गृहपृष्ठ सरकार र राउतबीचको सहमति स्वागतयोग्य
सरकार र राउतबीचको सहमति स्वागतयोग्य
फाइल तस्बिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्दान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताएका छन् । राप्रपाको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा सोमबार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’
नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधितर्फ इङ्गित गर्दै अध्यक्ष थापाले भने, ‘दमनको नीतिले समाधानमा पुग्न सकिदैन । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।’
एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले जनतामा अन्योलताको अवस्था देखिएको बताए ।
उनले आफ्नो दलको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कुनै दल विशेषको विरोधमा नभई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, हिन्दूत्वको रक्षाका लागि भएको बताए । आइतबार नेपालगञ्ज पुगेको स्वाभिमान यात्रा सोमबार दाङका लागि प्रस्थान गरेको छ । चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभाको आयोजना गरी यात्राको समापन गरिने बताइएको छ । (रासस)
प्रकाशित समय १९:४६ बजे
















