गृहपृष्ठ कर्णाली प्रदेशसभाको एक वर्ष : प्रतिपक्षीसँग हातेमालो पनि विरोध पनि
कर्णाली प्रदेशसभाको एक वर्ष : प्रतिपक्षीसँग हातेमालो पनि विरोध पनि
दुई अधिवेशनका ६३ बैठकमा प्रदेशसभाले खर्चियो ७६ घण्टा ११ सेकेण्ड
फाइल तस्बिर
एक वर्षअघि अर्थात् २०७४ माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । सोमबार प्रदेशसभाको पहिलो बैठक बसेको दिनको वर्षगाँठ । यो अवधीमा के के गर्यो त कर्णाली प्रदेशसभाले ? के भन्छन् सरोकारवाला ? संघीयता कार्यान्वयनका सन्दर्भमा यो पनि धेरैको चासोको विषय हो ।
एक वर्षको अवधीमा कर्णाली प्रदेशसभाका ६३ बैठक बसे । यो अवधिमा सञ्चालन भएका दुईवटा अधिवेसनले १७ वटा विधेयक निर्माण गरिसकेको छ । २०७४ साल माघ २१ गते पहिलो बैठक बसी २०७५ बैशाख १८ गते बाईसौं बैठकपछि पहिलो अधिवेसन अन्त्य भएको थियो ।
त्यस्तै दोस्रो अधिवेसन भने २०७५ जेठ ११ गते सुरू भएको थियो भने २०७५ कात्तिक १८ मा ४१ औं बैठकमा दोस्रो अधिवेसन सकिएको थियो । त्यसपछि तेस्रो अधिवेसन भने भएको छैन ।
प्रदेशसभाले यही अवधीमा प्रदेशको स्थायी राजधानी तथा नाम पनि तोकेको छ । प्रदेशसभाबाट नाम र राजधानी तोक्ने पहिलो प्रदेश पनि कर्णाली नै हो । प्रदेशसभाका सभामुख राजबहादुर शाही प्रदेशको स्थायी राजधानी तथा नामाकरण गर्ने कार्यलाई प्रदेशसभाले गरेको ‘महत्वपूर्ण कार्य’ का रूपमा टिप्पणी गर्छन् ।
‘अन्य केही प्रदेशहरुमा राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने विषयमा अझै विवाद छ,’ सभामुख शाहीले न्युज कारोबारसँग भने, ‘तर कर्णाली प्रदेशले भने यो एकवर्षको अवधीमा महत्वपूर्ण काम गर्यो जसले गर्दा काम गर्न सहज भएको छ ।’
संघीयता कार्यान्वयन नौलो अनुभव भएकाले सुरूमा केही समस्या आएको शाही स्वीकार्छन् । यद्यपी सबै पक्ष मिलेर अघि बढेकाले धेरै हदसम्म समस्या समाधान भएको उनले दावी गरे ।
‘कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षीदलको भूमिका पनि सिर्जनशिल नै रह्यो । उहाँहरुले विरोधका लागि विरोध गर्नुभएन,’ उनले भने, ‘समग्रमा कर्णाली प्रदेशसभाको पहिलो वर्ष मध्यम नै रह्यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा केहि सहजता आयो ।’
प्रदेशसभाको पहिलो बैठक संसद्का ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो । दुईटा अधिवेसन सम्पन्न गरेको कर्णाली प्रदेश सभाले ६३ बैठकमा ७६ घण्टा ११ सेकेण्ड खर्चिएको छ । पहिलो अधिवेसनअन्तर्गत ८७ दिनको अवधिमा २६ घण्टा ४३ मिनेट सभा सञ्चालन भएको छ ।
२०७४ माघ २६ गते बसेको बैठकले सभामुखमा राजबहादुर शाहीलाई अनुमोदन गरेको थियो भने फागुन ५ गतेको बैठकबाट उपसभामुखमा पुष्पा घर्ती चुनिएकी थिइन् ।
फागुन १२ गतेको चौथो बैठकले दुई तिहाइभन्दा बढी मतले प्रदेशको नामाकरण गर्यो र बन्यो कर्णाली प्रदेश । सोही बैठकबाट प्रदेशको राजधानी वीरेन्द्रनगरलाई तोकेको हो । यस्तै, फागुन १५ गते बसेको पाँचौं बैठकमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशसभाको विश्वासको मत प्राप्त गरे ।
दोस्रो अधिवेसनअन्तर्गत २०७५ जेठ अन्तिममा बसेका १३ औं, १४ औं र पन्ध्रौं बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो । दोस्रो अधिवेसनका क्रममा असार १ गते एकैदिन दुइटा बैठक सञ्चालन भएका थिए । उक्त दिनका सोह्रौं र सत्रौं बैठकबाट कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) र उक्त विधेयकसँग सम्बन्धित कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश आर्थिक विधेयक, २०७५ र कर्णाली प्रदेश ऋण उठाउने विधेयक, २०७५ सभा समक्ष टेबुल गरिएको थियो ।
एक वर्षको अवधीमा सञ्चालन भएका बैठकहरूमध्ये पहिलो अधिवेशनका दुईवटा बैठकमा प्रतिपक्षी दलका सांसद्हरूले उभिएर विरोध जनाएका थिए भने दोस्रो अधिवेशन अन्तर्गतको एउटा बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरूद्ध पारेका थिए । प्रदेशसभाको तेस्रो अधिवेशनको भने टुंगो छैन । संसद्को दोस्रो अधिवेशन कात्तिक १८ गते अन्त्य भएको थियो ।
प्रकाशित समय २०:१९ बजे
















