गृहपृष्ठ ‘राउतलाई राजनीतिक मूलधारमा ल्याउनु प्रधानमन्त्रीको सफलता’

‘राउतलाई राजनीतिक मूलधारमा ल्याउनु प्रधानमन्त्रीको सफलता’

kadir-newskarobar

राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादिरले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतबीच भएको सम्झौता सकारात्मक भए पनि केही बुँदामा असहमति रहेको बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता कादिरले सरकार र राउतबीच भएको सम्झौता स्वागतयोग्य भए पनि केही बुँदाका कारण मधेसमाथि पुनः षड्यन्त्र गरिन खोजेको आरोप लगाएका हुन् ।

उनले आफ्नो पार्टी जहिल्यै राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको बताउँदै सरकार र राउतले मधेसी जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । नेता कादिरले सरकार र राउतबीच भएको ११ बुँदे सम्झौताका कुन कुन बुँदामा असहमति छ भन्ने चाहिँ खुलाएनन् ।

लामो समयदेखि मुलुक विखण्डनको पक्षमा लाग्दै आएका राउतलाई शान्तिपूर्ण, लोकतान्त्रिक राजनीतिक मूलधारमा ल्याउन सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो सफलता भएको उनले दाबी गरे । उनले सम्झौतामा जनमत संग्रहको कुरा उल्लेख नभए पनि चौतर्फी रुपमा झुटो प्रचारबाजी भएको बताए ।

नेता कादिरले मधेसका माग कमजोर बनाउन राउतले ठूलो भूमिका खेल्दै आएको बताउँदै निर्वाचनमा राउतले ‘कोठ्ली बाहर छाप’ भन्ने अभियान चलाएर अधिकारबाट वञ्चित गर्न खोजेको हाल आएर पुष्टि हुँदै गएको आरोप लगाए । उनले मधेसी जनतालाई अधिकार सम्पन्न बन्न नदिन राज्य पक्षले अप्रत्यक्ष रुपमा राउतलाई प्रयोग गरेको ११ बुँदे सम्झौताबाट स्पष्ट भएको बताए ।

नेता कादिरले विगतमा सरकार र मधेसवादी दलबीच भएको सहमति कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर नभएको आरोप लगाउँदै अब मेचीदेखि महाकालीसम्म समग्र मधेस एक प्रदेशको एजेन्डा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । जनताबाट अत्यधिक मत ल्याएर निर्वाचित रेशम चौधरीलाई सरकारले फसाएर मधेसमाथि पुनः दमन गरिरहेको दाबी गरे ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु