
त्यस्तै इटहरीका लक्ष्मण ढकाल चारैतिरको केन्द्र रहेकाले स्थायी राजधानी इटहरीनै हुनुपर्ने बताउँछन् । उनले भने, ‘पूर्वाञ्चलमा सबैभन्दा पहिला विकास भएको विराटनगर हो । धनकुटालाई लिने हो भने दरबारहरु भईसकेको, पूर्वाञ्चलको सदरमुकाम भईसकेर विकास भईसकेको हो । सुनसरीमा केही पनि नभएकाले राजधानी भईदिए यो पनि विकास हुन्थ्यो भन्ने हाम्रो माग हो । नामाकरणका विषयमा विरालो कालो, सेतो, रातो जस्तो भए पनि मुसा मार्ने काम हो त्यसैले नाम जे राखे पनि हुन्छ ।’
दावी विराटनगरको पनि
यता विराटनगरमै स्थायी राजधानी तोकिनुपर्ने माग राख्नेहरूको संख्या पनि ठूलो छ । विराटनगरका स्थानीय राजधानीका लागि विराटनगर सबै हिसाबले उपयुक्त रहेको दावी गर्छन् ।

विराटनगरका चेतन निरौला भन्छन्, ‘विराटनगर प्रदेशको सवै भन्दा ठूलो शहर हो । यो औद्योगिक क्षेत्र मात्र नभएर यहाँ प्रयाप्त संरचनाहरु छन् । यो अस्थायी राजधानी पनि हो । यहाँ एयरपोर्ट छ । यो ऐतिहाँसिक ठाउँ पनि हो । अन्य ठाउँमा राजधानी राखे धेरै ठूलो खर्च लाग्छ । त्यसैले विराटनगरनै हुनुपर्छ ।’
त्यस्तै विराटनगरका गोपाल काफ्ले पनि विराटनगरमा पर्याप्त संरचना भएको बताउँदै देशकै आर्थिक मेरुदण्डका हिसाबले पनि राजधानी विराटनगरनै हुन उपयुक्त रहेको बताउँछन् । ‘विराटनगर देशको आर्थिक मेरुदण्ड हो । त्यसैले पनि विराटनगरलाई राजधानीको पहिलो हक जान्छ,’ उनले भने ।
दावी नगर्ने जिल्लाका स्थानीय के भन्छन् ?
प्रदेशको राजधानी दावी गर्ने जिल्ला बाहेकका स्थानीय के भन्छन् ? यस विषयमा पनि हामीले केही प्रतिनिधि व्यक्तिसँग कुरा गरेका छौं
धरान बजारमा भेटिएका संखुवासभा खाँदबारीका राजेश थापा प्रदेशको राजधानी सबैलाई सुविधा हुने हिसाबले राख्नुपर्ने बताउँछन् । ‘राजधानी सेन्टरमा हुनुपर्छ, हाम्रो सेन्टर धनकुटातिर हुनुपर्छ जस्तो लाग्छ तर धनकुटा भनेको अलिकति पहाड पर्यो सबैको पहुँच नपुग्न सक्छ त्यहाँ सवैतिर बाटो जोडिएको छैन । झापा कुना तिर पर्यो । विराटनगर पनि सिमा नजिक पर्यो त्यसैले इटहरी कि धरान राजधानी उपयुक्त हुनुपर्छ । नाम चाहीँ कोशी किँरात हुनुपर्छ ।’
तर, तेह्रथुमका हस्तराज सुब्बाको तर्क अली फरक छ । उनी धनकुटा नै राजधानीका लागि उपयुक्त भएको तर्क गर्छन् । ‘म चाहीँ तेह्रथुमको मान्छे,’ सुब्बाले भने, ‘त्यसैले प्रदेशको राजधानी धनकुटा नै हुनुपर्छ ।’

के छ सरकारी तयारी ?
त्यसो त प्रदेश सरकारले विराटनगरलाई नै स्थायी राजधानी बनाउन तयारी गरेको श्रोतले दावी गरेको छ । वर्षे अधिवेसन अन्त्यका बेला सत्तारूढ नेकपाको संसदीय दलको विराटनगरमा सम्पन्न बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाई सकेको श्रोतको दावी छ ।
यद्यपी मुख्यमन्त्री शेरधन राईले यो विषय सहमतिमै टुंगो लगाईने बताउँदै आएका छन् । उनले सबैको भावना समेट्ने गरी नाम र राजधानीको विषय टुंग्याइने दावी गर्दै आएका छन् ।
यसैबीच प्रदेशसभाको हिउँदे अधिवेसन आईतबारदेखि सुरु भएको छ । यही अधिवेसनबाट प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याउने प्रदेश सरकारको तयारी छ ।
प्रकाशित समय १९:३९ बजे

















