गृहपृष्ठ अलमलमा सिके समूह

अलमलमा सिके समूह

दल दर्ता गर्ने कि भूमिगत बस्ने भन्नेमा छलफल गर्दै

ck_raut_sarkar_newskarobar

राजनीतिक मुलधारमा आउन सरकारसँग ११ बुँदे सहमति गरेको सिके राउत समूहले राजनीतिक दल दर्ता गर्ने विषयमा आन्तरिक छलफल थालेको छ ।

राष्ट्रिय मूलधारको राजनीतिमा आएको घोषणा गरेको सो गठबन्धनले समूहका नेताहरुसँग यस विषयमा छलफल सुरू गर्न लागेको हो । सहमतिका विषयमा विविध टिक्का टिप्पणी आइरहेका बेला गठबन्धनले दल दर्ता गर्ने वा अहिलेकै अवस्थामा अघी बढ्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

सरकारसँग भएको सहमतिको विषयमा दुबै पक्षले आ-आफ्नै ढंगबाट व्याख्या गरिरहेको अवस्थामा दल दर्ता बारेमा नेता कार्यकर्ताको सुझाव लिने तयारी गरेको सिके राउत समूहका उप संयोजक चन्दन सिंहले बताए ।

‘तत्कालै राजनीतिक दल दर्ता गर्ने कि नगर्ने, सहमतिका विषयलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्दैछौं,’ सिंहले न्युज कारोबारसँग भने, ‘मधेशका समस्याहरु समाधानको लागि हामी पनि निकासको खोजीमा छौं ।’

पृथकतावाद छाडेको भन्दै सहमति गरेको सो समूहले अब तराई मधेश केन्द्रित पार्टी दर्ता गर्ने वा नगर्ने भन्ने विषय भने छलफलपछि ने टुँगो लाग्ने जनाएको छ । सो समूहका केहीले सरकारसँगको सहमति भइसकेकाले तत्काल खुल्ला राजनीतिमा आउनुपर्ने बताउदै आएका छन् ।

निर्वाचन आयोगमा दल दर्ता गरेर राजनीति गर्नुपर्ने केहीले जोड दिए पनि केहीले अहिलेकै अवस्थामा भूमिगत रुपमै गतिविधि गर्नुपर्ने जोड दिँदै आएका छन् ।

गत फागुन २४ गते काठमाडौंमा सरकार र गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिमा नेपालको संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई लोकतान्त्रिक विधिबाट हल गरिने सहमति भएको थियो ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु